काठमाडौं: नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद गिरिराजमणि पोखरेलले तत्काल नेपालको नयाँ क्षेत्रफल घोषणा गर्न माग गरेका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद पोखरेलले नयाँ नक्सा अनुसारको क्षेत्रफल प्रकाशन नभएको भन्दै आपत्ति जनाएका हुन्।
उनले २०७७ जेठ ७ गते कालापानी, लिपुलेख र लिम्पियाधुरासमेत समेटेको अध्यावधिक नक्सा जारी भएको भए पनि नयाँ क्षेत्रफल प्रकाशन भएको बताएका थिए। ‘विद्यार्थीहरु नेपालको वास्तविक क्षेत्रफल कति हो भन्नेबारे अन्योलमा छन्,' पोखरेलले भने।
उनले नयाँ क्षेत्रफल प्रकाशन नभएकाले नक्सा जारीको औचित्य पुष्टि नभएको बताए। भने,'पुरानै भनौँ देशको अध्यावधिक चुच्चे नक्सा जारी भएको छ। नयाँ भनौँ सरकारबाट आधिकारिक घोषणा भएको छैन।'
गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा पनि उक्त विषय उल्लेख गरिएको बताउँदै कूटनीतिक वार्ताको माध्यबाट समस्याको हल गर्न सुझाव दिए।
पूर्व शिक्षामन्त्रीसमेत रहेको पोखरेलले आफ्नो कार्यकालमा ‘नेपालको भूगोल र नक्साबारे स्व-अध्ययन सामाग्री’ प्रकाशन गरेपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको भन्दै आक्रोश व्यक्त गरे।
उक्त पुस्तकमा त्रिभुवन विश्व विद्यालय अन्तर्गत भूगोलका प्राध्यापक तथा विज्ञहरु सम्मिलित टोलिले अन्तर्राष्ट्रिय मापदण्ड र प्रविधि प्रयोग गरेर नेपालको नयाँ क्षेत्रफल उल्लेख गरेको उनको भनाई छ। 'नासाको स्रोत लिएर वल्र्ड जिओडेटिक सिस्टम (डब्लूजिएस १९८४ ) प्रयोग गरेर निकालिएको निष्कर्ष अनुसार अध्यावधिक नक्सा अनुसार नेपालको पहिलेको नक्सामा ४६०.२८ वर्ग किलोमिटर क्षेत्रफल थप भएको थियो, ' पोखरेलले भने।
पोखरेलले बेलायती सेनामा कार्यरत नेपालीहरुको अधिकारका लागि लण्डनमा भइरहेको आमरण अनशनबारे पनि सरकारको ध्यानाकर्षण गराएका थिए। लण्डनमा बेलायती समकक्षी सरह सुविधाको माग गर्दै गोर्खा सैनिकहरु १० दिनदेखि अनशनरत छन्।