PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

देउवा नेतृत्वको सरकार बनेको महिना दिन पुरा : मन्त्रिपरिषद्ले पाएन पूर्णता, ओलीले भने झैं गठबन्धनलाई केटाकेटीलाई दशैं आएजस्तै भएको हो?



नेत्र तामाङ

देउवा नेतृत्वको सरकार बनेको महिना दिन पुरा : मन्त्रिपरिषद्ले पाएन पूर्णता, ओलीले भने झैं गठबन्धनलाई केटाकेटीलाई दशैं आएजस्तै भएको हो?

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन सरकारले आज महिना दिन पुरा गरेको छ। सर्वोच्च अदालतको परमादेशपछि असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

देउवाले आफूसँग नेपाली कांग्रेसका दुई जना र माओवादीका तर्फबाट दुई जना मन्त्री नियुक्त गरे। जसमा कांग्रेसका तर्फबाट गृहमा बालकृष्ण खाण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालय सम्हालिसकेका छन्। यता सत्ता साझेदारीको अर्को मुख्य दल माओवादी केन्द्रका तर्फबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसालले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

देउवा नेतृत्वको सरकारले स्वास्थ्य राज्य मन्त्रीमा उमेश श्रेष्ठलाई साउन १२ गते नियुक्ती दियो। तर, त्यसयता मन्त्रिपरिषद्को विस्तारबारे बेलाबेला चर्चा चले पनि अझै विस्तार हुन सकेको छैन।

गठबन्धनलाई दशैं आएजस्तै भएको हो?

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिस्थापन गर्दै बनेको देउवा नेतृत्वको सरकारलाई अन्य तीन दल र एमालेको माधव नेपाल समूहको सहयोग रहेको छ। माओवादी केन्द्र, जनता समाजवादी पार्टीको डा बाबुराम भट्टराई र उपेन्द्र यादव समूह, जनमोर्चा पार्टीको स्पष्ट सहयोग र माधव नेपाल समूहका साथ रहेको छ। देउवाले आफ्नो शासन ढुक्कले चलाउन प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौ दिनमा विश्वासको मत पाएका थिए। ओलीलाई साथ दिँदै आएको जसपा महन्थ ठाकुर पक्षले पनि देउवालाई साथ दिए। ओली पक्षकै सांसदसहित २२ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका छन्।

यसै विषयमाथि साउन २६ गतेको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताका रुपमा सम्बोधन गर्दै ओलीले रोष प्रकट गरेका थिए। उनले सत्ता गठबन्धनका लागि सरकार प्राप्ति केटाकेटीलाई दशैं आएजस्तै भएको आरोप लगाउन भ्याएका थिए। 'लगभग एकमहिनाअघि सरकार परिवर्तन भएको छ। र सरकार परिवर्तनको विषय लोकतन्त्रमा सामान्य विषय नै हो। तर असामान्य ढंगले सरकार परिवर्तन भएकाले होला। सत्ता गठबन्धनका मित्रहरु असाध्यै हौसिनु भएको। दशैं आए जसरी केटाकेटी आँगनमा नाचेजस्तो नाच्दै ठीक्क भएको छ,' ओलीको भनाई थियो।

सँगै जोडेर ओलीले भनेका थिए, 'एक महिना केही नगरेकोले होला खुब चल्यो धन्यवाद बधाई।'

'मन्त्रालय दिनभरीमा घुमेर पनि भ्याउनुहुन्न'

ओलीले प्रधानमन्त्री देउवाप्रति व्यंग्य गर्दै सबै मन्त्रालय आफै कहाँ राखेकोसमेत बताए। दिनभरीमा घुमेर नभ्याउने मन्त्रालय राखेर देशको विकास सम्भव नहुने ओलीको तर्क थियो। 'स्पष्ट छ एक महिनाको समय त खेर गयो। बहुत राम्रो गठजोड छ तपाईहरुको। सरकार त बन्न सकेन। पुरा हुन सकेन। कति चार जना मन्त्री कि कति लिएर हिड्नु भएको छ। सबै मन्त्रालय आफैकहाँ राख्नुभएको छ। मन्त्रालय दिनभरीमा घुमेर पनि भ्याउनुहुन्न। अनि के हुन्छ?' ओलीले भनेका थिए।

ओलीले आफ्नो भनाईलाई असफल पार्न चुनौतिसमेत दिए। तर देउवा सरकारको लक्षण राम्रो नभएको दाबीसमेत ओलीले त्यतिबेला गरेका थिए। 'एक महिनाको समय त खेर गयो। शुभकामनाको अब लहर अरु १४/१५ महिना चल्नेछ। बधाईको लहर पनि १४/१५ महिना प्रतिपक्षीलाई गाली गर्न पनि १४/१५ महिना जानेभयो। पटुकाफेर समातेर नाच्दानाच्दै जाने भयो तपाईहरुको समय। माया लाग्छ,' ओलीको थप भनाई थियो, 'मेरो अहिलेको भनाईलाई असफल बनाउनुस्। विकासको तेज गतिलाई रफ्तार बढाउनुस्। तर सम्भव छैन। लक्षण राम्रो छैन।'

केमा अलमल?

नेपाली कांग्रेस स्रोतका अनुसार देउवा चाँडै नै मन्त्रिपरिषद् विस्तार गर्न चाहन्छ। तर माधव नेपाल पक्षको प्रष्ट निर्णय नआउँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको कांग्रेस स्रोतको दाबी छ। बालुवाटार स्रोतका अनुसार एमालेको माधव नेपाल पक्षको निर्णय चाँडै आउनेछ।

अहिले नेपाली कांग्रेसको केन्द्रीय समिति जारी रहेकोले केही दिन मन्त्रिपरिषद् विस्तार नहुने बालुवाटार स्रोत बताउँछ। कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका तोक्ने किचलोले पनि मन्त्रिपरिषद् विस्तार रोकिएको कांग्रेस नेताहरु बताउँछन्। भदौ १६ बाट महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले यो समयमा महाधिवेशन गर्न नसक्ने भएको छ। अब नयाँ कार्यतालिका ल्याउने तयारीका साथ बिहीवारबाट सभापति एवं प्रधानमन्त्री देउवानिवास बुढानिलकण्ठमा केन्द्रीय समिति शुरु भएको छ। केन्द्रीय समिति सम्भवत: शनिवार वा आइतवार सकिनेछ। केन्द्रीय समितिबाट महाधिवेशन कार्यतालिका आउनसाथ मन्त्रिपरिषद् विस्तारमा देउवा लाग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell