PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

मेस्सीलाई रामोसको घरमा बस्न निम्तो, कुनै बेलाका 'राइभल' को प्रश्न : यस्तो कसले सोचेको होला र ?



पहिलोपोस्ट

मेस्सीलाई रामोसको घरमा बस्न निम्तो, कुनै बेलाका 'राइभल' को प्रश्न : यस्तो कसले सोचेको होला र ?
CURTO DE LA TORRE (AFP)

वर्षौंसम्म अर्जेन्टिनी स्टार लियोनल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोस 'राइभल' का रुपमा मैदानमा उत्रिए। तर, अहिले अवस्था फरक भएको छ।

दुवैजना खेलाडी अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका छन्। बार्सिलोनाबाट मेस्सी पेरिस जाँदैगर्दा रामोसले पनि उनलाई स्वागत गरेका छन्।

अघिल्लो वर्ष एल क्लासिको हुँदा मेस्सी बार्सिलोनाको र रामोस रियल मड्रिडका कप्तान थिए। दुवैको आआफ्नो क्लबसँगको करार यही 'समर'मा सकियो। र, दुवै खेलाडी एकैस्थानमा आइपुगेका छन्, पेरिसमा।

बुधवार मेस्सीले पीएसजीसँग आधिकारिक रुपमा अनुबन्धन पुरा गरेपछि रामोसले सामाजिक संजालबाट स्वागत गरेका छन्।

'यो कसले सोचेको थियो होला र ? कि कसो लियो?' रामोसले ट्वीटरमा लेखेका छन्, 'स्वागत छ।'

ला लिगामा रहँदा यी राइभल टोलीका महत्वपूर्ण यी दुई खेलाडीबिच मैदानमै 'टसल' पर्ने गरेको थियो। अब यी दुई खेलाडी मिलेर च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

रामोसले लाइभ स्ट्रिम प्ल्याटफर्म 'ट्वीच'मा कुरा गर्दै मेस्सीलाई आफ्नो घरमा स्वागत गर्न पाउँदा खुशी महसुस हुने बताएका छन्। उनले हाल पेरिसमा रहेका मेस्सी आफ्नो घरमा बसे आफू 'कम्फर्टेबल' हुने समेत बताएका छन्। 

रामोसले ट्वीटमा एउटा फोटो राखेका छन् जसमा सेतो रंगमा उनको जर्सी र मेस्सीको निलो रंगमा जर्सी छ।

मेस्सी पेरिस पुग्नसाथ रामोसले उनलाई सम्पर्क गरेको र रहनका लागि अफरसमेत गरेको एल पेइसका पत्रकार जुआन इरिगोयनले दाबी गरेका छन्।

'यदि तिमी र तिम्रो परिवार होटलमा भन्दा मेरो घरमा रहन चाहन्छौ भने तिमीहरु रहन सक्छौ।' रामोसको निकट स्रोतलाई हवाला दिँदै इरिगोयनले भनेका छन्, 'रामोसले लियोको प्रशंशा र सम्मान गरेका छन्। यसअघिको अवस्था जे थियो थियो, अब रामोसले मेस्सीको डिफेन्ड गर्नेछन्।'

एल पेइसको रिपोर्ट अनुसर पीएसजीले अहिले मेस्सीलाई घरको व्यवस्था गर्न खोजिरहेको छ।

स्पेनिस खेलाडी सर्जियो रामोस दुई वर्षे करारमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए। १६ वर्ष स्पेनिस क्लब रियल मड्रिडमा बिताएका रामोसको जुन महिनामा मड्रिडसँग करार सकिएको थियो।

१६ वर्ष रियल मड्रिडमा बिताएका रामोसले त्यहाँ रहँदा चारपटक च्याम्पियन्स लिगको ट्रफी, चार क्लब वर्ल्डकप ट्रफी, तीन युरोपियन सुपर कप, पाँच ला लिगा र कोपा डेल रे र चार सुपरकोपाको उपाधि दिलाएका थिए।

उनले १६ सिजनमा ६७१ खेल खेल्दै १०१ गोल गरेका थिए।

त्यस्तै लामो चर्चापछि अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्। यसअघिको करियर स्पानिस क्लब बार्सिलोनाबाट खेलेका उनी २ वर्षे करारमा पीएसजी पुगेका हुन्।

बार्सिलोनामा ४ वटा युरोपियन च्याम्पियन्स लिग जिताएका मेस्सीले १० वटा ला लिगा, ७ वटा कोपा डेलरे, तीनवटा क्लब विश्वकप, तीनवटा युरोपियन सुपर कप र ८ वटा सुपरकोपाको उपाधि जिताएका थिए। उनले त्यसबिचमा ६ पटक बालोन डि ओरको उपाधि जित्न सफल भएका थिए। उनले बार्सिलोनाबाट १७ सिजन खेल्दै ७७८ खेलमा ६७२ गोल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell