
काठमाडौं: सिनेमा हलहरुमा 'म यस्तो गीत गाउँछु २' रिलिज हुने पक्का भइसकेको थियो, रिलिज हुने दिन तोकिएको थियो - २०७६ फागुन ३० गते। तर फिल्म प्रदर्शन हुन सकेन।
कारण - कोरोना संक्रमणसँगै सरकारले हल बन्द गर्नु भनी दिएको निर्देशन।
'म यस्तो गीत गाउँछु २' टिमको दाबीलाई मान्ने हो भने यो फिल्म प्रचारको लागि मात्रै ५० लाखसम्म खर्च भइसकेको थियो। प्रदर्शन हुन ठीक्क परेको समयमै हलमा ताला ठोकेपछि प्रचार रकम बालुवामा पानी खन्याए झैं भयो।
अहिले फिल्म होल्डमै छ। फिल्ममा भएको लगानी फ्रिज भएको छ। हलको ताला कहिले खुल्ने हो, दिन महिना वर्ष गन्दै बस्न थलेका छन् निर्देशक सुदर्शन थापा। 'कोरोना आएको दुई वर्ष हुन लागि सक्यो। फिल्मको लगानी त्यतिकै फ्रिज भएर बसेको छ। कति घाटा लाग्यो भन्ने लेखाजोखा नै छैन। ब्याज तिर्नसमेत गाह्रो छ। फेरि कोरोनाको तेस्रो लहर आइसक्यो अब हल कहिले खुल्छ भन्ने टुङ्गो छैन,' निर्देशक थापाले भने।
फूलमान बल निर्देशित फिल्म 'निरफूल' ले पनि रिलिज मिति तय गरिसकेको थियो। धैरैपटक रिलिज मिति सारेको यस फिल्मले २०७६ फागुन ३० गते रिलिज मिति तोकेको थियो। तर, सोही मितिमा 'म यस्तो गीत गाउँछु २' रिलिज हुने भएपछि निर्माण पक्षले ७ चैतमा फिल्म रिलिज गर्ने योजना बनायो।
तर फिल्म रिलिज हुन सकेन। 'निरफूल' को प्रचारको लागि करिब ३० लाख खर्च भइसकेको निर्माण पक्षले दाबी गरेको छ।
किरण केसी लगायतको लगानी रहेको फिल्म 'लक्का जवान' २१ चैतमा रिलिज हुने तय भएको थियो। तर, कोरोना महामारीकै कारण फिल्म रिलिज हुन सकेन।
निर्माता अर्जुन कुमारको फिल्म ‘चपली हाइट ३’ २०७६ को चैत २८ मा रिलिज हुने तयारीमा थियो। कोरोना दोस्रो लहर आउनुभन्दा अघि भदौ वा असोजमा फिल्म रिलिज गर्ने सोच निर्माण कुमारले बनाएका थिए। तर कोरोनाको दोस्रो लहरले त्यो सोच पुरा भएन।
निर्देशन सन्तोष सेनले पनि ठुलै लगानीमा फिल्म 'प्रेमगीत ३' बनाए। २०७६ चैत २८ लाई नै रिलिज डेट तय गरेको यो फिल्म पनि कोरोनै चपेटामा पर्यो।
यी फिल्महरु कोरोना चपेटाले प्रदर्शनमा उत्रन नपाएका प्रतिनिधि घटना हुन्। चलचित्र विकास बोर्डले राहतका लागि प्रभावित चलचित्रको सूची माग्दा ६५ वटा चलचित्र प्रभावितको सूचीमा चढिसकेको छ। प्रतिक्षित भनिएको - हिजो आजका कुरा, पानी फोटो, माइकल अधिकारी, लप्पन छप्पन २ लगायतका फिल्म उक्त सूचीमा थिए।
कोरोना संक्रमणको तेस्रो लहरको त्रास बढ्दो छ। उपत्यकामा पनि संक्रमण दर बढ्दो छ। यसबिच अहिले नै फेरि सिनेमा हल खुलिहाल्ने अवस्था पनि छैन।
विकल्प के?
कोरोना संक्रमणका कारण विश्वभर मनोरन्जन क्षेत्र प्रभावित भएको छ। संक्रमण न्यून रहेको स्थानमा सिनेमा हल खुलेका छन् भने कतिपय स्थानमा दर्शकको संख्या कटौती गरेर हल खुल्न दिइएको छ। भारतमा समेत कतिपय राज्यमा अहिले हल बन्द छन् भने केहीमा सीमित दर्शक राखेर सिनेमा हल संचालन भइरहेका छन्।
महामारीको यस अवधिमा हलिउड र बलिउडका फिल्महरु पनि रिलिज हुन पाएनन्। बहुप्रतिक्षित भनिएका केही फिल्म अझै 'होल्ड'मा छन्। तर, धेरैजसो फिल्मले सिनेमा हल खुल्ने मिति कुरेनन्। हलिउड र बलिउडका धेरै चलचित्र 'ओभर द टप' (ओटीटी) प्लाटफर्ममा रिलिज भए। महामारीको समयमा सिरिजले समेत दर्शकलाई आकर्षित गर्न सफल भयो। केही फिल्मले राम्रै कमाइ गरे। केहीले घाटा ब्यहोरे।
पछिल्लो समय नेपालमा पनि भित्रिएको छ ओटीटी संस्कृति। नेट टिभी, सिनेमाघर यसका उदाहरण हुन्। तर, ती ओटीटीमा भरलाग्दो देख्दैनन् निर्देशकहरु।
निर्देशक थापा हल कुर्नुबाहेक विकल्प नरहेको बताउँछन्। ओटीटीबाट आउँदा लगानी उठ्ने सुनिश्चित नभएको उनको दाबी छ।
'नेपालमा दुईतीन वटा मात्रै ओटीटी प्लेटफर्म छन्। तिनको बजार पनि छैन। ओटीटीमा ३ करोड लगानीको फिल्म दिँदा भोलि दश हजार मात्र उठ्यो भने के गर्ने? पाइरेसी भयो भने के गर्ने? कम्तिमा रिलिज गर्न पनि सुरक्षित ठाउँ त चाहियो नि,' थापा भन्छन्।
ओटीटी प्लेटफर्म खोलेर फिल्म रिलिज गर्नुमात्रै ठुलो कुरा नभएको उनको तर्क छ। बरु खुलेका प्लेटफर्मले सिनेमा किनेर निर्माताहरुको लगानी सुरक्षित गर्न सक्नुपर्ने उनी बताउँछन्।
'कि विदेशमा जसरी हाम्रो फिल्म किन्न सक्नु पर्यो। तर उहाँहरुले किन्न सक्नुहुन्न। नेपालमा जति नै भरपर्दो प्लेटफर्म आए पनि सिनेमा नकिनेसम्म हामीले पनि दिने कुरा आउँदैन।'
शिवहरी पौडेलको निर्देशन रहेको फिल्म 'लक्का' जवान' को रिलिज मिति अहिलेसम्म तय हुन सकेको छैन। कलाकार तथा निर्माता किरण केसी पनि ओटीटी प्रति सशंकित सुनिए।
'ओटीटीमा लाने विचार पनि गरेको हो। तर चलेन भने के गर्ने? प्रचारप्रसार गरेर हलमा रिलिज गर्दा अलिकति फिल्म चल्ने सम्भावना हुन्छ। तर ओटीटीमा जोखिम बढी हुन्छ' केसीले भने, 'त्यसैले अहिलेको अवस्थामा पर्ख र हेर बाहेक केही सम्भावना छैन।'
‘प्रेम गीत ३’ का निर्माता र निर्देशक सन्तोष सेनका लागि भने कोरोना महामारी मौका बन्यो -'होल्ड' मा रहेको फिल्मलाई थप माझ्ने।
फिल्म पोस्ट प्रडक्सनको लागि भारत गएका उनले बलिउड क्षेत्रको गतिविधि नियाल्ने अवसर पाए। फलरुवरुप स्व. छेतेन गुरुङ निर्देशित नेपाली फिल्म ‘प्रेम गीत ३’ लाई पनि हिन्दी भाषामा रिलिज गर्ने योजना बन्यो।
तर, फिल्म रिलिज हुन सक्ने वातावरण देखेका छैनन् सेनले।
'प्रेमगीत ३' को ९० प्रतिशत काम सकिसकेको बताउने सेनले नेपालमा ओटीटीको पहुँच नै नभएको दाबी गर्छन्।
भने, 'नेपाली दर्शकको ओटीटीमा पहुँच नै छैन। नेपालमा धेरै लगानी भएको फिल्मलाई ग्यारेन्टी दिएर जोखिम मोल्न सक्ने ओटीटी नै छैन। कम्तीमा पनि ओटीटीले ५० प्रतिशत न्युनतम ग्यारेन्टी दिन सक्नुपर्छ।'
तर, विकल्पको रुपमा अन्तर्राष्ट्रिय प्लेटफर्ममा जानेबारे आफू सोचिरहेको बताउँछन् सेन।
'लगानी सुरक्षित भए अन्तर्राष्ट्रियमा जान सोच बनाइरहेको छु' भन्छन्, 'फिल्मको काम सम्पन्न हुने बित्तिकै हलको सट्टा अन्तर्राष्ट्रिय स्तरमा विकल्प भने सोच्ने छु। भारतबाट पनि रिलिज गर्दा नेपालको पनि विश्वभर मार्केट छ भनेर देखाउन सकिन्छ।'
निर्देशक फूलमान वल नेपालमा ओटीटीमा जान सम्भव नहुँदा अन्तर्राष्ट्रिय प्लेटफर्ममा जानेबारे सोच्नुपर्ने सुनाउँछन् ।
'अन्तर्राष्ट्रिय प्लेटफर्ममा कसरी जान सकिन्छ भनेर सोचिरहेको छु। तर निर्णय लिइसकेको अवस्था भने छैन। अहिले कमाउने वतावरण छैन। लामो समय यसरी नै बित्यो भने विकल्प भने सोच्नुपर्छ। किनकी दर्शकहरुको बानी परिवर्तन भइसकेको हुन्छ,' उनले भने।
के भन्छन् ओटीटी प्लेटफर्म सञ्चालक?
कोरोना महामारीले धेरैलाई 'डिजिटल लाइफ' बिताउन बाध्य बनायो। विश्वमा डिजिटल तथा ओटीटीतर्फ दर्शक निकै आकर्षित भए। कोरोना महामारीबिच नेपालमा पनि डिजिटल प्लेटफर्मको विकास भयो। जसमध्ये एक हो, 'सिनेमाघर' एप।
'सिनेमाघर एप' लाई अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको समूहले सुरु गरेका हुन्। फिल्म मेकरहरुले भने झैं नेपाली ओटीटी प्लेटफर्महरूले नयाँ फिल्म किनेर रिलिज गर्ने अवस्था नरहेको खगेन्द्र स्विकार्छन्।
'हाम्रो फिल्मको पनि बजार सानो छ। भर्खर त एप सुरु गरेका छौँ। एप बनाउन नै चार वर्ष लागेको हो। यो एप निकै सुरक्षित छ। हाम्रो नेपालमा नयाँ सिनेमा डिजिटल एपबाट रिलिज हुने चलन खासै बनिसकेको छैन। फिल्म मेकरले भने जसरी धेरै पैसा दिएर रिलिज गर्न सकिरहेका छैनौँ। यो एकदम सत्य कुरा हो। तर छिट्टै नयाँ फिल्म पनि रिलिज गर्ने तरखर गरिरहेका छौँ' उनले भने।
भारतमा ठुलो जनसंख्या भएको र सिनेमाको कल्चर राम्रो हुँदा ओटीटीको विकास छिटो हुनु स्वभाविक नै रहेको उनको तर्क छ।
नेपालमा भने पैसा तिरेर फिल्म हेर्ने दर्शकहरुको बानी नै नभएको उनी बताउँछन्।
भने, 'नेपालमा युट्युबमा फ्रिमा सिनेमा हेर्ने चलन छ। फ्रि हेर्ने दर्शकलाई पैसा तिरेर हेर्न बनाउन अलि समय लाग्छ। तर विस्तारै पैसा तिरेर फिल्म हेर्नेको संख्यासमेत बढ्दो छ।'
सञ्चालकको हिसाबले पनि आफू एपमै नयाँ फिल्म रिलिज गर्ने वातावरण कसरी बनाउन सकिन्छ भनेर लागिरहेको उनले सुनाए। तर अहिले नै नयाँ फिल्मलाई करौडौँ पैसा तिरेर किनेर रिलिज गर्न नसकिने उनले बताए।
लामिछानेको पहिलो निर्देशन रहेको फिल्म 'पानी फोटो' ३० साउन २०७७ रिलिज हुने कुरा थियो। तर कोरोना आएसँगै उनकै फिल्मसमेत 'होल्ड'मा छ। करौडौं लगानी रहेको फिल्म एपबाट उठ्न सक्ने अवस्था नभएका कारण फिल्म रिलिज गर्न नसकेको उनले बताए।
चलचित्र विकास बोर्डको कुरा यस्तो
अहिलेको अवस्थामा नेपालमा ओटीटी प्लेटफर्ममा नै नयाँ फिल्म रिलिज हुन सक्ने अवस्था नरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउँछन्।
भन्छ्न 'कोरोना महामारी आएपछि मात्रै ओटीटी चाहिदो रहेछ भन्ने थाहा भएको हो। त्यसैले ओटीटीको विकास हुन केही समय लाग्छ। तर पहिले हामीले जो सिनेमा हल छ्न तिनीहरुलाई नै पुनर्स्थापित गर्नुपर्छ। किनकी चलचित्र क्षेत्रलाई आजसम्म सिनेमा घरले नै बचाएको हो। त्यसैले सिनेमा हललाई पहिलो प्राथमिकता दिँदै पुन सन्चालन गर्नुपर्छ।'
बोर्डले ओटीटी प्लाटफर्मलाई दिगो र भरपर्दो कसरी बनाउन सकिन्छ भनेर भित्र बहस र छलफल चलाईरहेको समेत उनले बताए।
साथै कोरोना महामारीको प्रभावले रिलिज हुन बाँकी रहेका फिल्मलाई राहत प्रदान गर्न सरकारसँग मागसमेत गरेकोसमेत उनले सुनाए।