हेटौँडा : संसारमा जेजति परिवर्तनहरु भएका छन, त्यसमा युवाको महत्वपूर्ण योगदान छ। त्यसैले त भनिन्छ, युवाहरु परिवर्तनका वाहक हुन्। सबै क्षेत्रमा युवाहरुको सहभागितासहित नेतृत्व अनिवार्य छ।
युवासँग उर्जा हुन्छ, जस्ले गर्दा उनीहरुले नेतृत्वसहित परिचालन गर्न सक्छन्। युवा गलत बाटोमा फसे भने घर, परिवार, समाज र मुलुकले सही बाटो लिन सक्तैन।
नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ। नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवर्द्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ।
नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कायन्वयन नहुँदा युवा लाभान्वित हुन सकेका छैनन्।
तर, अधिकांश युवाहरु अहिलेको अवस्था लागुऔषधको दुर्व्यसनीमा फसेको पाईन्छ। लागु पदार्थको सेवनले युवाहरुको सकारात्मक क्षमतालाई विनास गर्ने गर्छ। युवाहरुले लागु पदार्थ सेवन गर्दा त्यसले दिमागमा हुने विकासात्मक प्रक्रियाहरुलाई हस्तक्षेप गर्छ।
युवाहरुले पहिला लागुपदार्थको प्रयोग गर्छन्, अनि त्यसलाई निरन्तर प्रयोग गर्ने सम्भावना बढी हुन्छ र पछि जीवनभर लत बन्न जान्छ। लागुपदार्थको प्रयोगले आफनो स्वास्थ्य र जीवन सबै बिग्रिएको पत्तो हुँदैन। युवाले विषेशगरी प्रयोग गर्ने लागुपदार्थ भनेको सुर्ती, गाँजा र मदिरा हुन्। अहिले युवा सबै भन्दाबढी लागुपदार्थको दुर्व्यसनीमा फसेका छन्।
हेटौँडामा ५२ जना लागुऔषध प्रयोगकर्ता
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको सिआन पुनर्स्थापना केन्द्र मकवानपुरमा ५२ जना युवा लागुऔषध प्रयोगकर्ताहरु रहेको सिआन पुनर्स्थापना केन्द्रका निर्देशक सौजन डीसीले बताए।
पुनर्स्थापना केन्द्रमा सामान्य र असामान्य किसिमका लागुऔषध प्रयोगकर्ताहरु रहेको निर्देशक डिसिले जानकारी दिए। ति सबै अहिले उपचारको क्रममा रहेको उनले जानकारी दिए।
केही लागुऔषध प्रयोगकर्ताहरुलाई छिट्टै उपचार गर्न सकिन्छ भने केहीलाई अलि समय लाग्ने उनले बताए। उपचारपछि युवाहरु घर फकिर्ने क्रममा पुनः लागुऔषध सेवन गर्ने गरेको पनि पाइएको छ।
निर्देशक डीसीका अनुसार युवा दिवस मनाइरहँदा समुदायमा कुलतमा फसेका युवाहरुलाई नै समेट्न नसकेको भन्दै दुःख व्यक्त गरे। कुनै पनि संघ संस्थाहरुले लागुऔषधमा लिप्त भएका युवाहरुका लागि कुनै पनि कार्यक्रम ल्याउने नसकिएको र सरकारी निकायहरुले लागुऔषधमा फसेका युवाहरुका लागि युवामा नेतृत्व विकास र रोजगारको समस्या हल गर्न ल्याइएका नीतिगत तथा संरचनागत संस्थाले नतिजामुखी परिमाण दिन सकेको उनले बताए।
जसले गर्दा बेरोजगार समस्या ज्यूँका त्यूँ छ भने त्यसैले युवाहरु रोजगारविहिन भएका कारणले लागुऔषधको कुलतमा फसेका हुन्। सरकारले युवा लक्षित व्यवहारिक कार्यक्रमहरु नल्याएका कारणले मुलुकमा नै केही गर्छु भनेर बसेका युवाहरुको जिन्दगी नै अन्धकारमय बन्दै गएको निर्देशक डीसीले गुनासो पोखे।
भिमफेदी कारागारमा ३ सय, हिरासतमा ५२ युवा
जिल्ला प्रहरी कार्यालय हेटौँडाको हिरासतमा हाल ५२ जना युवाहरु छन्। ती सबै लागुऔषध कारोबारी र सेवनकर्ता हुन्। यसैगरी, लागुऔषध ओसारपसारमा संलग्न रहेको अभियोगमा मकवानपुरको भीमफेदी कारागारमा करिब ३ सय जना भन्दाबढी मकवानपुरे युवा छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ताका अनुसार युवाहरुलाई सबै जानकारी हुँदा हुँदै पनि कुलतमा फस्दै गएको बताउँछन्। उनका अनुसार युवा एक सचेत नागरिक भएको र उनीहरुलाई सहि गलत छुट्टाउने क्षमता हुँदा हँदै पनि लागुऔषधलाई फेसनको रुपमा लिने गरेको हुँदा अधिकांश युवाहरु लागुऔषधमा फसेको पाइएको छ।
प्रहरी प्रवक्ता रिमाल जयेश्वर रिमालका अनुसार युवाहरुलाई लागुऔषधमा फस्न नदिन स्थानिय सरकार , प्रदेश सरकारले बैकल्पिक ब्यवसायको कार्यक्रम ल्याउने पर्ने बताएका छन्।
युवालक्षित कार्यक्रम ल्याउँछौँ : उपाध्यक्ष चौलागाई
वाग्मती प्रदेश सरकारले प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न ऐन बनाएको छ। युवाको हक हितको संरक्षण, सम्बर्द्धन र सशक्तिकरण गरी शिक्षा, सीप, उद्यमशीलता र रोजगारीमा युवाको प्रतिनिधित्व, भुमिका र योगदानलाई प्रवर्द्धन गर्दै समुन्नत प्रदेश तथा राष्ट्र निर्माणका लागि युवा सम्बन्धी अभिबृद्धि गरी प्रदेश तथा राष्ट्र विकासको मुल प्रवाहमा युवालाई समावेश गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बाञ्छनीय भएकोले वागमती प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको हो।
दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि प्रदेश युवा परिषद्ले साताव्यापी कार्यक्रमको आयोजना गरेको छ। प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाइले प्रदेश युवा परिषद्ले युवा लक्षित कार्यक्रम ल्याउने बताएका छन्। उनका अुनसार युवाका मुद्दा सम्बोधनकै क्रममा रहेकाले युवाका क्षेत्रमा केही मात्रामा भए पनि सकारात्मक परिवर्तन देखा पर्न थालेको बताउछन्।
सबै क्षेत्रमा काम गर्न युवा व्यापक रुपमा सक्षम भएको हुनाले युवाका क्षेत्रमा काम गर्न चुनौती भन्दा पनि अवसर भएको उनले बताए। युवाका क्षेत्रमा धेरै नीतिगत कार्यक्रमहरु तयार गरिएको हुनाले कार्यान्वयन पनि छिट्टै गर्ने तयारीमा रहेको उनले जानकारी दिए।
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ। यसैगरी, सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ।
यस्तै, सरकारले ल्याएको १५ औँ योजनाको आधारपत्रमा ‘युवाको जाँगर समृद्धिको आधार’ भन्ने मुल नाराका साथ युवालाई मुलुकको समृद्धिसँग जोडेको छ। युवा रोजगार प्रधानमन्त्री कार्यक्रम, युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार सचिवालयको गठन जस्ता कार्यक्रम ल्याइएका छन्।
नेपाललाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा पुर्याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित १० वर्षे रणनीतिक योजना’ ल्याइएको छ।
कोभिड-१९ को कारणले अहिले मुलुकमा लाखौँ युवा बेरोजगार बन्नु परेको अवस्था छ। सरकारले ती युवालाई समेटेर रोजगारीका कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ। सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले २०७५ सालमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ ल्याएको छ।