काठमाडौं : कोरोना भाइरसका कारण यसवर्षको गाईजात्रा कार्यक्रम पनि डिजिटल रुपमा नै संचालन हुने भएको छ।
गाईजात्रा नजिकिँदै गर्दा हाँस्य कलाकारहरुले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्थे। तर कोरोना संक्रमणका कारण गतवर्षदेखि भौतिक उपस्थितिमा कार्यक्रमहरु हुन नपाएसँगै 'डिजिटल' रुपमा शोहरु प्रशारण हुन सुरु भएको हो।
यो वर्ष मनोज गजुरेलको टिमले '७८ सालको गाईजात्रा' प्रदर्शन गर्दैछन्। भदौँ १ गतेदेखि ७ गतेसम्म टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रम गजुरियल युट्युव च्यानलमा समेत प्रसारण हुनेछ।
यो पटकको गाईजात्रामा पनि मनोज गजुरेल विभिन्न अवतारमा देखिने भएका छन्। उनले यसपटक बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रसियाका राष्ट्रपति भ्दालमिर पुटिन, पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका निभाउनेछन्।
यसपटकको कार्यक्रममा विदेशी नेताहरु र नेपाली नेताहरुको चरित्र निभाउँदै नेपाल र विदेशका देशहरुबिच तुलना गरिने गजुरेल बताउँछन्।
गजुरेलले देउवा र बेलायती प्रधानमन्त्री जोन्सनबिच हुने संवादलाई 'भिडियो कल'मार्फत कार्यक्रममा प्रस्तुत गर्नेछन्। साथै रसियन राष्ट्रपति पुटिन र पत्रकारबिच ‘धमलाको जुमला’ शीर्षकमा कार्यक्रम प्रशारण हुँदैछ।
यसपटकको गाईजात्रामा ३२ जना कलाकारहरु जोडिएको गजुरेलले बताए। शैलेन्द्र सिखंडा, किरण केसी, शिवशंकर रिजाल ‘जोगिन्दर’, रवि डंगोल, पशुपति शर्मा, चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, सुवोद गौतम, राजा राजेन्द्र, सुमन कार्की, हिमेश पन्त लगायतका कलाकारले प्रस्तुती दिनेछन्।
'यो पटकको गाईजात्रामा हामीले नयाँ पुस्तालाई समेत समेटेका छौँ। कमेडीको पुस्ता हस्तारण गर्न यसरी पुरानो देखि नयाँ पुस्ताहरुलाई समेट्दै लगेका हौँ। किनकी सधैभरि हामी नरहन सक्छौँ। त्यसैले नयाँ पुस्ताहरुलाई हाँस्यव्यङ्ग्यको बारेमा केही सिकाउनुपर्छ भनेर यसरी समेटेका हौँ' उनले भने।
यो वर्षको गाईजात्रा विविध विषयवस्तुमाथि तयार पारिएको उनले सुनाए। राजनीति विषयमात्रै नभई यसपटकको गाईजात्रामा गैर राजनीतिक विषयवस्तु जस्तै, सोसल मिडियादेखि, कोरोना महामारी र जलवायु परिवर्तनका विषयवस्तुमा तयार पारिएको गजुरेलले बताए।
कोरोना महामारीका कारण यसपालीको गाईजात्रा पनि डिजिटल माध्यमबाट नै गर्न बाध्य भएको उनी बताउँछन्।
रंगमंचमै बढी व्यस्त हुने कलाकार भएका कारण मनोज कोरोनाअघिका गाईजात्राहरुलाई निकै 'मिस' गरिरहेको बताउँछन्। तर, अहिलेको अवस्थामा डिजिटल माध्यमलाई पनि विकल्पमा हेर्नु पर्ने उनी बताउँछन्। डिजिटल माध्यमबाट गाईजात्रा गरेर परम्परा धान्ने काम भएको उनको तर्क छ।
