PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कन्दहार पनि तालिवानको नियन्त्रणमा ! अमेरिका र बेलायतले दूतावास खाली गर्न लाग्दा अब नजर काबुलमा



पहिलोपोस्ट

कन्दहार पनि तालिवानको नियन्त्रणमा ! अमेरिका र बेलायतले दूतावास खाली गर्न लाग्दा अब नजर काबुलमा
Photo : Reuters

तालिवानले अफगानिस्तानको दोस्रो ठूलो शहर कन्दहार नियन्त्रणमा लिएको दाबी गरेको छ। यो दाबी पुष्टि भए तालिवानको लागि यो ठूलो जित हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

कन्दहार कुनै बेला तालिवानको पकड रहेको क्षेत्र थियो। प्रमुख व्यापारिक हब भएकोले पनि रणनीतिक रुपमा तालिवानले कन्दहार नियन्त्रणमा लिने प्रयास पहिलादेखि नै गर्दै आएको थियो। तालिवानले हेल्मन्द प्रान्तको राजधानी लस्कर घा समेत नियन्त्रणमा लिएको बताइएको छ।

तालिवानले यसअघि नै ९ भन्दा बढी प्रान्तीय राजधानी नियन्त्रणमा लिइसकेको छ। अफगानी सरकार तालिवान सामु निरिह देखिएको छ। अफगानी सरकारले तालिवानलाई रोक्न नसकेको भन्दै सेना प्रमुखलाई हटाएको भोलिपल्ट नै प्रमुख शहर नै तालिवानले नियन्त्रणमा लिएको दाबी गरेको हो।

तालिवानले अफगानिस्तानका प्रमुख शहरमाथि नियन्त्रण कायम राख्दा अमेरिकाले अफगानिस्तानमा रहेका नागरिक र दूतावासका कर्मचारीलाई फिर्ता ल्याउन ३ हजार सेना फेरि अफगानिस्तान पठाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानी नेताहरु मिलेर समस्या हल गर्नुपर्ने प्रतिक्रिया दिएका छन्। यस्तै, बेलायतले पनि आफ्ना नागरिक र दूतावासका कर्मचारीलाई फिर्ता ल्याउन विमान पठाउने भएको छ।

अफगानिस्तान मामिला हेर्ने अमेरिकाको एक संस्थाले पनि अहिले देखिएको स्थितिले अफगानिस्तान सरकारको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिएइसकेको छ।

तालिवानले राजधानी काबुलमाथि नियन्त्रण कायम गर्न अघि बढिरहेको छ। तालिवानको डरले काबुलबाट यसअघि नै हजारौं मानिस पलायन भइसकेका छन्।

अफगानिस्तानमा तालिवानले एक हप्ता अघिबाट आक्रमणलाई तिब्र बनाएको थियो। सेप्टरबरसम्म सबै विदेशी सेना अफगानिस्तानबाट हट्ने घोषणा भएपछि तालिवान पुन: सक्रिय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell