PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

टोकियोमा स्वर्ण गुमेपछि साउदीका नागरिकले किन लगाउँदैछन् इरान र टर्कीमाथि 'गोल्ड मेडल चोरी' को आरोप



पहिलोपोस्ट

टोकियोमा स्वर्ण गुमेपछि साउदीका नागरिकले किन लगाउँदैछन् इरान र टर्कीमाथि 'गोल्ड मेडल चोरी' को आरोप

टोकियो ओलम्पिकममा साउदी पहिलो स्वर्ण पदकको नजिक थियो। साउदी र इरानका खेलाडी आमनेसामने थिए। रेफ्री थिए टर्कीका। साउदीका तारिग हामेदी ४-१ ले अघि थिए। हामेदीले इतिहास रच्नै लागेका थिए। त्यतिबेलै हामेदीले इरानका सज्जाद गंजजादेहलाई किक प्रहार गरे र उनी त्यहीँ ढले।

टर्कीका रेफ्री उगर कुवासले यसलाई नियमको गम्भीर उल्लंघन माने।  हामेदी हिंसक भएको भन्दै खेलमा इरानीलाई जिताए। स्वर्ण पदक इरानका सज्जादलाई दिने निर्णय गरे। त्यसपछि साउदीका समर्थक भड्किए र आरोप लगाए : इरान र टर्कीले साउदीको स्वर्ण पदक चोरे।

यो विवाद यी तीन देशबिचको आपसी सम्बन्ध र दुश्मनीका कुराहरु थपिएपछि थप तन्किन पुग्यो।

२३ वर्षे हामिदी फाइनलमा अघि रहेर पनि रजतमा चित्त बुझाउन बाध्य भए। ओलम्पिकमा यो साउदीका लागि दोस्रो रजत पदक हो। यसअघि साउदीले सन् २००० को सिड्नी ओलम्पिकमा ४०० मिटर दौडमा रजत पदक जितेको थियो।

हामेदी साउदीमा अहिले कुनै हिरो भन्दा कम छैनन्। यो ओलम्पिकमा साउदीका लागि उनले एकमात्र मेडल जित्न सफल रहे। त्यसैले साउदीका खेलमन्त्री अब्दुल अजिज बिनले उनलाई १३ लाख डलर पुरस्कार दिने घोषणा गरे।

हामेदीको 'टेक्निकल गल्ती'का कारण स्वर्ण पदक गुमे पनि साउदीका नागरिकले टर्किस रेफ्रीमाथि साइबर आक्रमण गर्न छाडेका छैनन्। उनको पक्षपाती निर्णयका कारण साउदीले स्वर्ण जित्न नसकेको भन्दै इरानसँग मिलेर स्वर्ण पदक चोरेको आरोप लगाइरहेका छन्। ट्वीटरमा यही ह्यास्ट्याग चलाएका छन्।

आलोचननापछि रेफ्री कुवासले पनि ट्वीटरमा आफ्नो मौनता तोडेका छन्।

'सामाजिक सञ्जालमा अहिले मलाई जति निशाना बनाइएको छ, त्यति कहिले म बनेको थिइन। म आफ्नो अकाउन्ट बन्द गर्नेछु,' उनले ट्वीटमा लेखेका छन्, 'म मिडल रेफ्री हुँ र नियमले बाँधिएको छु। यो निर्णय पाँच रेफ्री र दुई डाक्टरको सहयोगमा लिइएको हो। मैले बहुमतको निर्णय मानेको हुँ।'

अर्कोतर्फ हामेदीले लेखेका छन्: लक्ष्य त स्वर्ण पदकको थियो। तर पनि अल्लाहलाई धन्यवाद। म यो उपलब्धिलाई किंग सलमान, क्राउन प्रिन्स र खेलमन्त्रीलाई समर्पण गर्न चाहन्छु।

भएको के थियो?

खासमा हामेदको एक किक इरानी खेलाडीमाथि भारी परेको थियो। त्यसपछि सज्जाद बेहोसी हालतमा ढलेका थिए। तत्काल डाक्टरहरुको एउटा टिम आयो। र, उनलाई अक्सिजन मास्क लगाएर स्ट्रेचरमा हालेर लिएर गए।

यसपछि गोल्ड मेडल सज्जादलाई स्वर्ण पदक दिने निर्णय गरियो। तर, सज्जाद जब मेडल लिन आए, उनी एकदमै ठीक थिए।

मेडल लिएपछि उनले भनेका थिए: म गोल्डमेडल लिएर खुशी छु। तर मलाई यो जसरी मिलेको छ, त्यसमा भने निराश छु।'

हामेदीले भने यो निर्णयले आफू दु:खी भएको प्रतिक्रिया जनाएका थिए।

साउदी अरबको टर्की र इरानसँगको सम्बन्ध धेरैअघि देखि राम्रो छैन। ओलम्पिकमा साउदी र इरानका खेलाडीहरु जसरी भिडे त्यसलाई यो दृष्टिकोणबाट पनि हेर्न आवश्यक छ।

यसका बावजुद साउदीमा हामेदी छाएका छन्। मंगलवार उनले क्राउन प्रिन्स मोहम्मद बिन-सलमानसँग भेटेका थिए।

साउदी अरब र ओलम्पिक

साउदी अरबका लागि ओलम्पिकमा स्वर्ण कुनै सपना भन्दा सानो विषय होइन। सन् १८९४ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को गठन गरिएको थियो। त्यसको दुई वर्षपछि एथेन्समा ओलम्पिक सम्पन्न भयो।

त्यसयता विश्वयुद्धलाई छाड्ने हो भने हरेक ४ वर्षमा ओलम्पिक हुँदै आएको छ। सन् १९३२ मा आएर आधुनिक साउदीको स्थापना भएको थियो।

साउदी सन् १९४५ मा संयुक्त राष्ट्र संघमा सदस्य बन्यो। तर, खेल क्षेत्रमा अझै सम्पर्कमा आएको थिए। ओलम्पिकमा सहभागिता अझै टाढाको कुरा थियो।

सन् १९५६ मा साउदीले फुटबल संघ बनायो र तत्काल फिफाको सदस्यता लियो। तर, त्यसअघि नै साउदीमा फुटबल क्लबहरु थिए। फुटबलको माहोल थियो। सन् १९६५ अघि साउदीको ओलम्पिक कमिटी बनेको थिएन। र, साउदीका खेलाडीले म्युनिख गेम्स १९७२ सम्म प्रतिस्पर्धामा गएनन्। त्यसपछि १२ ‌औं समर गेममा खेलाडी पठाएको थियो। सन् १९८० को मस्को ओलम्पिक अमेरिकाले बहिस्कार गर्दा साउदी पनि त्यही खेमामा थियो।

साउदीलाई ओलम्पिकमा पहिलो सफलता सन् २००० मा मिलेको थियो। हादी सोउहान सोमाइलीले दौडमा रजत जिते भने खालिद अल इदले पनि एथलेटिक्समै काश्य जिते।

लण्डन ओलम्पिक २०१२ साउदीका लागि खास बनेको थियो। त्यतिबेला साउदीबाट एकजना महिला खेलाडीले ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। त्यसपछि सन् २०१६ को रियो ओलम्पिकमा साउदीका सात पुरुष र चार महिला खेलाडीले सहभागिता जनाएका थिए।

हालसम्म साउदीले एथलेटिक्समा १, करातेमा १ र घोडचडीमा दुई गरी कुल ४ पदक जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell