PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

संकटमा शंकर पोखरेलको पद : मुख्यमन्त्रीबाट राजिनामा दिने या अविश्वास प्रस्ताव सामना गर्ने? छलफलमा जुट्यो एमाले



पूजा पन्थी

संकटमा शंकर पोखरेलको पद : मुख्यमन्त्रीबाट राजिनामा दिने या अविश्वास प्रस्ताव सामना गर्ने? छलफलमा जुट्यो एमाले

बुटवल : आज लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुदैछ। वैशाखमा पनि पोखरेलमाथि परेको अविश्वास प्रस्ताव टेबुल हुने दिन राजिनामा दिँदै संसद अधिवेशन नै अन्त्य गराएका थिए।

तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रयोग गर्दै संसद अधिवेशन अन्त्य गराएका थिए पोखरेलले। तर आज धर्मनाथ नहुदा पोखरेल चेपुवामा छन्।

आज राजीनामा दिने वा अविश्वासको प्रस्ताव दर्ता हुने सम्बन्धमा छलफल गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि भावी रणनीति तय गर्न एमाले लुम्बिनी प्रदेश संसदीय दलले आज बिहान बैठक बोलाइएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए।

मुख्यमन्त्री निवासमा बस्ने बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने कि मुख्यमन्त्रीबाट राजिनामा दिने दुईमध्ये एक रोज्ने विषयमा निर्णय गर्ने सम्भावना छ।

८० सदस्य रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेको छ। प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहितका ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ। विपक्षी गठबन्धनमा भने सभामुखबाहेक ४१ जना सांसदको सर्मथन छ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन्।

यसैबीच, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले मुख्यमन्त्री पोखरेललाई अविश्वासको प्रस्ताव ल्याउन नपाइने भन्दै दायर गरेको प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ। मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी राखिएको थियो।

रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell