बुटवल : लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्यमन्त्रीको दाबी पेश गरेका छन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख शेरचनले बुधबार २२ घण्टाको समय दिएका थिए।
सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए।
मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा १ (क)बाट निर्वाचित हुन् ।
सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ। एमाले सांसद तथा पूर्वमन्त्री बैजनाथ चौधरीले आफूहरु प्रतिपक्षमा रहने बताए।
प्रदेश प्रमुखले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी छ। गठबन्धनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी समेत गरेको छ।
गठबन्धनबिच मुख्यमन्त्रीमा आठ–आठ महिना आलोपालो गर्ने सहमति भए पनि अन्य मन्त्रालय बाँडफाँडको काम बाँकी नै छ। पहिलो ८ महिना केसी र २०७८ फागुन २ गतेपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कानोडिया मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको छ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र कायम छन्। बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ।
गठबन्धनमा कांग्रेसका १९, माओवादीका १८ (सभामुख बाहेक), जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। अल्पमतमा परेको एमालेमा ३७ जना छन्।
नवलपरासी पश्चिमबाट सूर्य चिह्न लिएर स्वतन्त्रबाट निर्वाचित सांसद अजय शाही बुधबारदेखि ४ दलको गठबन्धनमा खुलेपछि गठबन्धनमा सांसद संख्या ४२ पुगेको छ।
