PahiloPost

Jun 23, 2024 | १० असार २०८१

खेलकुद गतिविधि शून्य हुँदा खेलाडी प्रभावित, दर्शकबिनै खेल खेलाउने तयारीमा वाग्मती प्रदेश



निशा गुरुङ

खेलकुद गतिविधि शून्य हुँदा खेलाडी प्रभावित, दर्शकबिनै खेल खेलाउने तयारीमा वाग्मती प्रदेश

हेटौँडा : कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गर्‍यो। अहिले पनि सबै क्षेत्र पूर्ण रुपमा खुलेका छैनन्। लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएका छन्। खेल क्षेत्र पनि यसबाट अछुतो रहन सकेन।

दर्शकहरुको बीचमा खेल प्रतियोगिताहरु हुने गर्छन्। तर, कोरोनाका कारणले दर्शकहरु जम्मा हुने सम्भावना रहेन, जसले गर्दा सानादेखि ठूला प्रतियोगिताहरु गत वर्षदेखि ठप्प नै भएका छन्।

वाग्मती प्रदेश सरकारले खेल क्षेत्रलाई अगाडि बढाउन प्रदेश खेलकुद विकास परिषद् गठन गरेको छ। तर, उसले कोरोनाकै कारणले प्रतियोगिताहरु गराउन सकेन। प्रदेश खेलकुद विकास परिषद्का अनुसार आर्थिक वर्ष २०७७/०७८ मा एक दर्जन खेल प्रतियोगिताहरु स्थगित गरिए।

कोरोना महामारीको अन्त्य भएपछि मात्रै खेल प्रतियोगिता सञ्चालन गर्ने भनिएको छ। यस्तोमा खेलाडीहरुले अभ्यास समेत गर्न पाएका छैनन्। जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन समस्या आउने भन्दै प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशले चालु आर्थिक वर्ष २०७८/०७९ मा दर्शकबिना नै प्रतियोगिताहरु शुरु गर्ने तयारीमा रहेको बताएको छ।

कोरोना महामारीका कारण १ वर्ष नै लकडाउनले गर्दा खेल प्रतियोगिताहरु स्थगित हुँदा सबै भन्दा ठूलो असर खेलाडीमा भएको प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले बताए। कोरोना महामारीको समयमा दर्शकसहित प्रतियोगिता गरेमा कोरोना संक्रमण फैलन सक्ने त्रास भएको र प्रतियोगिता स्थगित गरे पनि खेलाडीहरुमा अभ्यास नहुने हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न मुस्किल हुने भण्डारी बताउँछन्।

खेलकुद प्रतियोगिता सफल आयोजना र त्यसमा नेपाली खेलाडीहरुले प्राप्त गरेको सफलताले खेलकुदतर्फ आम चासो बढेको बेला कोरोना भाइरस प्रकोपले बे्रक लगाई दिँदा खेलाडीहरुको भविस्य नै अनिश्चित भएको सदस्य सचिव भण्डारीले बताए।

गत आर्थिक वर्षमा वाग्मती प्रदेशमा हुन लागेको सबै भन्दा ठूलो खेल प्रतियोगिताका रुपमा रहेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिता नै स्थगित हुँदा ७ वटा खेल प्रतियोगिता हुन नसकेको भण्डारीले जानकारी दिए।

प्रतियोगिता स्थगित हुँदा साढे ५ करोड बजेट फ्रिज

प्रदेश सरकारले खेल प्रतियोगिता गर्नका लागि गत आर्थिक वर्षमा २ करोड ५० लाख वजेट विनियोजन गरेको थियो। त्यसमा पनि पछि थप गर्ने भनिएको २ करोड ७० लाख बजेट खेल प्रतियोगिताहरु स्थगित हुँदा फ्रिज भएको सदस्य सचिव भण्डारीले बताए।

गत आर्थिक वर्षमा रेफ्री प्रशिक्षणमा १५ लाख बजेटमा १४ लाख खर्च भएको र राष्ट्रपति रनिङशिल्ड प्रदेश स्तरीय प्रतियोगितामा ६ जिल्लामा हुँदै गर्दा अन्य जिल्लामा स्थगित गर्नुपर्ने अवस्था आएको हुँदा ८१ लाखको बजेटमा २६ लाख मात्रै खर्च भएको सदस्य सचिव भण्डारीले जानकारी दिए।

चालु आवमा कम बजेट विनियोजन

प्रदेश सरकारले महामारीका कारण खेल प्रतियोगिताहरु सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयको टुंगो नलाग्दा कम बजेट विनियोजन गरेको सदस्य सचिव भण्डारीले बताएका छन्। चालु वर्षमा कार्यक्रमहरु बनाएपनि कार्यान्वयन हुने वा नहुने कुनै टुंगो नलागेको हुँदा ८ करोड बजेट विनियोजन गरेको र प्रतियोगिताहरु सञ्चालनमा आउने देखिएमा थप बजेट विनियोजन गर्ने तयारीमा रहेको अर्थ मन्त्रालयले जनाएको छ।

तर, खेलकुद परिषद्ले यसरी सधैँ भरि कोरोनासँग डराएर बसेमा खेलाडीमा ठूलो समस्या आउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पछाडि पर्ने सम्भावना हुने हुँदा दर्शक बिना नै खेल प्रतियोगिता गर्ने तयारीमा रहेको उनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell