काठमाडौं : अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ। आइतवार भएको बैठकपछि समितिले त्यहाँ रहेका नेपालीहरुको तत्काल उद्धारको काम थाल्न निर्देशन दिएको हो।
समितिको बैठकमा आइतवार परराष्ट्र सचिव भरतराज पौड्याल उपस्थित थिए। समितिले अफगानिस्तानमा कति नेपाली छन्? उनीहरुको अवस्था कस्तो एकिन गरी उद्धारको काम थाल्न निर्देशन दिएको हो। 'त्यहाँ रहेका नेपालीहरूलाई हवाई उडानमार्फत उद्धार गर्न सकिन्छ कि अन्य देशमा स्थानान्तर गरी उद्धार गर्न सकिन्छ तत्काल उद्धारको काम थाल्नु,' बैठकले निर्णय गरेको छ।
यसअघि बैठकमा परराष्ट्र मन्त्रालयका सचिव पौड्यालले त्यहाँ रहेका नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन भएको उनले जानकारी दिए। परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नैतृत्वमा गठन गरिएको समितिमा अन्य सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहेने उनले बताए। अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ।
काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ। उनीहरुले आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले जानकारी दिए।
पछिल्लो गत आर्थिक वर्षमा मात्र अफगानस्तानमा रोजगारीका लागि एक हजार ७३ जना नेपालीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए। जसमध्ये तीन जना महिला छन्।
२०७३/०७४ यता अफगानस्तानमा काम गर्नका लागि ६ हजार ६३७ नेपालीले स्वीकृति लिएका छन्। यस वर्षको वैशाखदेखि साउन २९ गतेसम्म ३३० जना श्रम स्वीकृति लिएर अफगानिस्तान गएको तथ्यांकले देखाउँछ।
यसैबीच समितिको आजको बैठकमा सदस्यहरुले पूर्व गुर्खाहरुले बेलायतमा समान अधिकार र पेन्सन सुविधाको माग गर्दै गरिरहेको अनसनको विषयमासमेत कुरा उठाएका थिए।
