PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

अफगानिस्तानमा रहेको नेपालीको उद्दारका लागि परराष्ट्रले गठन गर्‍यो कार्यदल



पहिलोपोस्ट

अफगानिस्तानमा रहेको नेपालीको उद्दारका लागि परराष्ट्रले गठन गर्‍यो कार्यदल

काठमाडौँः परराष्ट्र मन्त्रालयले अफगानिस्तानको काबुलमा रहेका नेपाली नागरिक फिर्ताबारे समन्वय गर्न सहसचिव स्तरको एक कार्यदल गठन गरेको छ। आइतबार मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा बसेको अन्तर मन्त्रालय समन्वयको बैठकले कार्यदल गठन गरेको हो। 

कार्यदलमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड –१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्‍कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्यहरु रहने छन्। 

सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको उद्धारका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइटबाट तथ्याङ्क संकलनको व्यवस्था पनि गरेको जनाएको छ। 

मन्त्रालयले सम्पर्कमा लागि कन्सुलर सेवा विभागको भाइबर र ह्वाट्सएप नम्बरको सेवा पनि सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख गरेको छ। 

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्ने र स्वदेश फर्काउन सहयोगका लागि पनि सरकारले मित्र राष्ट्र र नियोगहरुलाई पत्राचार गरेको जनाएको छ।

विज्ञप्तिमा अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुले त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell