PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कोभिड बिरुद्धको खोप किन्न सरकारले १९ अर्ब ५८ करोड रुपैयाँ ऋण लिदैं, १ करोड ५९ लाख डोज खोप किन्ने



पहिलोपोस्ट

कोभिड बिरुद्धको खोप किन्न सरकारले १९ अर्ब ५८ करोड रुपैयाँ ऋण लिदैं, १ करोड ५९ लाख डोज खोप किन्ने

काठमाडौंः सरकारले कोभिड बिरुद्धको खोप किन्न १९ अर्ब ५८ करोड ऋण लिने भएको छ।

ऋण लिन सरकार र एशियाली विकास बैंक (एडीबी) बीच सम्झौता भएको हो। सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन्।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे।

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे।

यस्तै एडीबीबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell