पोखरा : फेवातालको किनारैमा छ साहासिक खेल प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने ठुलो चौर। त्यहीँ चौरमा ग्लाइडरको ओत लगाएर व्यापार गर्न बसेका छन् तुलसीप्रसाद गौड।
तुलसी व्यापारमा लागेको झण्डै १२ वर्ष भयो। चौरमा बस्न लागेको भने ७ वर्ष। जहाँ उनले फलफुल, जुस र चटपट बेच्ने अनुमति पाए। बुबाको स्वास्थ्य अवस्था कमजोर भएकै कारण कम उमेरमा घरको आर्थिक जिम्माको भार तुलसीको काँधमा आइलाग्यो। त्यसपछि सेदीबाट तुलसी ठेला बोकेर चटपट बेच्न बजार निस्किए।
भैरहवाबाट पोखरा आएर उनले गरेको मिहिनेत र दुःख सेदीस्थित प्याराग्लाइडिङ ल्यान्डिङ गराउने चौरका एक जना 'दाइ'ले देखे। चौर लिजमा लिएका ती 'दाइ'ले उनको दुख बुझिदिए। प्याराग्लाइडिङ ल्यान्डिङ गराउने चौरमा पर्यटकको चहलपहल हुने भइहाल्यो। त्यसपछि स्वदेशीदेखि विदेशी पर्यटक र नजिकैका पोखरेलीको टहलिने स्थानमा स्टल राख्ने अनुमति पाए तुलसीले। व्यापार राम्रै हुन थाल्यो। उनीसँगै अर्का एकजना पनि स्टल राख्न आइपुगे। तुलसीले उक्त जग्गामा स्टल राखे बापत मासिक भाडा तिर्न थाले। कहिले ५ हजार कहिले ७ वा १० हजार रुपैँया। निषेधाज्ञाका समयमा भने भाडा तिर्नुपरेन।
कोरोनाका कारण अहिले उनकै छेउमा स्टल राखेका अर्का व्यक्ति भने छैन। तुलसी भने दोस्रो लहरको निषेधाज्ञा खुकुलो भएसँगै उहीँ पुरानो दैनिकीमा फर्किएका छन्। उनका लागि नयाँ दिनको सुरुआत दिनको ठीक १२ बजे हुन्छ। स्टल राखेको ४ मिनेट पर बस्छन् उनी।
कोरोना नियन्त्रणका लागि सरकारले प्याराग्लाइडिङ क्षेत्र बन्द गरेको छ। प्याराग्लाइडिङकै कारण चहलपहल हुने उक्त स्थान अहिले अक्सर रित्तो र सुनसान देखिन्छ। कहिलेकाही पोखरेली टहलिन जान्छन्। टिकटक बनाउन जानेहरुकै कारण व्यापार चलिरहेको छ। त्यही पनि तुलसी पसलमा चाहिने आवश्यक सामान लिएर हरेक दिन नयाँ आश बोकेर चौरमा पुग्छन्।
‘प्याराग्लाइडिङको भरमा चलेको व्यापार हो। अहिले त केही छैन। यस्सो घुम्न आउने र टिकटक बनाउने आएर चलेको छ,’ तुलसीले भने। कोरोनाका कारण दैनिक गुजारामा समस्या निम्तिए पनि सान्तवना दिन्छ आफैंलाई। उनी बुझ्छन् अहिलेको समस्या उनको मात्र होइन। यद्यपि पहिलो लहरभन्दा दोस्रो लहरमा समस्या झेलेको उनी सुनाउँछन्।
‘सबलाई यस्तै छ सबैको पीडा आ–आफनो ठाउँमा छ मलाई अघिल्लो लकडाउनमा त्यति असर गरेन तर, यो लकडाउनले भने मर्का पार्यो,’ उनले सुनाए,‘त्यतिबेला केही जम्मा गरेको पैसा थियो व्यापार पनि थियो यसपाली त्यहीँ नि सकियो।’
दोस्रो लहरको सामना गरिरहेको बेला यता सरकारले तेस्रो लहरबारे सचेत गराइरहेको छ। मानिसहरुमा पुन लकडाउन हुन्छ कि भन्ने डर छ। दैनिक काम गरेर गुजारा गरिरहेकालाई अब पनि बन्द भए के गर्ने कसो गर्ने चिन्ता छ। मनमा आशा राखेपनि तुलसी यस्तै कुराले चिन्तित छन्।
स्वास्थ्य मापदण्ड पालना गरेर व्यापार व्यवसाय गर्न पाउनुपर्ने भनाइ राख्छन् उनी। ‘नियम पालना गरेर खुले राम्रो हो नि अब पनि कति बन्द गर्नु? खान पर्यो, गुजारा गर्नेपर्यो घर धान्न समस्या भइसक्यो,’ तुलसी दु:खी सुनिए। सामान्य समयमा उनको दैनिक आम्दानी १० हजार हाराहारी हुन्थ्यो। अहिले मुश्किलले १ हजार पुग्छ। जसको सामान किनैपर्यो। घरमा नुनतेल लैजानैपर्यो। कम उमेरमै परिवारको जिम्मेवारी सम्हालेका तुलसीको जीवनमा श्रीमती र दुई छोरा पनि थपिसकेका छन्।
दाइलाई सघाउँदै अजय
कोरोना नहुँदो हो त पर्यटकको बाक्लो चहलपहल हुने स्थानमा व्यापार राम्रो हुन्थ्यो। सामान्य समयमा पर्यटकको चहलपहलले तुलसीलाई मात्र धान्न हम्मेहम्मे हुने। त्यसैले उनलाई सहयोग गर्न आमा पुग्थिन्। अहिले भने तुलसीका साना भाइ अजय पुग्छन्। तालबाराही चोकमा डुंगा चलाउने अजयले कोरोनाकै कारण आम्दानीको बाटो गुमाए। सानैदेखि डुंगा चलाउन सिके अजयले सोही काम गरेर आर्थिक रुपमा दाइको जिम्मेवारीमा साथ दिँदै आएका थिए। अहिले पर्यटक छैनन्, डुंगा चढ्ने मानिस खासै आउँदैन। अहिलेको समयमा अन्य काम खोज्न कहाँ जाने? घरमा दिनभर खाली बस्नुभन्दा दाइलाई सहयोग गर्ने मनाशय बनाए अजयले। दाइसँग काम पनि सिक्दैछन्। ‘उता तालतिर केही छैन घरमा खाली बस्नुभन्दा यता आए नयाँ काम जानिने, दाइलाई सहयोग पनि हुने,’ उनले भने।
दाइको जस्तो अजयले पनि मनमा आशा राखेका छन्। आम्दानीको बाटो फर्किनेछ। दाइको काँधबाट ८ जना सदस्य हेर्नुपर्ने एक्लभार कम हुनेछ। आशा छ उनको एकदिन स्थिति सामान्य बन्ने छ। डुंगाको शयर गर्न पर्यटकको भिड पहिलेजस्तै हुन्छ। अनि फेरि फेवातालमा डुंगा खियाउँदै पर्यटक गुमाउने छन्।