PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खोलाले बगाएको बिमलाका सपना



खोलाले बगाएको बिमलाका सपना
दुई वर्षअघि लमजुङको दोर्दीमा आएको बाढी। बाढीमा परी अपरदोर्दी आयोजनाका ७ मजदुर बेपत्ता भएका थिए। प्रतीकात्मक फोटो

  • भूमिकाकुमारी विष्ट-

साउन महिनाको अध्याँरो रात, मुसलधारे पानी परेको थियो। सानो टर्चले बाटो देखाउँदै हिँडेका श्रीमानको पछि पछि बिमला हिडिरहेकी थिइन्। उसको शरीरमा एउटा पातलो म्याक्सीमात्र थियो, खुट्टामा चप्पल पनि थिएन। आकाशबाट पानी जस्तै उसका आँखाबाट पनि निरन्तर आँशु बगिरहेका थिए। मध्यरातमा एक्कासी घरमा पानी पसेपछि उनीहरु ओत लाग्न अग्लो ठाँउ खोज्दै हिडेका थिए। गाँउ नजिकैको स्कुलसम्म पुग्दा बाटोमा काँडा र मकैबारीका पातले बिमलाका पाखुरा चिथोरिएर चहराउँदै थिए। घाउमा नुन छर्केजस्तै पोले पनि उसलाई आफ्नोभन्दा काखमा भएकी एक महिनाकी छोरीकी चिन्ता थियो। एक महिनाकी छोरी पानीले नरुझोस् भनेर उसलाई सलले छोपेर छातीमा टाँसेकी थिइ।

विगतका वर्षमा पनि बस्तीमा पानी नपसेको होइन। तर यो वर्ष बिमलाको घर नै बाढीले बगायो। उनी जस्तै गाँउका धेरैलाई बाढीले बेघर बनायो। सबैजना नजिकैको स्कुलमा ओत लागेका थिए। त्यो रात बिमला छोरीलाई छातीमा च्यापेर निदाउन सकिनन्। सुतिरहेको बेला घरमा अचानक पानी पसेको थियो। पानीले भाँडाकुडा लत्ताकपडा सबै बगाउन थाले पनि उनीहरु ज्यान जोगाउन कुदेका थिए। स्कुलमा पुगेर ज्यान बाँच्यो भनेर ढुक्क भए पनि सबैकुरा बाढीले बगाएको कारण भविष्य के हुने भनेर बिमला निकै चिन्तामा थिइन्।

तीन दिन स्कुलमा बस्दा, विभिन्न संघसस्थाले दिएको चिउरा चाउचाउ खाएर उनीहरुले दिन कटाए। उनीहरु बस्ने गाँउको आधा बस्ती बाढीले बगाएको थियो। घरबारबिहिन भएकाहरुलाई गाँउ विकास समितिले त्यही नजिकको अग्लो ठाँउमा शिविर बनाएर बसाउने निर्णय गरेपछि बिमलाको मन केही शान्त भएको थियो। तर उनीहरुलाई बस्न दिइएको ठाउँ जंगलको नजिकै थियो। केही संघसंस्थाले त्रिपाल र खाद्यान्न सहयोग दिएपछि बिमलाले नयाँ स्थानमा आफ्नो जीवन शुरुवात गरेकी थिइन्। काखमा छोरी हुर्किदै थिइ। समय बित्दै जादा संघसंस्था र गाउँ विकास समितिहरुले पनि सहयोग गर्न छोडे। दुइ छाक टार्नलाई समस्या हुन थालेपछि गाँउका सबै पुरुष दिनभरी कामको खोजीमा खोला तरेर जान थाले। त्रिपालको बसाइ विस्तारै झुप्रोमा परिणत भइसकेका थिए। असजिलै भएपनि उनीहरुलाई त्यही शिविर प्यारो लाग्न थालेको थियो। तर उनीहरु बस्ने ठाँउ सुरक्षित थिएन। नजिकै जंगल भएकोले जंगली जनावरहरुको डर हुन्थ्यो। धेरैपटक जनावरले आक्रमण गरेर बस्तीका मान्छेलाई घाइते पनि बनाएको थियो। जनावरहरुबाट जोगिन गाँउलेहरुले आगो बालेर जाग्राम बस्ने पालोसमेत लगाएका थिए। धेरैपटक उनीहरुको निद्रा हातीको बथान गाउँ पसेको आतंकले बिउझिन्थ्यो। 

यही अवस्थालाई पनि उनीहरुले आफ्नो जीवन सहज हुँदै गएको बुझेका थिए। खानेपानीको लागि गाँउ भरीमा एउटा हेन्डपम्प थियो। धेरैपटक पानी भर्न जाँदा उनीहरुका वीचमा झगडा पनि हुन्थ्यो। दिनभरी ज्याला मजदुरी गरेर श्रीमान घर आउँदा बिमलालाई निकै आनन्द महसुस हुन्थ्यो। कतै केही भइ पो हाल्ने होकी भनेर उनी निकै डराउँथिन्। तीन वटा ढुँगालाई अड्याएर बनाएको चुलोमा बिमला खाना पकाउथिन्। थाकेर आएको श्रीमानले छोरीसँग खेल्दै खाना खाँदा बिमलालाई रमाइलो लाग्थ्यो। दुख कष्ट जे जस्तो भए पनि उसले आफुलाई सुखी नै मान्दै आएकी थिइन्।

यही रमाइलोमा बिमलाको परिवार पनि बढ्यो। बिमलाले एक छोरा र एक छोरी फेरी जन्माइन्। तर जेठी छोरीप्रति उनीहरुको विशेष लगाव थियो। किनभने एकमहिनाकी मात्र हुँदा बाढीबाट बचाएका थिए। छोरी ठुली भएपछि उसलाई पल्लो गाँउको स्कुलमा भर्ना गरेका थिए। पल्लो गाउँ जान बाटो सहज थिएन। घुमेर जानुपर्ने भएकोले एक घन्टा समय लाग्थ्यो। शिविरका मान्छेले छोरीलाई पनि के स्कुल लगाएको भन्दै उनीहरुले खिसि पनि गरेका थिए। तर उनीहरु छोरीलाई पढाउन चाहन्थे। छोराछोरीको भविष्यको लागि भन्दै बिमलाका श्रीमान काम गर्न बाहिर जान तयार भए। उनले लमजुङ जिल्लामा एउटा हाइड्रोपावरमा मजदुरको काम पाए। तर काम गर्न गएको ४ महिनामात्र हुँदा एउटा दुर्घटनामा बिमलाका श्रीमानको मृत्यु भयो। बाँध फुटेर भएको उक्त दुर्घटनामा उनको श्रीमानको शव पनि भेटिएन। धेरै दिनसम्म उनको खबर बिमलासम्म पुगेन। खबर सुनेपछि बिमला लमजुङ जान खोजेकी थिइन्। तर आफन्त र छिमेकीले उनलाई जान दिएनन्। बिमलालाई शव नभेटिन्जेल श्रीमान मरेको स्वीकार्न मन थिएन। तर उनलाई आफन्तले किरिया गर्न लगाए।

१३ दिनको दिन सेतो धोती र सेतै चप्पल लगाएर किरिया फुकाएकी बिमलाको जीवन थप कष्टकर बन्दै गयो। शुरुमा सबैको सहानुभूति भए पनि बिमलाले आफू र आफ्ना बालबच्चाको जिम्मेवारी आफै उठाउनुपर्ने थियो। उनको श्रीमान काम गर्ने कम्पनीले शव नभेटिएकोले बिमाबाट पाउने क्षतिपूर्ति पनि दिन मानेन। केही दिन आफन्तहरुसँग मागेर गुजारा भएपछि बिमलाले आफै काम गरेर बच्चाको जिम्मेवारी पुरा गर्ने निधो गरिन्। गाँउका पुरुषहरु जस्तै उनी पनि ज्यालादारी काम खोज्न हिड्न थालिन्। सेतो कपडामा घरको आँगन नाघेको भनेर उनलाई छिमेकी र आफन्तहरुले बहिस्कार नै गरे। जसले जति कुरा काटे पनि आफ्नो बालबच्चाको लागि बिमलाले संघर्ष गर्न भने छोडिनन्।

छिमेकी र आफन्तले नानाथरी कुरा गरेको मानसिक तनावको साथै उनले काम गर्न जाँदा अरु हिंसा पनि भोग्न थालिन्। उनले घर बनाउने काममा इँटा माटो बोक्ने काम गर्न थालेकी थिइन्। तर यसरी काम गर्दा पुरुष कामदारले कहिले उनको नितम्बमा हात लगाउँथे भने कहिल्यै छातीमा। बिमलाले प्रतिवाद गर्दा उनीहरु उल्टै श्रीमान नभएकी भन्दै उनकै चरित्रमा प्रश्न उठाउँथे। आफ्नै लाज हुने डरले उनी कतिपटक सहेर पनि बस्थिन्। तर उनले सहेको अनुचित फाइदा लिनेसम्म प्रयास गर्थे। एकपटक बिमला कामबाट फर्किँदा एकजना ठेकदारले मोटरसाइकलमा शिविरसम्म छोडिदिने भन्दै बाइकमा बसाइ। तर उनले गाउँमा नभइ बिमलालाई जंगलमा लगे। जंगलतिर जान लागेको थाहा पाएर बिमलाले चलिरहेको मोटरसाइकलबाट हाम फालिन्। यसरी पछारिँदा उनको खुट्टामा चोट लाग्यो। उनले यो घटनाबारे छिमेकी र आफन्तलाई भनेर प्रहरीमा खबर गर्न कोसिस गरिन् तर सबैले अर्कोको बाइकमा चढेको भनेर उल्टै बिमलालाई दोषी बनाए।

खुट्टामा चोट लागेकोले बिमला काम गर्न जान सकिनन्। काममा जान नसकेको दोस्रो दिनमै उनको घरमा खाना पाकेन। बिमलाले छिमेकीहरुसँग पैचो माग्न कोसिस् गरिन्। तर अर्कोको बाइकमा हिडेकी आइमाइ भन्दै उनले पैचो पाइनन्। छोराछोरी भोकै हुन थालेपछि उनले जेठी छोरीलाई जंगलबाट च्याउ र करकलो ल्याउन लगाइन्। तर बिडम्बना, त्यसरी ल्याएको च्याउ बिषालु परेपछि छोराछोरी सहित बिमला पनि अस्पताल भर्ना हुने अवस्थामा पुगिन्।

उपचार गरेर घर फर्किदा बिमलालाई ऋण लागि सकेको थियो। तर पनि बिमलाले आफना बच्चालाई स्कुल भने छुटाइनन्। उनी दिनभरी इँटामाटो बोक्ने काम गर्न थालिन् भने साँझ बिहान उखु काट्ने काम गर्न थालिन्। यसरी दोहरो काम गरेर उनले ऋण त तिरिन्। तर काम गर्न जादा पुरुषहरुले गर्ने दुर्व्यवहार भने सहनै पर्थ्यो। छुने र अपशब्दलाई उनले सहन गरे पनि उनले कसैको अगाडि अन्य सम्झौता भने गरिनन्। श्रीमान नहुने महिलालाई हेर्ने पुरुषहरुको नजर र बानीले वक्का भए पनि आफ्नो नियती ठानेर उनी काम गरिरहिन्। उनको एक मात्र चाहना छोराछोरीले राम्रो पढिदिउन् भन्ने थियो।

बिमलाको जीवनको दुख यतीमा मात्र सकिएन। उनकी जेठी छोरी १२ वर्षकी हुदाँ शिविरकै एकजना केटासँग भागेर बिहे गरिन। भारतमा काम गर्ने जाने केटाको लहैलहैमा लागेर छोरीले बिहे गरिन्। बिमला विमारी भएकोबेला त्यो केटाले सहयोग गरेकोले उनले केटालाई आफ्नो सहारा मानेकी रहिछिन्। तर उनले सोचेजस्तो भएन। केटाले उनलाई केही दिन राम्रै गरे पनि विस्तारै तेरो माइती गरिब र खान नपाउने भन्दै रक्सी खाएर कुटपिट गर्न थाल्यो। बिहेको एकवर्षमै बच्चा जन्मिएपछि उनी बिरामी भइन्। बिरामी भएपछि खर्च गर्न नसक्ने भन्दै उसलाई श्रीमानले छोडिदियो। अहिले छोरीलाई बिमलाले आफैसँग राखेकी छिन्। जेठी छोरीले गरेजस्तो गल्ती अरु दुइ बच्चा नगरिदिउन भन्ने बिमलालाई चिन्ता छ। उनी रात दिन मिहिनेत र सँघर्ष गरिरहेकी छिन्। तर गरिबीले उनको कुनै पनि सपना पुरा हुन दिएको छैन। बाढीले उनको घरखेतसहित सुख पनि बगायो, खोलाले नै उनको श्रीमानलाई बगायो। १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने सुनेकी बिमलालाई आफ्नो जीवनमा खुशी फर्किएला भन्ने अझै आशा छ।

लेखकबाट थप

मालाले कसरी पढ्ने होला?
माया फेरि बलात्कृत भइन्

जसले बालविवाह गर्नुहुदैन भनेर पढेकी थिइन् तर कक्षा ८ मा पढ्दापढ्दै…



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell