PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

गजेन्द्रनारायण सिंह अस्पतालमा एघार दिनदेखि पीसीआर परीक्षण बन्द



रासस

गजेन्द्रनारायण सिंह अस्पतालमा एघार दिनदेखि पीसीआर परीक्षण बन्द

काठमाडौं : एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा संचालित पीसीआर परीक्षण केन्द्र बन्द रहेको पाइएको छ। सम्भावित कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका छन्।

अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पीसीआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको बताए। एन्टिजेन परीक्षण जारी रहेको उल्लेख गर्दै उनले पिसिआर मेसिनमा स्वाबको स्याम्पल लोड गर्दा मेसिनले राम्रो नतिजा दिन नसकेको बताए।

'प्रदेश २ को अरु जिल्लामा प्रदेश सरकारले पीसीआर मेसिन दुई थान दिएको छ। तर सप्तरी जिल्लाका लागि एउटा मात्रै मेसिन उपलब्ध गराएकाले त्यो पनि बिग्रेपछि स्वाब संकलन कार्यसमेत प्रभावित भएको छ' उनले भने।

मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाले पीसीआर मेसिनमा प्राविधिक गडबडी भएका कारण कोरोना भाइरसको स्वाब परीक्षण संचालन हुन नसकेको जानकारी दिए।

दैनिक २० देखि २५ जना परीक्षणका लागि अस्पतालमा आउने गरेकामा यसरी पीसीआर मेसिन बिग्रिँदा जिल्लामा कोरोनाको सङ्ख्यासमेत बुझ्न समस्या हुने गरेको बताइएको छ।

यसअघि यही साउन १२ गते पनि पीसीआर मेसिनमा गडबडी हुँदा दुई दिन परीक्षण कार्य बन्द भएको थियो। प्राविधिक ल्याएर मर्मत गराएर संचालन गरिएको भए पनि केही दिन चलेर अहिले फेरि पीसीआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट केही नदिने भएपछि परीक्षण सेवा बन्द भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell