बुटवल : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्।
प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशसभामा सहभागी दलहरुलाई उनले दाबी पेश गर्न आह्वान गरेका हुन्।
उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान भएको हो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले वक्तव्य जारी गर्दै बिहीवार साउन २८ गते ३ बजे सम्मको दाबी पेश गर्ने समय दिइएको छ।
