काठमाडौं : नेपालमा थप ३ हजार ४८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको १६ हजार ६५६ जनाको नमुना परीक्षण गर्दा २०.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा भएको १० हजार ९०७ जनाको आरटी-पीसीआर परीक्षणका क्रममा २४ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आरटी पीसीआर परीक्षणका क्रममा दुई हजार ६१६ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै पाँच हजार ७४९ जनाको एन्टिजेन परीक्षणका क्रममा ८६५ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा मात्र ९६४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये ६६३ जना काठमाडौं जिल्लाका रहेका छन्। त्यस्तै ललितपुरमा १९२ जना र भक्तपुरमा १०९ जना नयाँ संक्रमित पहिचान भएको मन्त्रालयले जनाएको छ।
यसैबिच पछिल्लो २४ घण्टामा थप ३० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा १० हजार १८० जनाको मृत्यु भइसकेको छ। यसबिचमा एक हजार ८८५ जना संक्रमित संक्रमण मुक्त भएका छन्।
संक्रमण पुष्टि हुने मध्ये परीक्षणको आधारमा सबैभन्दा बढी संक्रमण दर गण्डकी प्रदेशमा रहेको छ। त्यहाँ कुल परीक्षणको ३६.४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
हाल नेपालमा ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन्।
एक सातामा २५ हजार बढी संक्रमित
यसैबिच पछिल्लो सात दिनमा २५ हजार ४६९ जनामा संक्रमण पुष्टि भएको छ। जुन सो अवधिमा भएको परीक्षणको २२.६५ प्रतिशत हो। यस अवधिमा औसतमा ४.४१ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ। यो सात दिनमा एक लाख १२ हजार ४०७ जनाको नमुना परीक्षण भएको छ। यसबीचमा २२३ जनाको मृत्यु भएको छ। यो साता मात्र १० लाख ८६ हजार ५१५ जनालाई खोप दिइएको छ।
