PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

१२ वर्षपछि जुरेको एउटा यात्रामा अनायसै लागेको ब्रेक, आखिर त्यो अनित्य त थियो…



ऋषिकेश दाहाल

१२ वर्षपछि जुरेको एउटा यात्रामा अनायसै लागेको ब्रेक, आखिर त्यो अनित्य त थियो…

असार १६ गतेको साँझ। छोरोको १३ औं जन्मदिन मनाएर रमाइलो गरिरहँदा म्यासेज आयो – योर रिपोर्ट अफ कोभिड १९ इज रेडी।

ए! सोचेभन्दा चाँडै पो आएछ त।

मोबाइलको संकेतपछि चलिरहेको रमाइलो छाडेर तलतिर ओर्लिएँ – कम्प्युटर अन गरेँ। म्यासेजमा आएको लिङ्कको युआरएल ब्राउजरमा पेस्ट गरेँ। रिपोर्ट – पोजेटिभ।

कसरी पत्याउनु? न कुनै लक्षण न संकेत नै।

ह्या! यस्तो पनि हुन्छ?

हाँस्दै सुनाएँ – ए मलाई त कोरोना पो छ रे!

पत्याउन तयार कोही भएन। घरमा औषधि खाइरहेका बावु-आमा। पहिलो चरणको खोप लगाएर दोस्रोको तीब्र प्रतीक्षामा बसेकै ३ महिना कटिसकेको। श्रीमती त खोप लगाउने बर्गीकरणबाट बाहिर। छोरो भर्खर किशोरावस्था टेक्दै गरेको।

मैले आफूलाई पोजेटिभ देखिएको बताउँदा कसैले पनि पत्याउने कुरै थिएन।

कोभिड संकेत देखाउने तीनवटा सूचकहरुमा सीटी भ्यालु क्रमश: १८ देखि १९ को बिचमा। अर्थात् मबाट जोखिम छ – अरुलाई सर्ने।

लाग्यो – रिपोर्ट 'फल्स पोजेटिभ' हुनुपर्छ।

नेपालका ल्याबको के भर गर्नु हो? मेरो नाक र घाँटीबाट लिइएको स्वाब अरू कसैकोसँग त साटिएन?

राति निन्द्रा बिथोलिनुको कुनै कारण थिएन। भोलि फेरि टेस्ट गर्ने – रिपोर्ट सच्चिएर आउला अनि यात्रा सुनिश्चित।

बिहानै अर्को ल्याबमा पुगेँ र एन्टिजेन टेस्ट गर्न भनेँ।

१५ मिनेटमा सबै काम सकियो। रिपोर्ट नेगेटिभ।

अब कुन रिपोर्टलाई पत्याउँ? हिजो पीसीआरमा जति सीटी भ्यालु देखाएको छ त्यसको आधारमा एन्टिजेनमा नेगेटिभ त आउन नपर्ने!

मेरो यात्राको पहिलो आधार पीसीआर परीक्षण नेगेटिभ हुनुपर्ने भएकाले निर्धक्क फेरि परीक्षणका लागि स्वाब दिएँ। घर फर्किएँ।

जुलाई १ मेरा लागि विशेष दिन थियो। लामो समयको मेहनतपछि तय भएको मिति। तर, अघिल्लो दिन कोभिड १९ को पोजेटिभ रिपोर्टले त्यो मेहनत के होला?

'रिपोर्ट हात लागोस्, बेलुका ८ बजेसम्म भए पनि पुग्ने अवस्था मिलाउँछु।'

आश्वासनका शब्दहरु आफैँमा शितल गराउने खालको थियो। कुनै लक्षण र संकेतहरु नभएकाले मनमा रत्तिभर विश्वास थिएन। फल्स पोजेटिभको दोस्रो परीक्षणले जे देखाउँछ त्यसलाई मान्नुको विकल्प थिएन।

बिहानै परीक्षणका लागि छाडेकाले उज्यालो रहँदै अघिल्लो दिनको जस्तै संदेश बज्यो। फेरि पनि पोजेटिभ। तर, सीटी भ्यालु २६ भन्दा माथि! एक दिनमा कति अन्तर? अन्तर सायद परीक्षण हुने मेसिन वा केमिकल अनुसार फरक फरक आयो होला। एकातिर तय भएको यात्रा निषेधित बन्यो। अर्कोतिर घरका अरु सदस्यमाथि के होला?

बेडरुममा छिरेँ। एकटकले हेरेँ – सुटकेसमा अटाइएका लत्ताकपडा। सुटकेस खुलेको खुल्यै रह्यो। अवरुद्ध रह्यो यात्रा।

+++

सन् २०१० जनवरी १।

पहिलो पटक विपश्यना ध्यान सिविरको यात्रामा म। साथी उमेश श्रेष्ठ पनि सँगै। सँगै गए पनि उमेश र म नौ दिन कहिल्यै आमने सामने भएनौं – एकै हलमा रहे पनि, एउटै मेसमा खाना खाए पनि।

साथी कृष्ण ढुंगाना र उमेशको लहलहैमा तय भएको थियो त्यो यात्रा। विपश्यना ध्यान र त्यसका आधारभूत ज्ञान त साथीहरुको संगतले दिइसकेको थियो। त्यहाँ पालना गर्ने नियमबारे पहिल्यै जानकारी। त्यसैले लहलहैमा जुटेको १२ दिनको त्यो अनौठो यात्राले फेरि फर्किने आधार तयार गरेको थियो।

आउँदो जनवरीमा १२ वर्ष पूरा हुन लागेको थियो धर्मसँगको पुन: साक्षात्कार। बिचमा तीन दिवशीय र एक दिवशीय सिविरहरुमा सहभागी भए पनि आफ्नो अन्तर्मनको दश दिने आधारभूत यात्रा नदोहोरिँदा लागिरहन्थ्यो – कतिपय कुराहरु छुटाइरहेको त छैन?

छेपाराको उखान बनिरहेको थियो – फेरि जाने विषय। यसबिच धेरैखाले उतारचढाव जारी रहे – अपेक्षित र अनपेक्षित पनि। सबै ठीकै चलिरहेको थियो। सबै ठीक चलिरहनुको अर्थ – वास्तवमा सबै ठीक भन्ने पनि नहुने। अथवा यो ठीक र बेठीक बिचको भेद पनि कसरी खुट्याउनु? अरुले देख्दा सबै गजब तर कति पानीमा छु आफूलाई सहजै थाहा हुने।

साथीहरुको लहलहैमा ध्यानमा खिचिनुले सिकाएको थियो – कमजोरी स्वीकार्न। नदोहर्‍याउन प्रतिवद्ध हुन र कुभलो नगर्न। त्यसैले नियमित नहुँदा नहुँदै पनि एक किसिमले बाँधेकै थियो।

१२ वर्षमा खोला फर्किन्छ भने झै यसपाला खोला फर्किँदै थियो। अनायास रिपोर्ट आयो – पोजेटिभ।

+++

'टाउको कति दुख्या छ? ज्वरो नि? अक्सिजन लेभल हेरिरहनु है नत्र अस्पताल जानु पर्छ। अनि घरमा अरुलाई के छ?' सुझाव र प्रश्नहरु एकैसाथ आउन थाले नियमित।

आफ्नो कोठा एकाएक आइसोलेसनमा रुपान्तरण भयो। म संकेतको प्रतीक्षामा रहेँ – कोभिड १९ को। अह! हुँदैन त केही। पाँच दिन यसैगरी बित्यो। मास्क लगाएर कौसीमा छोरोसँग फुटबल खेल्नु, बोट विरुवासँग भुल्नु दैनिकी बन्यो। स्वाद यथावत छ। खाना रुचेको छ। ज्वरोको नामो निशान छैन। खोकी, न रुघा।

पहिलो चरणमा खोप लिइसकेकाले हुनुपर्छ ती संकेतहरु कुनै आएन जसले मलाई कोभिड १९ संक्रमित ठहर्‍यावस्। मलाई जसरी पनि कुनै संकेत थिएन परिवारका सदस्यहरुको परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएन। मबाट कसैमा संक्रमण सरेन।

पाँच दिनपछि नियमित काममा जान सुरु गरेँ – आइसोलेट भएर काम गर्न मिल्ने भएकाले। विपश्यना जानु थिएन भने – मैले परीक्षण नै गर्ने थिइनँ। संक्रमित हुने नै थिइनँ। कस्तो विरोधाभाष! दुई सातापछि डाक्टरकहाँ गएँ।

'सबै ठीक छ,' एक्स–रे हेर्दै उनले भने।

'खासमा ध्यानमा जान रोकिनका लागि मात्र कोरोना लागेको जस्तो भयो डाक्ट'साव।'

'मैले पनि मिलाउन नसकेर फेरि जान सकेको छैन। दुई पटक त गइसकेको हो।'

घर नजिकैको क्लिनिकमा उपचार गर्न जुट्ने यी डाक्टर पनि विपश्यनाका साधक नै रहेछन्। उनीसँग केही बेर गफिएपछि मिति तय गरेँ - अगस्ट १।

'म अर्को महिना चाहिँ जान्छु। कसरी हुन्छ मिलाउनु पर्छ।'

'चिन्ता नलिनुस्। चाहेपछि मिल्छ,' मेरो शब्द खस्न नपाउँदै शितल दाहालको उत्तर।

विचारोत्तेजक लेखबाट विभेदका विषयलाई उधिन्न र बहसमा ल्याउन माहिर शितल आफैँमा विपश्वी। साधनामा जान खोज्नेलाई त्यहाँसम्म पुर्‍याउन हरदम लागिरहने उनको स्वभाव। स्थापित मान्यतामाथि लेखनीबाटै कठोर प्रहार गर्ने भएकाले समकालीन समाजमा चिनिएकी एक 'अराजक' लेखक। साम्प्रदायिक कर्मकाण्डी संस्कारलाई लठैत ठहर्‍याउने साधना विपश्यनाको साधक हुनुले उनी यो समाजमा अराजक देखिनु अस्वभाविक होवस् कसरी? निजी फाइदाका लागि देउतालाई भाकल गरेर निरिह प्राणीको बलि चढाउने समाजको नजरमा 'चरित्रहीन चेली'। उनैले मेरो यात्रालाई सहज बनाइन् यसपाला।

+++

विपश्यना गएर के हुन्छ? फाइदा के के हो?

धेरै दोहरिने प्रश्नको सामना मैले पनि गरेको छु। ठोस उत्तर चाहिँ मेरो ज्ञानको दायराभन्दा धेरै पर होला सायद – जवाफ दिन सक्दिनँ। म आफैँ पनि नाफा घाटा तौलेर ध्यानमा गएको थिइनँ। लहलहैमा गएँ। अनुभूति गरेँ। अनुभूतिलाई शब्दमा उतार्ने ज्ञानबाट कोशौं दुर छु अहिले पनि। अनुभूतिको वैज्ञानिकरण गर्नु पनि कसरी?

अगस्ट १०। ध्यानको दशौं दिन। ९ दिन पूरै मौन रहेका साधकहरु गफमा व्यस्त। सबैको अनुहारमा भिन्न किसिमको चमक। धर्मश्रृङ्गको परिसरमा पहिलो दिन छिर्दा देखिएका अनुहार यस दिन विल्कुलै फरक। सँगै बसे पनि, एकै मेसमा खाना खाए पनि, एकै हलमा साधनामा जुटे पनि एक अर्काको अनुहारसमेत नहेरेकाहरु यस दिन एकाएक परिचित भइरहेका थिए। अनुभूति साटासाट चलिरहेको थियो।

'यसै वर्ष ६ पटक आइसकेँ। गुरुहरुले थाहा पाउनुभए अब दिनुहुन्न होला!'

एक साधकले सुनाइरहेका थिए। उनी चिकित्सा शिक्षासँग जोडिएका रहेछन्। मानव शरीरमा इलेक्ट्रोमेग्नेटिभ वेभबारे उनले व्याख्या गरिरहेको सुनेपछि ध्यान खिच्यो। चिकित्सा विज्ञानमा पढेका कुरा विपश्यना गर्दा ठ्याक्कै मिलेपछि उनी हौसिएका रहेछन्।

'ध्यानमा अनुभूति भएको विषयलाई पुष्टि गर्न त सकिन्न तर आफूमा पुष्टि भइरहेको छ।'

उनी यसैले खिचिएका रहेछन् विपश्यनातिर। आफू पढ्दा होस् या विद्यार्थीलाई पढाउँदा, इलेक्ट्रोमेग्नेटिक वेभबारे जति जानेका थिए त्यो ध्यानमा आएपछि अनुभूतिबाट प्रस्ट भएका रहेछन् उनी। हरेक पटक आउँदा फरक ज्ञान थपिएकाले उनको विपस्वी यात्रा अविरल बन्दै गरेको सुनाए।

इन्जिनियरहरु धैरै थिए साधना गर्न आउनेमा। आधुनिक विज्ञान बुझेकाहरु धर्म विज्ञानलाई त्यसैसँग जोड्दै व्याख्या गरिरहेका थिए। हरेकको अनुभव र अनुभूति फरक सुनिन्थ्यो।

उत्पन्न हुनु र विलय हुनु प्रकृतिको नियम। त्यही नियमलाई अनुभूतिमा उतार्ने काम ध्यान। जीवन - मृत्यु, दु:ख – सुख सबै क्षणिक। यी सबैलाई समता भावले हेर्ने हो भने मार्ग खुल्यो। कुनै पनि घटनाक्रममा आत्तिन र मात्तिन नहुने यथार्थ बोध गरिरहँदा सबैभन्दा बढी प्रयोग हुने 'समता भाव' ले मलाई यसपाला बढी घोचिरह्यो जुन अघिल्लो पटक यसरी अनुभूति भएको थिएन।

शरीरमा तरङ्ग पैदा हुँदा कहिले पीडा उत्खनन् भइरहन्थ्यो त कहिले आनन्द। पीडामा नआत्तिने र आनन्दमा नमात्तिने हो भने ती दुवै विलयको बाटोमा। जन्म र मृत्यु निरन्तर प्रकृया। प्रकृतिको यही कानुनलाई सन्तुलनमा बसेर अनुभूति गर्ने हो भने दु:खबाट उन्मुक्ति। पेशागत हिसाबमा मेरो मन्थनमा यही समता भावले डेरा जमायो।

समाचार कर्म गर्दा समता भाव भयो भने के हुन्छ त?

उत्तर सहज मिल्यो – पेशागत क्रममा हुनसक्ने भावावेशहरु कमजोर हुँदै सन्तुलित बन्ने रहेछ। वस्तुनिष्ठ पत्रकारिता भनेर हामीले बारम्बार व्याख्या गर्ने शब्द मुलत: समता भाव हो भन्ने बुझाई रह्यो यसपाला। समता भाव रहनासाथ न उत्तेजना पैदा भयो न पीडा नै शब्दमा पोखियो। कसैको जित या हारका खबर तयार हुँदा समाचारमा तरङ्गित हुने भावावेश त अनित्य सावित हुने भयो। पेशागत शुद्धिकरण त यहाँबाट पनि हुने रहेछ त!

फर्किने क्रममा मलाई लिफ्ट दिने साधक थिए दीपक जोशी। उनी १५ पटक यहाँको शिविरमा बसिसकेका। फर्किने दिन मोबाइल अन हुनासाथ उनलाई भ्याइनभ्याइ। कानुन व्यवसायी उनी। फर्किदै गर्दा उनले सुनाएका थिए – जति व्यस्त भए पनि समाजलाई फाइदा हुनेगरी केही गर्ने सोचेको छु। दिनको कम्तिमा एक घन्टा समाजको फाइदाका लागि खर्चिन्छु – कानुनी परामर्श दिएर।

शिल, समाधी अनि प्रज्ञा। यसको अभ्यास र अनुभूति नै विपश्यना। शब्दले यसको अर्थ उतार्न सकिन्न, अनुभूति अनिवार्य छ। त्यसैले ध्यान शिविरका लागि दान दिन योग्य हुन पनि पहिले ध्यान नै गर्नुपर्छ।

+++

१२ दिन बाहिरिँदै गर्दा प्रश्न : लकडाउन त भइसकेको छैन नि?

'छैन। तर, गर्छन् होला – अस्पताल भरिन थालेको छ। संख्या पनि बढिरहेको छ।'

बुढानीलकण्ठको ध्यानमय वातावरणबाट फेरि कोलाहलको दुनियाँमा प्रवेश हुँदै गर्दा फरक ऊर्जा अनुभूति भइरहेको थियो। ध्यानलाई निरन्तरता दिने प्रतिवद्धता पनि। हामीलाई ध्यान सिकाउने आचार्य, सह आचार्य र सेवा दिने गुरुहरुको प्रेम अतुलनीय। बाहिरतिर पाइन्न यस्तो स्नेह।

सन्तुष्ट भएर घर फर्किँदा बा आमा दुवैले दोस्रो खोप पाइसक्नु भएछ। ध्यानमा जानु अघिसम्म नेपाल भित्रिएको थिएन खोप। लामो अवधिदेखि दोस्रोमात्र लगाउन नपाउँदा चिन्ता थियो उहाँहरुमा। यसबिचमा आइवरी उहाँहरुले लगाउन समेत पाइसक्नु भएछ।

'अनित्य हो अनित्य।'

१२ दिनमा सबैभन्दा धेरै सुनिएको शब्द। शिविरकै बिचमा कुशल व्यवसायी श्यामसुन्दर कक्षपति बितेछन्। शंकर पोखरेल मुख्यमन्त्रीबाट राजीनामा दिन वाध्य भएछन्। पटकपटक आफैँले भंग गरेको प्रतिनिधिसभामा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले जोडदार भाषण गरेछन् – सरकारको आलोचनासहित। आखिर अनित्यकै खेल त रह्यो यी सबै। विकास भएका यी घटनाक्रमले मनमा कुनै उत्साह वा दु:ख अनुभूति भएन।

'ए।'

शब्द यतिमात्र निस्कियो। साधनाका लागि प्रेरणा दिनै सबैमा नमन्। वातावरण बनाइदिने पहिलोपोस्टका सबै साथीहरुलाई धन्यवाद।

सबैको कल्याण होस्। सबैको भलो होस्।

भवतु सब्ब मंगलम्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell