काठमाडौं : अधिकांश अपराधका घटना भएपछि अपराधीले आफूलाई लुकाउन खोज्छ। घटनापछि कति जना भाग्छन् त कति चुप बस्छन्। तर बुधवार बिहान एउटा अपराधको घटनामा अभियुक्तले नै प्रहरीलाई फोन गरेर जानकारी दिए। आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीको १०० नम्बरमा फोन गरेका थिए।
'उसैले फोन गरेर मारेको जानकारी दिएको थियो,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले भने।
घटनास्थल- काठमाडौंको गुहेश्वरी। खबर गर्ने व्यक्ति थिए मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ घर भइ हाल काठमाडौंमा बस्दै आएका ३९ वर्षीय राम श्रेष्ठ। प्रहरीको कन्ट्रोलमा फोन आएपछि घटना भएको क्षेत्र महानगरीय प्रहरी वृत्त गौशालाको थियो। त्यसैले गौशालाको प्रहरी टोली गुहेश्वरीस्थित श्रेष्ठको कोठामा पुग्यो। प्रहरी कोठामा पुग्दा भित्रबाट चुक्कुल लगाइएको थियो।
'हामी पुग्दा साढे ९ बजेको थियो होला। ढोका खोलेर हेर्दा एक जना मानिसभित्र बसिरहेका थिए। खाटमा एक महिलाको शव थियो,' अनुसन्धानमा गएका एक प्रहरी अधिकृतले सुनाए।
कोठाभित्र प्रहरीले फेला पारेका व्यक्ति राम श्रेष्ठ थिए। खाटमा मृत भेटिएकी महिला २३ वर्षीय रन्जु तामाङ थिइन्। शवलाई छोपिएको थियो। शरीरमा कुनै चोट थिएन। घाँटीमा निल डाम थियो।
'उसले सुरुमा खाटमा लडाइएको अनि घाँटीमा थिचेर मारेको भन्यो। उसलाई मारेकोमा कुनै पश्चताप नै देखिदैंन थियो,' ती प्रहरीले सुनाए।
त्यसो त श्रेष्ठको पनि दाहिने हातमा काटिएको थियो। उनले चक्कुले आफ्नो हात काटेको प्रहरीमा बयान दिएका छन्। प्रहरीले श्रेष्ठलाई उपचारको लागि अस्पताल पुर्यायो। शवलाई पोस्टमार्टम गर्न लगिएको छ। मृतक गर्भवती भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
प्रहरी नियन्त्रणमा रहेका श्रेष्ठले श्रीमतीसँग विवाद हुँदा हत्या गरेको बताएका छन्। उनीहरू बिच केही समयदेखि विवाद भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
