काठमाडौं : मंगलवार काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्यो। बैठकले काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा सम्बन्धी निर्णय गर्दै थियो। त्यति मात्र होइन पछिल्लो दिन यता बढेको कोरोना संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय पनि महत्त्वपूर्ण थियो।
बैठकले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा थप गर्ने निर्णय गरियो। अर्थात् भदौ ८ गतेसम्म निषेधाज्ञाको अवधि बढाइयो। चार महिनादेखि निषेधाज्ञा खेप्दै आएका उपत्यकावासीलाई थप गरिएको निषेधाज्ञाको निर्णयले खासै छोएन। तर, ८ बजेपछि सवारीसाधन संचालनमा लगाइएको निषेधले भने यतिखेर सामाजिक संजाल तातेको छ। 'दिनभर भिडभाड हुने शहरमा ८ बजेपछि कोरोना फैलिदैँन हो ?' भन्दै प्रश्न गर्नेहरुको जमात देखिएको छ।
प्रशासनको निर्णय अनुसार बिहीवारदेखि राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन गुडाएको खण्डमा कारबाहीमा हुनेछ। तर, मानिसको 'मुमेन्ट' कम हुने समयमा लगाइएको निषेध कति प्रभावकारी होला?
निषेधाज्ञा भनेको मानिसको भिडभाड रोक्न र त्यसबाट हुने संक्रमणलाई छेक्न हो। तर, जब शहर सुनसान हुँदै जान्छ त्यतिखेर सवारीमा लगाइएको निषेधाज्ञाले संक्रमण नियन्त्रण गर्ला ?
'कस्तो समयमा कोरोना फैलिन्छ त्यसलाई विचार गरेर निषेध गर्नुपर्ने हुन्छ। मानिसको भिडभाड दिउँसो बढी हुन्छ। रातिको समयमा गर्ने यस्तो निषेधाज्ञा खासै प्रभावकारी होला जस्तो देखिदैंन,' जनस्वास्थ्य विज्ञ डाक्टर शेरबहादुर पुनले भने।
काठमाडौं उपत्यकाभित्र सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल,मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरूको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न/ गराउन नपाउने भनिएको छ। त्यस्तै चोक/खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/ गराउन नपाउने व्यवस्था छ।
तर दिउँसो सबै सवारी, पसल, व्यपारीक क्षेत्र खुलेका छन्। खुल्न रोकिएका व्यवसाय पनि यसअघि खुुलेका थिए। अनि अहिले राति सवारीमा किन निषेधाज्ञा त?
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली राति ८ बजेको निषेधाज्ञा होटेल, रेष्टुरेष्ट लगायत क्षेत्रमा भेला भएर बस्नेहरूको लागि भएको तर्क गर्छन्।
'काम सकेपछि गाडी लिएर होटेल रेष्टुराँ लगायतका क्षेत्रमा गएर भिडभाड गरेको पाइयो। त्यहाँबाट पनि संक्रमण फैलिने भएपछि सवारीमा निषेध गरिएको हो,' सिडिओ पराजुलीले भने।
विदेशमा संक्रमण फैलिनबाट रोक्न 'नाइट कर्फ्यु' लगाउने र रेष्टुराँ/बारहरु बन्द गराउने गरिएको छ। जापान, भारतका साथै युरोपियन राष्ट्रहरुले समेत राति हुने मानिस र सवारीको 'मूभमेन्ट'लाई निषेधा गर्न कडा नियम बनाउने गरेको पाइन्छ। यसको कारण राति होटेल रेष्टुराँमा हुने भिड नै हो।
पछिल्लो समय काठमाडौं उपत्यका भित्र कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेको छ। मंगलवार काठमाडौं १ हजार १ सय ८६ जना थपिएका छन्। सक्रिय संक्रमितको सङ्ख्या पनि १० हजार नाघेको छ।
निषेधाज्ञा खुकुलो भएपछि मानिसको आवतजावत बढ्दा संक्रमण फैलिएको स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले बताएका छन्। निषेधाज्ञाले नै संक्रमण रोक्ने हो त?
'निषेधाज्ञाले कोरोना संक्रमण दरलाई पोस्पोन्ड मात्र गर्छ। निषेधाज्ञा खुलेपछि मानिसको भिड हुँदा फेरि बढ्छ। त्यसैले आफू सचेत हुने र खोपलाई नै प्राथमिकतामा राख्नुपर्छ,' डाक्टर पुनले भने।
