PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

एमालेले अब कार्यकर्तालाई नियमित पढाउने, ओली सरकारका उपलब्धि पनि पाठ्यक्रममा



रासस

एमालेले अब कार्यकर्तालाई नियमित पढाउने, ओली सरकारका उपलब्धि पनि पाठ्यक्रममा

काठमाडौंः नेकपा (एमाले) स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ। पार्टी अध्यक्ष तथा स्कुल विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

विभागका सचिव ईश्वरी रिजालले भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने जानकारी दिए। बैठकमा पार्टी अध्यक्ष ओलीले नेपालमा आजको माक्सवाद भनेकै जबज रहेको बताए।

उनले जबजमा नै राजनीतिक मार्गदर्शन मात्र नभई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्ने मार्गदर्शनसमेत स्पष्ट रहेको भन्दै जबजकै आधारित भएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई अगाडि बढाएको बताए।

अध्यक्ष ओलीले जबजले नेपाली कम्युनिस्ट आन्दोललाई मात्र होइन सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनलाई मार्गदर्शन गर्नेसमेत बताए।

विभागका सचिव रिजालले प्रशिक्षण पाठ्यक्रमलाई विभागका सबै सदस्यले अध्ययन गरी तीन दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्ने र प्राप्त सुझावका आधारमा रामबहादुर थापा, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली लगायतको समूहले परिस्कृत गर्ने निर्णयसमेत गरेको जानकारी दिए।

साथै बैठकले स्कुल विभागका सदस्य एवं विज्ञ प्रशिक्षकको विषयगत सूची तयार पार्न विभागका सचिव रिजाल र सदस्य घनश्याम कोइरालालाई जिम्मेवारी प्रदान गरेको छ।

रिजालका अनुसार समसामयिक पार्टी दृष्टिकोण, पार्टी एकता र असफलता कारण, एमालेको पुनःस्थापना अन्तरविरोध र भविष्य, माक्सवादी दर्शन र आर्थिक सामाजिक रुपान्तरण, जबज, सङ्गठन निर्माण र परिचालन, सरकार र पार्टीबीचको अन्तरसम्बन्ध, केपी ओली नेतृत्वका सरकारको नीति, काम र उपलब्धि, आर्थिक वर्ष २०७८/२०७९ नीति कार्यक्रम र बजेट, सूचना र सञ्चार, नेपाली समाज परिचय, साँस्कृतिक रुपान्तरण आगामी निर्वाचन र विजयका आधार विषयमा नियमित कक्षा सञ्चालन गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell