PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

प्रहरीका शम्भु जसले १५ सयभन्दा धेरै शव ओल्टाइपल्टाइ गरिसके



सविन ढकाल

प्रहरीका शम्भु जसले १५ सयभन्दा धेरै शव ओल्टाइपल्टाइ गरिसके

दश वर्षअघि काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयरको विमान काठमाडौं मनोहरा खोला नजिकै दुर्घटना भयो। चालक दलका तीन जनासहित १९ जनाको दुर्घटनामा परेर मृत्यु भयो। केही विदेशी यात्रु पनि दुर्घटनामा परे। दशैंको मुखैमा बाक्लो बस्ती नजिकै भएको दुर्घटना कहालीलाग्दो थियो।

घटनास्थलको दृश्य जो कसैले सजिलै हेर्न सक्ने थिएन। तर, शम्भु पोखरेलका लागि त्यस्तो विभत्स दृश्यमा शव संकलन गर्नु बाध्यता नै थियो। उनले ती दृश्य देखेर आँखा चिम्लिन पाउँदैन थिए। हेर्दिन र गर्दिन भन्ने छुट कसरी होस्? कतिपय शरीरका अंग छुट्टिएका थिए। केही डढेका पनि।

१९ वटा शव संकलन गर्न दिनभरी लाग्यो उनलाई। छुट्टाछुट्टै प्लाष्टिका झोलामा शवहरु राखे। त्यति मात्रैमा कहाँ सकिन्थ्यो?

विमान दुर्घटनास्थलमा मात्र खटिएर पुगेन। काठमाडौंका अन्य स्थानमा पनि थप तीनवटा शव भेटिए त्यसै दिन। तिनलाई पनि त्यसरी नै प्याक गरे।

शम्भुले बिहान ७ बजेदेखि २२ वटा शवलाई ओल्टाइपल्टाइ गर्न पर्‍यो।

+++

केही वर्ष अघि बौद्ध नजिकै एउटा शव भेटियो - बाटोछेउ बोरामा प्याक गरेर फ्याँलिएको अवस्थामा। शव धेरै दिनअघिको थियो। महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुग्यो। सोको टोलीमा थिए नेपाल प्रहरी हवल्दार शम्भु पनि। गन्ध यसरी आएको थियो कि बोराको छेउमा जाने अवस्था नै थिएन।

अरु कोही पनि प्रहरी बोरामा हात लगाउने पक्षमा थिएनन्। शम्भु नै अघि सरे। बोरा खोल्दै गए। बोराबाट शवमा परेका किरा शम्भुको हात हुँदै शरीरतिर छिर्न थाले। प्लास्टिकमा प्याक गरेर बोरामा फ्याँकिएको रहेछ शव। गर्मी महिनामा गल्न कति समय लाग्थ्यो र? टुक्राटुक्रा हुनेगरी कुहिएको शरीरलाई ओल्टाइपल्टाइ केही सबुत भेटिन्छ कि भनेर खोज्नु थियो। घिन मानेर साध्य थिएन।

शम्भुका लागि त्यो घटना अहिले पनि स्मरणमा ताजै छ - उनकै भाषामा सम्झिँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ।

'कुनै कुनै शव त यति पुरानो हुन्छ कि शरीर पल्टाएर हेर्न खोज्दा छाला नै हातमा आउँछ,' प्रहरी हवल्दार शम्भुले सुनाए।

+++

सुन्दै डरलाग्ने यस्ता घटनाक्रम शम्भुका लागि भने सामान्य भइसकेको छ। किनकि ११ वर्ष भइसक्यो उनले यसरी शव ओल्टाइपल्टाइ गरेको। उनको यो यात्रा सकिएको छैन। झन्डै १५ सय विभिन्न घटनामा भेटिएका शवलाई केलाइसकेका छन् उनले। अझै कहिलेसम्म यसरी नै खटिनुपर्ने हो टुङ्गो छैन।

बलियो कद। अनि अनुहार हेर्दा एकदम शान्त। दिनरात शवहरुलाई ओल्टाइपल्टाइ हेर्ने उनले के सपनामा तिनै दृश्यलाई देख्दैनन् त?

मुसुक्क हाँसेर जवाफ दिन तयार भए उनी।

'लाग्दैन। अचेल त केही पनि त्यस्तो हुँदैन,' शम्भुले भने।

स्वभाविक हो, अरुका लागि असामान्य लाग्ने घटना उनका लागि सामान्य भइसकेको छ। यतिसम्म कि उनले टाउको चिरिएकादेखि टुक्राटुक्रा भएका शवहरु समेत बटुलिसकेका छन्।

रौतहटको चन्द्रनिगाहपुर घर भएका शम्भु २०६१ असार १० गते जवानबाट प्रहरी सेवामा प्रवेश गरे। ट्रेनिङ सकेर बुटवल रामनगर इलाका प्रहरी कार्यालयमा काम गरे। त्यही समयमा प्रहरी तालिम केन्द्र महाजगञ्जले फिङ्गर प्रिन्टको  तीन महिने तालिम दिने भयो। उनी छानिए। काठमाडौं आएर तीन महिना तालिम लिए। त्यसपछि फेरि रामनगर नै पुगे। त्यहाँबाट २०६४ सालमा महानगरीय प्रहरी प्रभाग सीतापाइलामा सरुवा भयो। झन्डै तीन वर्ष त्यही बिताए।

२०६७ सालदेखि उनी महानगरीय अपराध महाशाखामा कार्यरत छन्। सुरुमा फिङ्गर प्रिन्टको तालिम लिएर उनी 'सोको' विभागमा काम गर्न थाले।

सुरुमा चोरी, लुटपाट हत्यालगायत घटनामा मानिसको फिङ्गर प्रिन्ट निकाल्नु पर्थ्यो। अहिले जसरी शवलाई केलाउनु पर्ने थिएन। तर, यसरी नै घटनामा जाँदैगर्दा उनको इच्छा भने शव जाँच, व्यवस्थापनमा नै लाग्यो। त्यसयता उनले फुर्सद पाएका छैनन्। विभत्स हत्या गरिएका, आत्महत्या, वेवारिस अवस्थामा भेटिएका काठमाडौं उपत्यकाभित्रका शव हेर्न उनै पुग्छन्।

घाँटी काटिएका, धारिलो हतियार हानेर मारेका, झुन्डिएका जस्ता फरकफरक मरणलाई उनले नजिकबाट देखेका छन्। मानिस कतिसम्म क्रुर बन्नसक्छ भन्ने उनलाई ११ वर्ष घटनासँग जोडिएको पाटोले बुझाएको छ।

हत्यामा क्रुरता र प्रेम पनि

'मानिस आवेग र आर्थिक मामिलामा एकदमै क्रुर भएको देखेको छु। यसरी मानिस मारेका हुन्छन् सोच्नसमेत सकिने खालको हुँदैन। त्यो देख्दा मानिस यति क्रुर किन हुन्छ भन्ने लाग्छ,' शम्भुले भने।

शम्भुले मानिसको हत्यासँग क्रुरतामात्र होइन माया पनि देखेका छन्। धेरै जसो आत्महत्याका घटनामा प्रेम सम्बन्धबाट हुने गरेको पाउँछन्। आत्महत्यापछि सनाखत गर्दा भेटिने धेरै सुसाइट नोट पढेका छन्। जहाँ प्रेमिले प्रेमिकालाई, प्रेमिकाले प्रेमीलाई र छोराछोरीले बुबाआमालाई लेखेका नोट फेला परिरहेको हुन्छ। यस्ता सुसाइट नोटमा आफ्नालाई मायाले सम्बोधन गरेर लेखेको देख्दा हत्यामा क्रुरतामात्र होइन पर्याप्त माया पनि भेट्छन् उनी।

केही वर्षअघि एक धनाढ्य परिवारका एक छोरा हराए। प्रहरीले खोजी गर्‍यो। अन्तत उनी र्‍याडिसन होटेलमा झुन्डिएको अवस्थामा फेला परे। शव भेटिएपछि शम्भु नै घटनास्थलमा पुगे। जाँच गरे। सबै जानकारी लिए। धेरै आत्महत्यामा सुसाइड नोट पाउने भएकाले उनी त्यही खोजी गर्दै थिए। तर, कतै भेटिएन। एकछिनपछि कोठाको डस्टबिनमा न्याप्किनमा लेखिएको सुसाइट नोट थियो। त्यहाँ ती युवकले आफ्ना बुबाआमालाई सम्बोधन गरेर नोट लेखेका थिए। त्यतिखेर शम्भुको मन छोयो। सधैं विभत्स हत्या देखेर आपराधीप्रति पलाउने आक्रोश त्यहाँ थिएन।

'मरेर गएपछि पनि परिवारलाई केही नहोस् भनेर लेखिने यस्ता पत्रहरु देख्दा मनमा अर्कै हुन्छ। लाग्छ मृत्युका पनि अनेक रुप रहेछन्,' शम्भुले सुनाए।

कुहिएका, किरा परेका धेरै शवहरु केलाएर खोतलेर उनी ड्युटी सकाएर घर फर्किन्छन्। घर फर्किँदा कहिले काहीँ त उनको शरीर नै डुङ्डुङ्ती गन्हाइरहेको हुन्छ। उनकी श्रीमतीले शवको काम गरेर आएको दिन घर छिर्नेवित्तिकै पत्तो पाउँछिन्। तर, उनलाई यस्तो काम नगर्नु भनेर अहिलेसम्म कहिले पनि रोकटोक गरेकी छैनन्।

'अरु भए बुझ्दैन थिए होला। तर, उनी पनि प्रहरीमा नै भएकाले अहिलेसम्म त्यस्तो केही भनेकी छैनन्,' शम्भुले सुनाए। उनकी श्रीमती पनि प्रहरी हवल्दार हुन्।

+++

२०७७ साउन २५ गते टोखा नगरपालिकाको वडा नम्बर १० मा टाउको काटिएको शव सुटकेसभित्र फेला पर्‍यो। फेरि उनै शम्भुलाई अर्को काम आइलाग्यो। महाशाखाबाट एसएसपी सहितको टोली घटनास्थल पुग्यो। शम्भुले सुटकेस खोलेर हेर्दा काटिएको शरीरमात्र थियो। केही समयमा केही पर अर्को जेब्रा झोलामा काटिएको टाउँको भेटियो। एकदमै विभत्स।

प्रहरीले अनुसन्धान गर्दै गयो। घटना चितवनकी कल्पना मुडभरी(पौडेल)ले गरेक खुल्यो। शव दाङका कृष्णबहादुर बोहराको थियो। जब महिलाले त्यो घटना गरेको शम्भुले थाहा पाए उनी अहिले पनि अचम्ममा छन्। उनलाई एउटै प्रश्नले सताइरहेको छ- एउटा महिलाले यस्तो विभित्स तरिकाले कसैको हत्या गर्न सक्छ?

उनीसँग यस्ता महिलाले गरेका विभित्स घटनाका उदाहरण धेरै छन्। 'महिलाले यसरी हत्या गर्दा अलिक कस्तो कस्तो लाग्छ। महिला पनि यति क्रुर बन्ने सक्ने रहेछन् भन्ने हुन्छ। किनकि हामीले त कसरी काटिएको छ भन्ने शरीरको एकएक भाग हेरेका हुन्छौं,' शम्भुले सुनाए।

जब कुनै बालबालिकाको विभत्स हत्या भएको घटनामा उनी पुग्नुपर्छ त्यतिखेर भने उनलाई मन नै कुडिएर आउँछ। त्यस्ता घटना भुल्न नै सक्दैनन् शम्भु। दुई वर्षअघि भक्तपुरमा ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या भयो। शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको थियो।

अपहरणकारीले बालकको मुखमा कपडा कोचेर हत्या गरेका थिए। यो घटना अहिले पनि शम्भुको मनमा बसिरहेको छ। उनी चाहेर पनि भुल्न सक्दैनन्।

'अपराधीको मन एकदमै क्रुर हुने रहेछ। उनीहरुले बालकवृद्ध केही देख्ने रहेनछन्,' शम्भुले सुनाए।

शम्भुले काठमाडौं उपत्यकाभित्र भएका भीआइपी व्यक्तिहरुको हत्या केसमासमेत पुगेका छन्। न्यायाधीश रणबहादुर बमदेखि पूर्व राजदुर केशव झासम्मको शव ओल्टाइपल्टाइ गरेर हेरेका छन्। कहिले काँही यस्ता घटनाले ज्वरोसमेत फूटाउने गरेको शम्भुले बताए।

'शवसँग खेल्नु पर्छ भन्दैमा असन्तुष्ट छैन। हामीले गरेको अनुसन्धानले अपराधी पत्ता लागेर कसैले न्याय पाएको सुन्दा मन खुशी हुन्छ,' शम्भुले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell