अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब (पीएसजी) मा अनुबन्धित भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मेस्सी २ वर्षका लागि पीएसजीमा रहनेगरी सम्झौता भइसकेको दाबी गरेका छन्। बार्सिलोनाबाट बाहिरिएका उनी कुल ३५ सय मिलियन युरोमा पीएसजी पुगेको बताइएको छ।
पीएसजीले आजै मेस्सीसँगको आधिकारिक करारबारे सम्झौता गर्नसक्ने बताइएको छ। बीबीसीका खेल संवाददाता गुइल्लेम बलगुइले मेस्सी पीएसजी जान तयार भएको दाबी गरेका छन्।
पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबिच सहमति बने पनि ला लिगाको खेलाडी दर्तासम्बन्धि नयाँ नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै जनाएको थियो।
बार्सिलोनामा उनी नरहने भएसँगै उनी इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी या फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जान चर्चा चलेको थियो।
बार्सिलोनामा ४ वटा युरोपियन च्याम्पियन्स लिग जिताएका मेस्सीले १० वटा ला लिगा, ७ वटा कोपा डेलरे, तीनवटा क्लब विश्वकप, तीनवटा युरोपियन सुपर कप र ८ वटा सुपरकोपाको उपाधि जिताएका थिए। उनले त्यसबिचमा ६ पटक बालोन डि ओरको उपाधि जित्न सफल भए।
मेस्सीले बार्सिलोनाबाट १७ सिजन खेल्दै ७७८ खेलमा ६७२ गोल गरेका छन्।
