PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्राधिकरणमा कुलमानको दोस्रो इनिङ : कार्यभार समाल्दै भने,'सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएँ'



अमर बडुवाल

प्राधिकरणमा कुलमानको दोस्रो इनिङ : कार्यभार समाल्दै भने,'सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएँ'

काठमाडौंः नेपाल विद्यत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले पदबहाली गरेका छन्।

बुधबार प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्क पुगेर घिसिङले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि बोल्दै घिसिङले १५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेख्य सफलता पाएको बताए। दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता घिसिङले जाहेर गरेका छन्।

'निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्र शाक्य जीलाई पनि जल तथा ऊर्जा आयोगमा चार वर्षका लागि जिम्मेवारी दिइएको छ। यो ठाउँ शाक्य जीका लागि अनुपयुक्त थिएन। तर, उहाँको प्राविधिक ज्ञान प्राधिकरणभन्दा आयोगमा बढी नै देखिने छ,' घिसिङले भने।

शाक्यले छोडेर गएकै ठाउँबाट आफुले काम अघि बढाउने घिसिङले बताए। आफ्नो दोस्रो कार्यकाल निकै चुनौतीपूर्ण हुने भन्दै सरकार र सर्वसाधारणको विश्वास कै कारण जीवनकै सबैभन्दा ठूलो चुनौती लिएको प्रतिक्रिया दिएका छन्।

'हिजोको टिमका रहेका साथीहरु रिटायर्ड भएका छन्। तर, तल्लो तहमा धेरै प्रतिभावान युवा साथीहरु हुनुहुन्छ। उहाँहरुसँग मिलेर राम्रो रिजल्ट दिने छौं। प्राधिकरणको शिर उचो बनाउन सबै कर्मचारीको ठूलो हात छ। यसको श्रेय तपाईंहरुलाई नै दिन्छु,' घिसिङले भने।

स्वागत कार्यक्रममा बोल्दै प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले पहिलोपटक एमडी हुँदा स्वागत र विदाइ आफैंले गरेको स्मरण गर्दै दोस्रो कार्यकालमा पनि स्वागत गर्न पाएको बताए।

तामाकोसी निर्माण भएपनि रसुवागढी, साञ्जेनलगायतका आयोजना छिटो सकेर प्रसारण लाइन बनाउनु पर्ने चुनौती रहेको कोइरालाले बताए।

चुहावट बढ्दै गएको अवस्थामा एक प्रतिशत चुहावट घटाउन सके पनि २०/३० मेगावाट क्षमताको आयोजना तुरुन्तै बनाए सरह हुने उनको भनाइ छ।

'इनर्जी बैकिङ घिसिङले छोडेर जाँदा जहाँ थियो त्यहि छ। अब यसलाई अघि बढाउनु पर्छ। खेर जाने विद्यतलाई सही ढङ्गले व्यवस्थापन गर्न सकियोस्। उहाँले (घिसिङ) सुरु गर्नुभएका धेरै कामको नतिजा अझै आइसकेको छैन। उहाँ प्राधिकरणको डक्टर नै हो। अपरेसन गर्ने हो कि औषधि दिने हो उहाँलाई राम्रोसँग थाहा छ,' कोइरालाले भने।

पदबहाली कार्यक्रममा प्राधिकरणमा क्रियाशील ट्रेड युनियन, कर्मचारीका साथै अन्यको उपस्थितिमा घिसिङलाई स्वागत गरिएको छ।

प्राधिकरणको आधारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले कुलमान विदा भएको एक महिनामै स्वागत गर्ने अवसर पाउँछौ भनेकोमा अर्को एक थपेर ११ महिनापछि स्वागत गर्न पाएको प्रतिक्रिया दिए।

'उहाँ अध्ययनशील मान्छे हो, अहिले प्राधिकरणले भोगिरहेका समस्या कसरी हल गर्ने भनेर पनि अध्ययन गर्नु भएको होला। प्राधिकरणको नाफा घट्नुको कारण चुहावट बढेर हो। चुहावट घटाउन विदाको दिन पनि कर्मचारी खटाउनुस् हामी जान तयार छौं,' पौडेलले भने।

प्राधिकरणमा विद्युतिय गाडी मात्र प्रयोग गरेर विद्युत खपत बढाउने सन्देश दिन पनि घिसिङलाई पौडेलले आग्रह गरेका छन्।

प्रबन्ध निर्देशकबाट सेवा सुविधा नघट्ने गरी जल तथा ऊर्जा आयोगमा सरुवा भएका हितेन्द्रदेव शाक्य सोझा व्यवस्थापक भएको फाइदा मन्त्रालयका मान्छेले उठाएको टिप्पणी पौडेलले गरेका छन्। शाक्यको कार्यकालमा राम्रो मान्छेलाई नभएर हाम्रो मान्छे भन्दै सरुवा गरिएको भन्दै पौडेलले 'अनि कसरी नतिजा आउँछ?' भन्दै प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell