PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

'प्रिस्याट' प्रश्न पत्र चोरीमा समितिको निष्कर्ष : राति चोरी गरेर हेडक्वाटरभित्रै फोटोकपी, हवलदारलाई १ लाख रुपैयाँमा बिक्री



पहिलोपोस्ट

'प्रिस्याट' प्रश्न पत्र चोरीमा समितिको निष्कर्ष : राति चोरी गरेर हेडक्वाटरभित्रै फोटोकपी, हवलदारलाई १ लाख रुपैयाँमा बिक्री

काठमाडौं : साउन १५ र १६ गते भएको 'प्रिस्याट' परीक्षाको प्रश्न पत्र प्रहरीले नै चोरी गरेको पुष्टि भएको छ।

प्रश्न पत्र चोरी भएको घटना बाहिरिएपछि प्रहरी प्रधान कार्यालय नक्सालले डिआइजी वसन्त लामाको नेतृत्वमा गठन गरेको टोलीले प्रहरीबाट नै चोरी भएको छानबिन गरेर प्रतिवेदन बुझाइसकेको छ। डिआइजी लामाले प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई प्रतिवेदन बुझाएका हुन्।

छानबिन टोलीले प्रश्न पत्र चोरी गर्ने, चोरी गर्न लगाउने र प्रश्न पत्र तयार पार्ने प्रहरीलाई कारबाही गर्न सिफारिस समेत गरेको छ। तीन जना प्रहरीलाई बर्खास्त र ११ जना प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

प्रहरी नायव निरीक्षक जनक थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोग सुरेश बमलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। त्यस्तै युएन शाखाका प्रमुख एसपी अनुपम शमशेर राणा, वेद विष्ट र प्रहरी निरिक्षक  ईश्वरी भण्डारीलाई प्रश्न पत्रको सुरक्षा गर्न नसकेको भन्दै विभागीय कारबाही गर्न सिफारिस गरिएको छ।

डिएसपी रुपेश खड्का, सुगन्ध श्रेष्ठ, डिबी क्षेत्री, सई केदार तिमिल्सिना, सई सुशील भण्डारी, असई अशोक कार्की, प्रहरी जवान सुनिता नेपाल सहित ८ जनालाई स्वार्थ सिद्धको लागि उक्साएको अभियोगमा विभागीय कारबाही गर्न सिफारिस गरिएको हो।

'योजनाबद्ध रूपमा नै चोरी भएको र चोरी भएपछि विभिन्न व्यक्तिलाई प्रश्नपत्र दिएको खुलेको छ। उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ,' छानबिन समितिका एक सदस्यले भने।

प्रहरी प्रधान कार्यालयले एक हजार चारजना प्रहरीको 'प्रिस्याट' परीक्षा लिएको थियो।हेडक्वार्टर सहित सात वटै प्रदेशमा २४ सय प्रहरीले परीक्षा दिएका थिए। दुई सिफ्टमा २५० जनाको दरले परीक्षा भएको थियो। प्रिस्याट परीक्षा पास गरेपछि स्याट परीक्षा लिइन्छ। त्यो उत्तीर्ण गरेपछि मात्र युएन मिसनमा जान पाइन्छ। मिसनमा जाँदा छोटो समयमा राम्रो आम्दानी हुने भएकाले प्रहरीहरूको आकर्षण त्यसमा देखिन्छ।

अन्तिम सिफ्टमा भएको परीक्षाको प्रश्न पत्र परीक्षाभन्दा अघि नै 'आउट' भएको थियो। त्यसपछि एक घण्टा ढिलो गरेर साढे २ बजेतिर पुनः प्रश्न पत्र सेट गरेर परीक्षा लिइएको थियो।

छानबिन समितिले अनुसन्धानपछि तयार पारेको ५५० पृष्ठ भन्दा लामो प्रतिवेदनमा देशभर भएका सबै 'प्रिस्याट' परिक्षा रद्द गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै परीक्षा रद्द गर्ने तयारी गरिहरेको छ। प्रिस्याटमा २०० पूर्णाङ्कको परीक्षा हुनेगर्छ।

परीक्षा प्रहरीको युएन शाखाले लिने गर्छन्। तर प्रश्न पत्र युएन शाखाका प्रहरी अधिकृतको दराजबाट नै चोरी भएको थियो। दराजको चाबी प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणासँग थियो। प्रश्नपत्र युएन शाखामा कार्यरत प्रहरी सुरेश बमले चोरी गरेको खुलेको छ। साउन १२ गते राति ९ बजेतिर बमले युएन शाखाबाट प्रश्न चोरी गरेका थिए। राति प्रश्न चोरेर बिहान प्रहरी हबल्दार कुमारलाई बुझाएको खुलेको छ।

'बमले प्रश्न पत्र चोरी गरिएको देखियो। रातिको समयमा चोरी गरेर त्यही रहेको फोटो कपी मेसिनबाट फोटो कपी गरेर बाहिर ल्याएको देखियो,' छानबिन समितिका एक सदस्यले भने।

प्रहरी बमलाई प्रश्न पत्र चोरी गर्ने हवल्दार कुमार साहले लगाएको देखिएको छ। प्रश्न पत्र चोरीका मुख्य पात्र कुमार भएको समितिले ठहर गरेको छ। प्रश्न पत्र चोरी गरेपछि कुमारले बमलाई १ लाख रुपैयाँ दिएको छानबिन समितिमा खुलेको छ। तर समितिले बमको कोठाबाट १० हजार रुपैयाँ बरामद गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यसपछि कुमारले प्रश्न पत्र जनक थापालाई दिएका थिए। हवल्दार कुमार २०७० साल देखि युएन शाखामा कार्यरत थिए। सात महिनाअघि मात्र उनी केन्द्रीय अनुसन्धान ब्युरोमा गएका थिए। लिक भएको प्रश्नपत्र १ सय १९ जनासम्म पुगेको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell