काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका जिल्ला सभापतिहरु बुढानिलकण्ठ जाँदैछन्। सानेपास्थित होटल समिटमा भएको भेला सकिएपछि जिल्ला सभापतिहरु देउवालाई भेट्न बुढानिलकण्ठ जान लागेको भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए।
भेलामा काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरु सहभागी भएको उनले बताए। देउवा पक्षको जिल्ला सभापतिहरुले महाधिवेशन नजिकिएको बेला गुट उपगुटको भेला गर्न नहुनेसमेत जनाएको छ। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला ठमेलस्थित होटल यात्रीमा भएको थियो। यस्ता किसिमको भेलाप्रति देउवा पक्षको जिल्ला सभापतिहरुको भेलाले आपत्तिसमेत जनाएको छ।
सहमति भइसकेका विषयमा भाँजो हाल्ने काममा पौडेल पक्षका नेताहरु लागेकोसमेत जिल्ला सभापति थापाले आरोप लगाए। 'सहमति भइसकेका कुरामा भाँजो हाल्ने काम गर्नु भएन। महाधिवेशन विधान सम्मत हुन लागेको छ। यस्तो बेलामा कोही विषेश अधिवेशनको माग गरिररहेका छन्, कोही महाधिवेशनै सार्न माग गरिरहेका छन्,' जिल्ला सभापति थापाले भने,'यस्तो कसैले गर्न भएन।' देउवासँग भेटेर सहमतिका साथ १४ औं महाधिवेशन समयमै गर्न सुझाव दिने भेलाको निष्कर्ष रहेको छ।
केन्द्रीय समितिको बैठकले तत्काल १४ औं महाधिवेशन संवैधानिक संकट नपर्ने गरी तोकियोस् भन्ने हाम्रो सुझाव रहनेछ,' थापाले भने। कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधनका लागि आज केन्द्रीय समिति डाकेको छ। केन्द्रीय समिति बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजेबाट शुरु हुँदैछ।
