
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि आज प्रदेश सभाको विशेष अधिवेशन हुँदैछ। दिउँसो १ बजेका लागि प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन तोकिएपछि मुख्यमन्त्री पोखरेलको पद संकटमा परेको छ।
अब पदबाट राजीनामा दिने या अविश्वासको प्रस्तावको सामना गर्ने भन्ने विषयमा निर्णय लिन एमाले संसदीय दलको बैठक जारी छ। यसअघि मन्त्रिपरिषद्को बैठक बसेको थियो। दुबै बैठकको निर्णय एकैसाथ साढे १२ बजे सुनाउने लुम्बिनी सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बताएका छन्।
यता एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले भने विशेष अधिवेशन बहिस्कार गर्न एमाले पछि नपर्ने प्रतिक्रिया दिएका छन्। 'प्रदेश प्रमुखले गैर संवैधानिक कार्य गरेकोले आफुहरुले सहयोग गर्नैपर्छ र सदनमै बस्न पर्छ भन्ने छैन,' ढकालले विशेष अधिवेशनबारे भने।
योसँगै लुम्बिनी प्रदेश विशेष अधिवेशन अन्यौलमा परेको छ। वैशाखमा पनि पोखरेलमाथि परेको अविश्वास प्रस्ताव टेबुल हुने दिन राजीनामा दिँदै संसद अधिवेशन नै अन्त्य गराएका थिए।
तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रयोग गर्दै संसद अधिवेशन अन्त्य गराएका थिए पोखरेलले। तर यसपटक धर्मनाथ नहुँदा पोखरेल चेपुवामा परेका छन्।
८० सदस्य रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको छ। प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहितका ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ। विपक्षी गठबन्धनमा भने सभामुखबाहेक ४१ जना सांसदको सर्मथन छ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन्।