PahiloPost

Nov 21, 2024 | ६ मंसिर २०८१

‘ट्याटु’ भरिएका ट्रक खिच्न अमेरिकादेखि आएका रनको कथा : भन्दैछन् ‘हर्न प्लिज’



सहयोग रञ्जित

‘ट्याटु’ भरिएका ट्रक खिच्न अमेरिकादेखि आएका रनको कथा : भन्दैछन् ‘हर्न प्लिज’
फोटो सौजन्य : रन र्‍यान्सन

सन् १९६४। नेपाल जाने निधो त भयो। तर थाहा छैन कस्तो हो त्यो देश? २३ वर्षकै कलिलो उमेरमा रन र्‍यान्सनले सोधखोज थाले। एटलस पल्टाए त्यसबाहेक खासै धेरै कुरा फेला पारेनन् नेपालबारे।

मिसन थियो पिस क्रप्स अन्तर्गत स्वयमसेवा। एसियाको दुई विशाल मुलुकको बिचमा रहेको नेपाल आउने पक्का भएसँगै कल्पिएका थिए – रोमाञ्चक हुनेछ यात्रा।

समुन्द्र नजिकैको शहरमा घर भएका उनी वरिपरि पहाडले घेरिएको काठमाडौं ओर्लिँदा अनौठो अनुभूति हुनु स्वभाविक थियो। त्यस समयको नेपाल कुनै पनि विदेशीका 'अर्कै धरती' थियो।

पिस क्रप्स अन्तर्गत उनको काम थियो पढाउने। शिक्षकका रुपमा उनलाई खटाइयो चितवनको नारायणगढ। चितवन हाई स्कुल उनको ‘डेस्टिनेसन’।


सन् १९६५ मा चितवन हाई स्कुलको दृश्य।


त्यसबेला अहिलेको जस्तो सडक संजाल थिएन। भीमफेदी - हेटौंडा हुँदै नारायणगढको यात्रा गर्नुपर्थ्यो। बस थिएन, चढ्नुपर्थ्यो ट्रक। कच्ची सडक अनि घुमाउरो बाटो। डर, रोमाञ्चकता र कष्ट। तीनैको बेजोड समिश्रण।

ट्रकमा मानिसहरुको मात्र खचाखच हुँदैन थियो। बोराका बोरा आलु लादिएको हुन्थ्यो। चामल पनि हुन्थ्यो। अरु खाद्यान्न पनि। तिनकै चाङमाथि बस्दै तय भयो काठमाडौंदेखि हेटौंडा हुँदै चितवनसम्मको यात्रा। विद्यार्थीलाई पढाउने उनको दैनिकी थियो। दुई वर्षको बसाईका क्रममा काठमाडौं - चितवन आउजाउ धेरै पटक हुन्थ्यो। १३ घण्टाभन्दा बढी ट्रकको यात्रा अनि घण्टौं हिडाइँ, अभ्यस्त भइसकेका थिए उनी रमाउन।

+++

'सर्चिङ फर न्यू ब्वाइफ्रेन्ड/गर्लफ्रेन्ड '

'हल्का दिने मजा लिने'

'रिस्की राइडर'

'बुद्ध ह्वाज बर्न इन नेपाल'

'माया पिरती एक्सप्रेस'

'आमाबुवाको आशिर्वाद'

तपाईँले नेपालका सडकमा गुड्ने ट्रकहरुमा नोटिस गरेका वाक्यहरु हुनुपर्छ यी। यसबाहेक द्वीअर्थी दिने र अश्लिल 'ट्रक साहित्य' त कति कति। सडकमा अझै देखिन्छन् हरियो, पहेंलो, रातो रंगले झलकमल हुनेगरी रङ्गिएका ट्रकहरु। तिनमा बब मार्लीदेखि मेस्सीसम्मका तस्विर पनि। कुनै पेन्ट त कुनै फोटो नै। अमेरिकादेखि इटालीसम्मका झण्डा पनि। अनि भगवानका आकृति। ट्रकहरुमा यस्ता दृष्य सामान्य लाग्छ हामीलाई। सधैं जो देखिरहेका छौं।


 'ट्याटुड ट्रक्स अफ नेपाल' फिल्मबाट स्निप गरिएको दृश्य।


ट्रकलाई किन यसरी झकिझकाउ हुनेगरी सजाइन्छ त? हजारौं रुपैयाँ खर्चेर किन आफ्नो ट्रकमा 'ट्याटु' भर्छन् मानिसहरु?

करिब ५७ वर्षअघि काठमाडौं-भीमफेदी-हेटौंडा-नारायणगढसम्म ट्रकमा बसेर यात्रा गरेका रनको मथिङ्गलमा यिनै प्रश्नको उत्तर खोज्ने हुटहुटी जागिरहेको थियो।

त्यही क्रममै हो सन् २०१६ मा एक अनलाइन पोर्टलमा रनले एउटा कथा पढे। कथा थियो ‘ट्रक’ कै। ट्रक सजाउने र रंग्याउनेहरुको। ट्रकमा साहित्यिक शब्द भर्नेहरुको। अर्थात् बनेपाका ‘लरी लट्रेस्ट’हरुको।

युनिभर्सिटी अफ क्यालिफोर्निया, स्यानडियागोमा कला र थिएटर अध्यापन गराउने रनलाई ट्रकको कथा ‘इन्ट्रेस्टिङ’ लाग्यो। नेपालमा रहँदा ट्रकमा यात्रा गरेको सम्झे। त्यसैले नेपालमा भएका केही साथीहरुलाई सुनाए आफ्नो चाहना - ट्रकबारे फिल्म बनाउने।

नेपालमा रहेका रनका साथी सुदर्शन कार्कीले बनेपामा ट्रकमा चित्र बनाउनेहरुलाई चिनेका रहेछन्।


हर्न प्लिजका लागि तस्विर खिच्दै सुदर्शन कार्की।


अब अरु के चाहियो र? रन छैठौं पटक क्यालिफोर्नियाबाट हानिए काठमाडौं।

पाँच हप्ता बनेपा र काठमाडौं वरिपरिका राजमार्गमा बिताए। ट्रकका दृश्य खिचे। साथ दिए कार्कीले।

‘त्यो निकै अचानक भयो। कसैले सोचेका थिएनन् ट्रकमा पोतिने चित्रहरुका बारेमा फिल्म बन्छ भनेर। तर, चित्र र थिएटरमा लगाव भएका कारण मलाई त्यसले खिच्यो। केही नयाँ गरौं जस्तो भयो,’ पहिलोपोस्टसँगको कुराकानीमा रनले भने, ‘यहाँ आएपछि ट्रकमा लेखिएको, रंगिएको सबै कुराहरु हामीले बुझ्न पर्छ भन्ने महसुस भयो।’

पछिल्लो पटक नेपाल बसाईको क्रममा उनले जति ट्रकसँग सम्बन्धित व्यक्तिसँग कुरा गरे, एउटै समानता पाए। त्यो हो - 'आफ्नोपन'।


रन र सुदर्शन कार्की। 


'हामीलाई हेर्दा सामान्य लाग्न सक्छ। तर यो त ट्रकप्रति उनीहरुको अगाध माया हो,' उनले भने, 'यसले धर्मलाई मात्रै होइन। विश्वलाई जोडेको छ। खेललाई जोडेको छ। संगीतलाई जोडेको छ।' यस्ता दृष्य अरु मुलुकमा बिरलै देख्‍न पाइने सुनाए उनले।

ट्रकमा कोरिएका दृश्य र लेखिएका शब्दले मात्रै उनलाई तानेन। ट्रकमा झुण्ड्याइएका जुत्ता, पिपलका आकृति ती सबैले केही न केही अभिव्यक्त गर्न खोजेको उनको ठम्याइ छ।

'ती सबै कुराले ट्रकलाई जीवन दिएको छ। ५० वर्षअघि शिखहरु ट्रक चलाउँथे। केही नेपालीहरु उनीहरुको सहायक हुन्थे। त्यस बेला पनि 'बम्पर्स' यसरी नै जुत्ता झुण्डाइएको हुन्थ्यो। अहिले प्राय ट्रकमा त्यो हुन्छ,' उनले भने।

बनेपामा रहँदा एक ट्रक ड्राइभरले उनलाई जुत्ता राख्नु र जुत्ताको आकृति बारे बुझाए : त्यसको सडकमा अर्थ मसँग निहुँ खोजे त्यही जुत्ताले हिर्काउँछु भन्ने हो। ठट्यौलीको पारामा!


सन् २०१७ मा राजपथमा ट्याटुड ट्रक्स अफ नेपाल छायंकनका क्रममा रन।


ट्रकले मानिसलाई धर्मसँग जोडेको समेत बताउँछन् रन। 'यो धर्मप्रतिको आस्था हो। ती आकृतिले गुड लक ल्याउँछ भन्ने उनीहरुको विश्वास हो। त्यो आर्टमात्रै होइन। आस्था पनि हो,' उनले भने।

त्‍यही 'आर्ट र आस्था'को खोजीले पाँच वर्ष लगाएर 'ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज ?' बनेको बताउँछन् रन।

'भूकम्पपछिको अवस्था थियो। पाँच हप्तासम्म मैले धेरै ठाउँ घुमे। जति सकेको रेकर्ड गरेँ। म फर्किएपछि सुर्दशनले सबै काम गरे। थानकोट पुगेँ। इन्टर्भ्यू लिएँ। हप्ता हप्तामा भिडियो पठाएँ। अहिले आएर फिल्म पूरा भयो। खुशी छु,' उनले भने।


 'ट्याटुड ट्रक्स अफ नेपाल' फिल्मबाट स्निप गरिएको दृश्य।


यो फिल्म नेपालीका लागि आफ्नो तर्फबाट उपहार भएको बताउँछन् रन। साथै यसबाट विदेशीहरुले नेपालबारे थप बुझ्नसक्ने उनको दाबी छ।

'नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा रुपमा सुन्दर त छ नै। तर यो फिल्म हेरिसकेपछि जब कोही विदेशी नेपाल जान्छन् तब उनीहरुले ट्रकलाई पनि नोटिस गर्नेछन्। मेरो उद्देश्य नेपाललाई बाहिर चिनाउनु नै हो,' रनले भने।

उनले आफ्नो फिल्मले ट्रक साहित्य र ट्रकलाई सजाउन लगाइने सामाग्रीमा लगाइएको प्रतिबन्धबारे पनि कुरा उठाएका छन्। साथै, भारत र चीनसँग रेल संजाल निर्माण भएपछि ट्रकको व्यवसायमा पर्ने असरबारे पनि उल्लेख गरेका छन्।

'जे होस्। यो फिल्मले नेपालको ट्रकको कथा भावी पुस्ताले पनि हेर्न पाउँछन्। भोलि के हुन्छ थाहा छैन। तर त्यो नेपालको एउटा परम्परा हो,' उनले भने।


सन् १९६५ मा काठमाडौंमा खुलेको सम्भवत पहिलो आइसक्रिम पसलमा आइसक्रमि खाँदै रन र साथीहरु।


कसरी जुध्यो : ‘ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज’ नाम ?

फिल्म तयार त भयो। तर नाम के राख्ने? यसबारेमा धेरै चर्चा भयो। रनले आफ्ना नेपालका साथीहरुसँग पनि सुझाव मागे।

'फिल्म हर्न', 'हर्न प्लिज' सुरुवाती सुझाव थिए। अनि आयो 'पेन्टेड ट्रक्स अफ नेपाल' नाम।

सुन्दा राम्रै लाग्यो। तर, त्यसले ट्रकसँगको आत्मियता प्रस्तुत गर्न सकेको थिएन। रनकी श्रीमतीले अनि नाम सुझाइन : ट्याटुड ट्रक्स अफ नेपाल।

पेन्ट गरिएको कुरा कसरी ट्याटु हुन्छ त?

निकोलाले भनेको कुरा सम्झँदै रनले जवाफ दिए- 'इट्स मोर पर्सनल'।

निकोला नै फिल्मको सहलेखन र सहनिर्माण गरेकी हुन्।


सन् १९७३ मा पोखरामा रन। त्यसबेला लामो कपाल पाल्ने फेसन थियो।


'जसरी हामी शरीरलाई माया गरेर आफूलाई मन परेको कुरा ट्याटु बनाउँछौं,' रनले रोचक शैलीमा सुनाए, 'ट्रक ड्राइभरहरुले पनि त्यही गरेका हुन्। उनीहरुले ट्रकलाई आफ्नो ठानेर त्यसमा रंग भरेका हुन्। सजाएका हुन्। जसरी हामी ट्‍याटुको हेरचाह गर्छौं। त्यहरी नै उनीहरु आफ्नो ट्रकमा कोरिएको चित्रलाई माया गर्छन्।'

हर्न प्लिज चाहिँ किन नि?

रन मुस्कुराए।

'हामी जति ठाउँमा गयौं। जति ट्रकमा बस्यौं। ड्राइभरहरुले ठूलो आवाजमा हर्न बजाउँथे। हामीलाई अच्चम लाग्थ्यो। जब मैले यो नाम सुनाए। नेपालका साथीहरु हाँसे। तर अन्तिममा यही भयो - 'ट्याटुड ट्रक्स अफ नेपाल: हर्न प्लिज'

कथा अझै बाँकी छ …

पहिलोपटक नेपाल आएर २५ वर्षको उमेरमा रन अमेरिका फर्किए। ८० वर्षको उमेरमा उनले नेपाललाई कोसेली दिए ट्रकको फिल्म।

'म बिसर्न सक्दिँन। धेरै कुराहरु छन्। मैले त्यहाँ जति समय बिताएँ सबै यादगार छन्,' उनले भने।

सन् १९७२। क्रिससमको समय थियो। रन फेरि काठमाडौं आए। उद्देश्य अलि भिन्न थियो। सँगै थिइन् गर्लफ्रेन्ड मार्था। केही पहाडी र हिमाली क्षेत्रको ट्रेकिङ गरे उनीहरुले। आफूले पढाएको विद्यालय हेर्न भरतपुर गए। नेपालमै जीवनले नयाँ मोड लियो।


रन आफ्नो दाई छोरा एन्ड्रिउ र टिमका साथमा।


गर्लफ्रेन्ड लिएर नेपाल घुम्न आएका रनले यतै विवाह गरे। काठमाडौंमा अमेरिकी पिस क्रप्सका एक अधिकारीको घरमा बिहे भएको थियो।

विवाह समारोहमा नेपाली साथीभाइहरु समेत निम्तालु थिए। नेपालीहरु उनीहरुको विवाह देखेर अचम्म परेको सम्झन्छन् रन।

‘हाम्रो विवाह १० मिनेटमै सकिएको थियो। नेपाली विवाह दुई तीन दिसम्म चल्थ्यो। रमाइलो हुन्थ्यो। हाम्रो १० मिनेटमा सकिँदा साथीहरु अचम्ममा परे,’ रनले सुनाए।

विवाह गरेर केही दिनको बसाई पछि रन फेरि पर्किए। तर, नेपालसँगको सम्बन्ध टुटेन।

सन् २००९ क्रिसमसकै बेला रन फेरि नेपाल आए। यसपटक रनको जीवन साथी भने फेरिएकी थिइन्। रनले निकोलासँग दोस्रो विवाह गरेका थिए। सधैं झै ट्रेकिङ गए। लाङटाङ, अन्नपूर्ण बेस क्याम्प पुगे। काठमाडौंका गल्ली घुमे। रनलाई लाग्यो - नेपाल त हेर्नै पर्ने ठाउँ हो। छोरालाई पनि घुमाउन ल्याउनुपर्छ।

छोरालाई घुमाउन त एक बहाना न थियो। नेपालका साथीहरुसँग भेटघाट गर्नु भित्री उद्देश्य।

निकोलासँग आएका उनी घान्द्रुक पुगेका थिए। घान्द्रुकमा जाँदा उनीसँग रहेका ‘पोर्टर’ दावाले धेरै साथ दिए। दावाको घर थियो – छुम उपत्यका, गोरखा।

अर्को पटक छोरासँग ट्रेकिङ गर्दै आरुघाट हुँदै छुम उपत्यका पुगेको सम्झन्छन् रन। त्यसपछि लगातार ३ वर्ष नेपाल आए। नेपालका विभिन्न जिल्ला घुमे। जहाँ जान्थे सम्झन्थे – २३ वर्षको हुँदाको नेपालको यात्रा। ट्रकको यात्रा सम्झन्थे। त्‍यही बेला खिचिएका कतिपय भिडियो अहिले रनले आफ्नो फिल्ममा समावेश गरेका छन्।


पिस क्रप्समा भोलन्टियरका रुपमा नेपाल आएका रन चितवनको एक बजारमा कपाल कटाउँदै।


नेपालमा आउँदा उनले 'मिस' गरेको भनेको एउटा कुरा रहेछ। त्यो भनेको रेडियोमा गुञ्जने गीत।

'पहिला रेडियो नेपाल मात्रै थियो। हामी जहाँ पुग्थ्यौं रेडियो नेपाल गुञ्जिरहेको हुन्थ्यो। गाउँ शहर एउटै सबै ठाउँ एउटै धुन हुन्थ्यो,' उनले त्यतिखेरको नेपालको सन्दर्भ सुनाए।

उनलाई लागेको पछुतो चाहिँ एउटै रहेछ - त्यो बेला रेकर्डर नहुनु। गीत संगीत रेकर्ड गर्न नपाउनु।


सन् १९६५ मा चितवन हाई स्कुलमा पढाउँदै रन।


'सबै गीत गाउँदै हुन्थे। ट्रेकिङ रुटमा पनि गीत गाउँदै हिँडेथे। शहरमा गीत गाइन्थ्यो। अहिले भने ट्रेकिङ रुटमा गीत गाउँदैनन्। त्यो मिस गरेको छु,' फेरिएको प्रचलनबारे उनले भने।

‘ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज’ केही फिल्म फेस्टिभलमा छनोट हुन सफल भएको छ। जसबाट उनी निकै उत्साहित पनि छन्। अनि फेरि नेपाल आउने चाहना पनि जिवितै छ।

'अहिले पेन्डमिकले सताइरहेको छ। यहाँ मास्क लगाउन मानिरहेका छैनन्। भ्याक्सिन लगाइरहेका छैनन्। तर यो पल पनि बित्छ। फिल्म फेस्टिभलका लागि आउँछु। ट्याटुड ट्रक्स अफ हर्न प्लिज लिएर,' उनले मुस्काउँदै आफ्नो योजना सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell