PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

दुई वर्षअघि गाएको गीतले बदलियो सहदेवको जीवन



पहिलोपोस्ट

दुई वर्षअघि गाएको गीतले बदलियो सहदेवको जीवन
Photo : Times of India

केहि दिनदेखि भारतमा 'बचपनका प्यार मेरा भूल नही जाता रे' गीत निकै चर्चामा छ। यो गीत सामाजिक संजालमा भाइरल भइरहेको छ। गीत गाउँदै समाजिक संजालमा राख्ने क्रम बढ्दो छ। यो गीत भाइरल हुनुको कारण हुन् सहदेव कुमार दिरदो।

सहदेव कुमार दिरदो छत्तीसगढको सुकमा जिल्लाका हुन्। उनले दुईवर्षअघि विद्यालयमा स्कुल ड्रेसमा नै 'बचपनका प्यार मेरा भूल नही जाता रे' गीत गाएका थिए। शिक्षकको आग्रहमा उनले गाएको उक्त गीतलाई रेकर्ड गरेर सामाजिक संजालमा हालिएको थियो। तर, त्यसबेला सहदेव कसैको नजरमा परेनन्। तर, अचानक दुईवर्षपछि उक्त गीतको भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।

भिडियोमा सहदेव आफ्नै सुरमा निधक्क भएर गीत गाइरहेका छन्। उनको गायकी र आत्मविश्वास नै गीत भाइरल हुनुको कारण बनिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ। बलिउड कलाकारहरु समेत उनको गीतमा भिडियो बनाएर रमाइरहेका छन्।

यो भिडियोलाई हेरेर बलिउड गायक बादशाहले सहदेवसँग भिडियो कलमा कुरा गरे। उनले सहदेवको गायनको तारिफ गर्दै उनलाई गीत गाउन चंडीगढ समेत बोलाएका थिए। बादशाहले उनको स्वरमा 'बचपनका प्यार' गीत समेत रेकर्ड गरिसकेका छन्।

छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेलले पनि सहदेवको निकै प्रशंसा गरेका छन्। उनले सहदेवलाई भेट्दै भाइरल गीत सुनाउन आग्रह गरे। जुन भिडियो रेकर्ड गरेर उनले सामाजिक संजालमा पोष्ट गरेका समेत छन्।

'बचपनका प्यार' गीत खासमा गायक गुजरातका कमलेश बरोटले गाएका हुन्। कमलेशकै गीत गाएर सहदेव निकै हिट भइरहेका छन्।

उनलाई अहिले भारतका रियालिटी शो मा समेत बोलाउन थालिएको छ। 'इन्डियन आइडलको सेटमा समेत सहदेवलाई बोलाइएको थियो। स्टेजमा उनले 'बचपनका प्यार हे' गीत समेत गाए। उनको गीत सुनेर सबैजनाले रमाउँदै उनको प्रशंसा समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell