PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

अफगानिस्तानबाट फर्किएका नेपालीको विमानस्थलमा एउटै स्वर : हामी सुरक्षित आयौं, अरु नेपालीलाई चाँडै ल्याइयोस्



पहिलोपोस्ट

अफगानिस्तानबाट फर्किएका नेपालीको विमानस्थलमा एउटै स्वर : हामी सुरक्षित आयौं, अरु नेपालीलाई चाँडै ल्याइयोस्

काठमाडौं : करिब साढे १० बजेतिर काठमाडौं विमानस्थलमा ‌ओर्लिने बित्तिक्कै डोलबहादुर गुरुङले आफ्नो परिवारलाई फोन गरे। कहिले यहाँ उत्रिनु र परिवारलाई सम्पर्क गर्नु भन्ने हतारो थियो उनमा।

आफू काठमाडौं आइसकेको जानकारी दिए। उनको त्यो खबरले परिवारलाई खुशी नबनाउने कुरै भएन। अफगानिस्तानको सत्ता तालिवानको नियन्त्रणमा गएपछि त्यहाँबाट भाग्न चाहनेहरुको ठूलो संख्या छ। ज्यान जोगाउन मुस्किल भन्दै मानिसहरु भागिरहेका छन्। बाहिरिने एकमात्र बाटो भनेको हवाई सेवा हो। काबुल एयरपोर्टमा त्यसैको असर देखिन्छ। गुड्दै गरेको विमानमा मानिस झुन्डिरहेका दृश्यले यहाँ रहेका नेपालीहरुलाई पनि अत्याएको छ। 

उतै रहेका मानिसलाई त्यहाँबाट कसरी उम्किने भन्ने त्रास, यता हुनेलाई आफन्तको पीर। यस्तै त्रासबिचमा मंगलबार बिहान डोलबहादुर गुरुङ नेपाल फर्किएका हुन्।

उनी मात्र होइन, उनीसँगै १ महिला र १ सय २६ जना पुरुष नेपाल फर्किएका हुन्। उनीहरु सबै अफगानिस्थानको अमेरिकी दूतावासमा कार्यरत थिए। दुई दिन लगाएर अमेरिकी दूतावासले त्यहाँ काम गर्ने सबै नागरिकलाई फिर्ता पठाएको हो। त्यही क्रममा मंगलवार १ सय २७ जना नेपालीहरु काठमाडौं आइपुगेका हुन्।

उनीहरु काठमाडौं विमानस्थलमा ओर्लिन पाउँदा निक्कै खुशी देखिन्थे।'हामी त धेरै सुरक्षित ठाउँमा थियौं। दुतावासबाहिर काम गर्नेको अवस्था गाह्रो छ भन्ने सुनेका छौं। उनीहरुलाई तत्काल उद्धार गर्न सरकारले पहल गरोस्,' अफगानिस्तानबाट फर्किएका प्रकाश श्रेष्ठले सुनाए।

उनीहरु चार्टर गरिएको जजिरा एयरलाइन्सबाट नेपाल आएका हुन्। काबुल विमानस्थलबाट कतार र त्यहाँबाट कुबेत हुँदै उनीहरु दुई दिनपछि नेपाल आइपुगे। उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको क्वारेन्टाइनमा लगेको छ। त्यसपछि कोरोना परीक्षण गराएर उनीहरुलाई घर पठाइने नेपाली सेनाले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell