4.jpg)
बुटवल : लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिँदै छन्। उनी सहित ७ जना मन्त्रीले पनि एकैसाथ सपथ ग्रहण लिने तयारी भएको गठबन्धन स्रोतले जनाएको छ।
प्रदेश प्रमुखको कार्यालयमा बिहीवार एक समारोहकाबिच मुख्यमन्त्री केसी सहित मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउँदै छन्।
४ बिना विभागिय र २ कार्यालयगत मन्त्रालयको जिम्मेवारी सहित ६ मन्त्रीले पदभार ग्रहण गर्न लागेका हुन्।
केसी क्याबिनेटमा केसी सहित नेपाली कांग्रेसबाट डिल्लीबहादुर चौधरी ग्रामीण विकास मन्त्री, जनता समाजवादी पार्टी जसपाबाट सहसराम यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिने तयारी भएको छ।
माओवादी केन्द्रका कृष्णध्वज खड्का, सूर्य चिह्नबाट निर्वाचन जितेका अजय शाही, जसपाका पुर्मती ढेंगा र सुमन शर्मा रायमाझीले बिना विभागिय मन्त्रीको रुपमा नियुक्त हुँदैछन्।
यता, नेपाली कांग्रेस, माओवादी केन्द्रका सांसदहरु मन्त्री बन्नको लागि रुचि देखाएपनि तत्काल मन्त्री थप्ने अवस्था नभएको स्रोतले बताएको छ।
विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार हुने गठबन्धन स्रोतले बताएको छ।
मन्त्री बन्ने चर्चामा नेपाली कांग्रेसका वीर बहादुर राना, निर्मला क्षेत्री, रमा अर्याल, माओवादी केन्द्रबाट सुदर्शन बरालको नाम चर्चामा रहेको छ।