काठमाडौं : नेपाली कांग्रेसका सांसद रंगमती शाहीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भागवत पुराणका धुन्धुकारी झै भएको आरोप लगाएकी छिन्।
सोमवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले धन्धुकारीले आफ्नो घर र बाहिर सबै बिगारेको प्रसंग जोड्दै पूर्व प्रधानमन्त्री ओलीलाई कली युगका धन्धुकारी भएको बताइन्।
'दुई तिहाई पाएका पूर्व प्रधानमन्त्री धुन्धुकारी नै हुनुभयो। जसले आफ्नो पार्टी र संसदभित्र धुन्धुकारीकै भूमिका निर्वाह गर्नुभयो,' सांसद शाहीले भनिन्। त्यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भने भागवत पुराणका गोर्कणको रुपमा प्रस्तुत गरेकी थिइन्।
'यो सरकारले नयाँ नक्सा छापिएको पुस्तकको वितरण रोक्दै, सांसद र सिंहदरबार छुट्याउन नसक्ने गरि बालुवाटरबाट शासन गर्दैन, ललिता निवास, ओम्नी, सत्तरी करोड भिडियो प्रकरण र वाइड बडीमा भएको घोटला प्रकरणमा आफैँ अख्तियारको प्रमुख जस्तो भएर जवाफ दिँदैन। ढुक्क हुनुस् आफूलाई निन्द्रा नलागे राष्ट्रपतिज्यूलाई रातभरि जागाराम राख्दैन। सत्ता जोगाउन पशुपतिमा जलहरी चढाउँदैन। सासंदको अपहरण पनि गर्दैन,' सांसद शाहीले भनिन्।
उनीभन्दा अगाडि बोलेका नेकपा एमालेका सांसद महेश बस्नेतले अहिलेको सरकारले काम गर्न नसकेको भन्दै जनताले केपी ओलीलाई मिस गरिरहेको सुनाएका थिए। त्यसअघि बोलेका गोकुल बास्कोटाले ओली सरकारको तारिफ गर्दै अहिलेको सरकार अफगानिस्तानमा के भइरहेको छ भन्ने समेत थाहा नपाई बसिरहेको आरोप लगाएका थिए।
