PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ओली - नेपाल 'ब्याटल' : एमालेभित्रको किचलोमा कसको तयारी कस्तो?



प्रकाश भण्डारी

ओली - नेपाल 'ब्याटल' : एमालेभित्रको किचलोमा कसको तयारी कस्तो?

काठमाडौं : नामको विवादमा परेको एउटा सानो मुद्दालाई टेकेर सर्वोच्च अदालतले नेकपा (एमाले)लाई ब्युँताएसँगै पार्टीभित्र सुरु भएको समानान्तर गतिविधि थामिने नामोनिसान छैन। औपचारिक रुपमा २०७७ फागुन २८ पछि नेकपा एमाले भित्र समानान्तर गतिविधि सुरु भयो। र, एक अर्को बिनाको पार्टीको परिकल्पनामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल लागि नै रहे। किचलो पार्टीमा मात्रै सीमित रहेन। पार्टी भित्रको विवाद अदालतसम्मै पुग्यो र ओली बहिर्गमनमा परे। माधव नेपाल पक्षका कर्णाली प्रदेशका ४ सांसदको पद गुम्यो। ओली समूहले प्रदेश सरकारको नेतृत्वबाट पनि लगातार हात धोइरहने अवस्था आइलाग्यो। ओली निकट नेता पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट बाहिरिएका थिए भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिन बाध्य भए। एमाले किचलोले पार्टी विभाजनकै डिलैमा पुगे पनि ओली-नेपालले तत्काल 'राजनीतिक पारपाचुके'को निर्णय गरिसकेका छैनन्।

विवादले अहिलेको रुप लिनुअघि बेलाबेलामा ओली र नेपाल बिच 'वान अन वान' भेटवार्ताका श्रृङ्खलाहरु पनि चले। असार २७ गतेको १० बुँदे सहमति, नेपाल समूहमाथिको कारवाहीको फुकुवा, २०७५ जेठ २ गतेको कमिटीमा फर्केको घोषणा र नेपाललाई दोस्रो अध्यक्ष बनाउने ओलीको प्रस्ताव, ओली-नेपाल पक्षबिच सम्बन्धको सेतु कायम गर्ने विषय बनिरहे। सतहमा संघर्ष, संवाद र सहकार्यको नीति अबलम्बन गरेका ओली-नेपालले संघर्ष र संवादलाई निरन्तरता त दिए तर सहकार्यको लक्ष्यभन्दा एक अर्कालाई नङ्ग्याउने रणनीति पनि कायमै राखे। पाँच महिनासम्म संघर्ष र संवादमै सीमित रहेको एमाले किचलो अब भने विस्फोटको अवस्थामा पुगेको छ। नेपाल समूहलाई विद्रोह गर्ने आधार भने ओलीले नै तय गरिदिएका छन् - साउन २५ गते पार्टी संरचना फेर्ने निर्णय गरेर। त्यसैले ओली-नेपालको 'ब्याटल' अब फरक रुपमा अगाडि बढ्ने आँकलन गरिएको छ।

नेपालको अडान यथावत

'कसैको टाङमुनि छिर्ने छैनौं। अध्याँरो सुरुङमा छिर्नेवाला छैनौं। तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं, हामी अगाडि बढ्छौ,' गत मंगलवार आफू निकट अनेरास्ववियुको कार्यक्रममा नेपालले गरेको भाषणले सोझो संकेत गर्छ, अब ओली-नेपालको सम्बन्ध अलमलमा रहने छैन। अर्थात्, फरक पार्टीका नेता बन्ने तयारीमा छन्, ओली-नेपाल। यद्यपि, नेपाल पक्ष तत्कालै नयाँ पार्टी घोषणा गर्ने योजनामा भने छैन। ओलीलाई थप कमजोर बनाउने र त्यताका नेता कार्यकर्तालाई आफ्नो पक्षमा तानेपछि मात्रै नयाँ पार्टीको घोषणा गर्ने रणनीतिमा नेता नेपाल छन्। त्यसका लागि नेपालले नेताहरुलाई एक्ला एक्लै भेट्नेदेखि सत्ता गठबन्धनका नेताहरुसँगको संवादलाई तीब्र पारेका छन्। नेपालले ओलीलाई थप कमजोर पार्दै एकता कि, नयाँ पार्टी? भन्ने बहसलाई तीब्रता दिएको उनी निकट नेताहरुले बताएका छन्। केही नेताहरुले औपचारिक रुपमा अझै एकता सम्भव रहेको बताइरहँदा नेपाल निकट नेताहरुले भने अब ओलीसँग एकताको ढोका बन्द भएको टिप्पणी गरेका छन्। एकताका ओलीले अध्यक्षबाट राजीनामा दिनुपर्ने पहिलो शर्त बनाएका छन्। त्यस्तै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेमा फर्काउनुपर्ने पुरानो अडान यथावत राखेका छन्। एकताका लागि बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिले मात्रै एकता नहुने भन्दै नेपाल पक्षका नेता जगन्नाथ खतिवडा ओलीले आत्मालोचना गर्नुपर्ने तर्क गर्छन्।

'केही नेताहरुलाई लागेको छ १० बुँदे सहमति भनेको एमालेको सम्पूर्ण जीवन हो। तर, त्यसका आधारमा मात्रै सहमति हुन सक्दैन,' उनले भने।

तत्काल 'बोल्ड डिसिजन'

नेपाल समूहभित्र हाल औपचारिक रुपमै ओलीबाट अलग हुनुपर्ने मत बलियो बन्न थालेको छ। गत शुक्रवार सम्पन्न केन्द्रीय कमिटीमा ओलीसँग झुक्न नहुने भन्दै नयाँ पार्टी घोषणा गर्नुपर्ने अधिकांश केन्द्रीय सदस्यहरुको मत थियो। तर, उक्त बैठकले निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिएपछि १० बुँदे सहमतिका आधारमा एकता प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो। ओलीले डाकेको साउन २५ गतेको केन्द्रीय कमिटी बैठकले नेपाल समूहको अनुपस्थितिमै पार्टीको विधान संशोधन गर्‍यो। यससँगै नेपाल समूह आफ्नो पुरानो निर्णय सच्याउने तयारीमा जुटेको छ। नेपाल निकट नेताहरुका अनुसार अब बस्ने स्थायी कमिटीको बैठकले ओलीसँगको विवादबारे 'बोल्ड डिसिजन' गर्ने छ। नेपाल निकट केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले अबको स्थायी कमिटीले पछिल्लो राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्ने बताए। 'अब तत्काल स्थायी कमिटीको बैठक बसेर पछिल्लो अवस्थाका बारेमा समीक्षा हुन्छ,' उनले भने।

फुटपछि पनि वार्ता

नेपाल समूहले ओलीसँग जति दुरी बढे पनि वार्ताको ढोका भने खुला राख्ने रणनीति लिएको छ। त्यसका लागि दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा अहिले पनि संवाद गरिरहेका छन्। तर, ओली नै एकताका लागि अनिच्छुक रहेको भन्दै वार्तामा संलग्न नेताहरुले पछिल्लो समय विवादको छिनोफानो संवाद् मार्फत् नहुने निचोडमा पुगेका छन्। नेपाल पक्षका नेता विरोध खतिवडाले वार्ताका लागि आफूहरु जहिले पनि तयार रहेको बताए।

'वार्ता त फुटेपछि पनि हुन्छ। एउटै पार्टीमा हुँदा पनि वार्ता भइरहेको छ भने अलग हुँदा त झन् हुन्छ,' उनले भने। एमाले विवाद किनारा लगाउन ५ महिनायता लगातार संवाद भएको थियो। तर, ओली-नेपाल आफैँले गठन गरेको १० सदस्यीय कार्यदल प्रति विश्वस्त हुन नसकेपछि उनीहरुको पहलले सार्थक रुप लिन सकेको छैन। नेपालले अब वार्ता र संवादमा मात्रै सीमित भए आफ्नो पक्ष कमजोर हुने भन्दै विद्रोहका लागि तयार रहन भनेका छन्। पछिल्लो पटक नेता नेपालले कर्णाली प्रदेशका पदमुक्त ४ जना सांसदसँगको भेटमा पनि उक्त विषयबारे बताएका थिए।

नेपाल बाहेकलाई एमालेमा स्वागत!

अर्कातिर ओलीले पार्टी संगठनका गतिविधिलाई तीब्रता दिएका छन्। विधान संशोधनदेखि भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीका काम तीब्र गतिमा भइरहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एकताका लागि वार्ता भइरहेको भन्दै नेपाल पक्षले पार्टी संगठनका कामलाई तत्काल बन्द गर्न ओलीलाई अनुरोध गरेको थियो। तर, ओली पक्षले नेपाल पक्षका अनुरोधमा पार्टी बन्धक बन्न नहुने भन्दै धमाधम निर्णय गरेको हो।

'पार्टीमा फर्कने नेताहरुलाई जो जुन जिम्मेवारीमा हुनुहुन्छ त्यही जिम्मेवारीमा फर्कने बित्तिकै स्वागत हुन्छ। तर, पार्टीलाई चलायमान बनाउन संगठनका काम भइरहन्छन् अब रोकिँदैनन्,' उनले भने।

ओलीले यसअघि पनि नेपाल बाहेकका नेताहरुलाई एमालेमा स्वागत गरिने बताएका थिए। असार ३० गते प्रधानमन्त्री निवास बालुवाटारबाट बालकोट फर्कदा पनि ओलीले नेपाललाई पार्टीमा ठाउँ नभए पनि बाँकी नेताहरुलाई भने आत्मालोचना गरेर काममा फर्कने अवसर दिने उद्घोष गरेका थिए।

ओलीसँग दुरी, वैद्य र विप्लवसँग वार्ता

ओलीसँगको सम्बन्धमा दरार आएसँगै नेता नेपालले कम्युनिष्ट नेताहरुसँगको संवादलाई तीब्रता दिएका छन्। सके पार्टी एकता, नभए मोर्चा बनाउने उद्देश्यका साथ लगातार संवाद भइरहेको नेपाल निकट नेताले बताए। उनले चुनावसम्मै कायम रहनेगरी मोर्चा बनाउने तयारी भएको जानकारी दिए। त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेतासँग नेपाल समूहले लगातार संवाद गरिरहेको छ। नेपाल निकट नेता खतिवडाले आफ्नो समूहले सबै राजनीतिक दलसँगको संवादलाई तीब्र पारेको र मोर्चाबन्दीका लागि संवाद भइरहेको बताए।

'सबैसँग अहिले संवाद भइरहेको छ। विप्लव, वैद्य लगायतका सबै जनासँग वार्ता त लगातार भइरहेकै छ। हामी सबैसँग वार्ता गर्ने भनेर सार्वजनिक रुपमा भनेकै छौं,' उनले भने।

वार्ताबाटै थकाउने ओलीको नीति

वार्ताबाट निकास ननिस्किने भन्दै नेपाल समूहले विद्रोहको तयारी गरे पनि ओली समूह भने फेरि वार्तामै नेपाल समूहलाई अल्मल्याउने रणनीतिमा छ। एकता भन्दै ओली समूहका दोस्रो तहका नेताहरुले केही दिन अझै पर्खन आग्रह गरेका छन्, नेपाल समूहका नेतालाई। अनौपचारिक रुपमा संवाद भइरहेको भन्दै उनीहरुले ओलीलाई संवादमै जोड दिनुपर्ने सुझाव दिइरहेका छन्। ओली पक्षका नेता विशाल भट्टराईले एमालेको विवाद के हुन्छ भन्ने अहिले नै तय नभएको सुनाए। उनले नेपाल पक्षसँग फेरि पनि वार्ता नै गर्नुपर्ने विषयमा पार्टीमा छलफल भएको जानकारी दिए।

'केही दिन पर्खौं। पहिलो जो-जो नेताहरु संवादमा थिए फेरि पनि संवादमा छन्। २/४ दिनमा केही निचोड निस्किएला,' उनले भने, 'अहिले नै विवाद यही हुन्छ भन्ने केही छैन।'

तर, एमालेको विवाद सुल्झने लक्षण देखिन्न। दुवै समूहमा पार्टी विवाद समाधानबारे एकमत छैन। ओली-नेपाल मिल्नुपर्ने विचार एकथरी नेताको छ भने अर्कोतिर वार्ताको अर्थ नभएको तर्क गर्ने पनि उत्तिकै छन्। केन्द्रीय सदस्य मानन्धरले दुवै नेताहरुलाई मिल्न र छुट्टिन सुझाव आइरहेको बताए। ओलीलाई उनी निकट केही नेताहरुले नेपाल पक्षलाई पार्टीमा स्वागत नगर्न दवाव दिइरहेको उनको भनाई छ। नेपाल समूहमा पनि पार्टी अलग गर्नुपर्ने विचारको बाहुल्यता रहेको उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell