काठमाडौं : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो।
प्रतिपक्ष दलका सांसद महेश बस्नेतले प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै त्यसको बिरोध गरेका थिए।
'आज यो निर्णय गर्यो भने संसदीय इतिहासमा कालो निर्णय हुने छ। र, ढेड महिनासम्म उहाँहरुले खाली श्रद्धाञ्जली सुन्ने समय र प्रतिवेदन पेश गरेर संसदलाइ टुङ्ग्याउनु भयो। न बिजनेश दिनुभयो। न विधेयक दिनु भयो,' सांसद बस्नेतले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै भने।
त्यस्तै, उनले अहिलेको सरकारलाई 'मापसे' सरकारको संज्ञा पनि दिएका थिए। परमादेशबाट आएको सरकारभन्दा सत्तारुढ दलका मान्यहरुलाई टाउको दुखेको एक जना कलाकारले सल्लाह दिएको भन्दै अब देखि मापसे सरकार भन्ने सल्लाह दिएको बताए।
माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेकाले मापसे सरकार भएको बताएका थिए। त्यसपछि उनले सरकारलाई सम्बोधन गर्दा 'मापसे' सरकार भनेका थिए। उनले अहिलेको अदातल सेटिङमा चलेको समेत आरोप लगाए। अदालतभित्र विकृतीको चाङ भएको समेत बताएका थिए। केही वकिलले संवैधानिक निकायका न्यायधीशहरु फेर्ने क्षमता राखेको समेत उनको आरोप थियो।
