काठमाडौँ ः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा अधिवेशन हठात् अन्त्य गर्दै एमाले विभाजनको षडयन्त्र गरिएको आरोप लगाएका छन्। सोमबार राति वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले विभाजको षडयन्त्र एमालेका लागि मान्य नहुने बताएका छन्।
वक्तव्यमा ओलीले भनेका छन्, ‘केही समययता नेकपा एमाले र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षड्यन्त्र भैरहेको हामीले देखि भोगिरहेका छौँ। पूर्व घोषित प्रतिवद्धता विपरीत प्रतिनिधि सभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षड्यन्त्र गरिँदैछ।’
विभाजनको षडयन्त्र मान्य नहुने भन्दै ओलीले पार्टी विभाजनको प्रयासविरुद्ध लाग्न संघीय संसदका सदस्यहरुलाई ओलीले आह्वान गरेका छन्। उनले पार्टीलाई एकतावद्ध र गतिशील तुल्याउने कार्यमा लाग्न कार्यकर्तालाई अपिल समेत गरेका छन्।
राजनीतिक भूमिकामा प्रतिपक्षमा रहेको एमालेलाई पुनः नेतृत्वदायी शक्तिमा स्थापित गर्ने भूमिका निर्वाह गर्न ओलीले अपिल गरेका छन्।
आन्तरिक विवाद समाधानका लागि कार्यदलले दश बुँदे सहमतिको प्रयास गरेको पनि ओलीले स्मरण गराएका छन्।
ओलीले आफू पूर्वाग्रहमा भन्दा समभावमा विश्वास गरेर अघि बढेको पनि वक्तव्यमा जनाएका छन्। विधान संशोधनका लागि गरेका निर्णयमा तल्लो तहबाट सुझाव आउनेमा आफू आशावादी रहेको पनि ओलीले वक्तव्यमा उल्लेख गरेका छन्। विधान संशोधनको प्रक्रियामा योगदान दिन ओलीले कार्यकर्तालाई समेत आह्वान गरेका छन्।