PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

टोकियोबाट फर्किएका अस्ट्रेलियन ओलम्पियन २८ दिन आइसोलेसनमा, 'अन्य देशमा सेलिब्रेसन, यहाँ भने क्रुर व्यवहार'



पहिलोपोस्ट

टोकियोबाट फर्किएका अस्ट्रेलियन ओलम्पियन २८ दिन आइसोलेसनमा, 'अन्य देशमा सेलिब्रेसन, यहाँ भने क्रुर व्यवहार'

टोकियो ओलम्पिक सकिएपछि जापान पुगेका ओलम्पियनहरु स्वदेश फर्किएका छन्। कोभिड १९ को कडा मापदण्डबिच सम्पन्न प्रतियोगितामा सफलता पाएर स्वदेश फर्किएका खेलाडीले सम्मान पाइरहँदा अस्ट्रेलियाको दृश्य भने फरक देखियो।

टोकियोबाट सिड्नी हुँदै  दक्षिण अस्ट्रेलिया पुगेका केही खेलाडीहरु २८ दिनको आइसोलेसनमा बस्न बाध्य भएका छन्। स्टेटअफ साउथ अस्ट्रेलियामा खेलाडीहरु २८ क्वारेन्टिनमा बस्न बाध्य भएका हुन्। सिड्नी कोरोनाको डेल्टा भेरियन्टले केसहरु बढाएसँगै लकडाउनमा छ। सिड्नी हुँदै आउने नागरिकलाई अस्ट्रेलियाका अन्य राज्यमा कडाइ गरिँदै आएको छ।

जापानबाट फर्किएका खेलाडीहरुलाई अस्ट्रेलियाले थप दुई हप्ताको आइसोलेसन अवधि बढाएको छ। यसअघि दुई हप्ता आइसोलेसनमा बस्ने नियम रहेको थियो। सरकारको नयाँ नियमलाई लिएर अस्ट्रेलियाको ओलम्पिक कमिटीले खेलाडीहरुलाई सजायँ दिइएको आरोप लगाएको छ।

'अरु देशहरुले उनीहरुको खेलाडी फर्कँदा उत्सव मनाइरहेका छन्। हामीहरुको भने वेवास्ता र क्रुर व्यवाहार गरिएको छ,' अस्ट्रेलियन ओलम्पिक कमिटीले भनेको छ, 'उनीहरुलाई गर्वका साथ ओलम्पिक खेलहरुमा आफ्नो देशको प्रतिनिधित्वको लागि दण्ड दिइन्छ।'

अस्ट्रेलियामा नयाँ भेरियन्टको कोभिड १९ संक्रमण फैलने भन्दै खेलाडीमाथि कडाइ गरिएको हो।

एओसीका चिफ एक्ज्युकेटिभ म्याट क्यारोलले भनेका छन्: हाम्रा ओलम्पियनहरु पुरा भ्याक्सिन लगाइसकेका मात्र छैनन्, उनीहरु टोकियोमा 'हाइली कन्ट्रोल्ड' बबलमा बसेर आएका छन्। जहाँ सतर्कताका सबै उपाय अपनाइएको थियो र केही हप्ता दिनैपिच्छे कोभिड परीक्षण गरिएको थियो।

यसअघि इण्डियन प्रिमियर लिग (आईपीएल) खेलेर फर्कँदा पनि खेलाडीलाई अस्ट्रेलिया प्रवेशमा कडाइ गरेको विषय चर्चामा आएको थियो।

ओलम्पिकमा अस्ट्रेलियाले १७ स्वर्ण, ७ रजत र २२ कास्यसहित ४६ पदक जितेर पदकतालिकाको छैटौं स्थानमा रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell