PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

लुम्बिनीका सांसद वली र शाहीलाई पदबाट हटाउन सभामुखलाई एमालेको पत्र



पूजा पन्थी

लुम्बिनीका सांसद वली र शाहीलाई पदबाट हटाउन सभामुखलाई एमालेको पत्र

बुटवल : प्रदेश सरकारका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई आज पत्र बुझाएको छ।

एमाले संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान विपरीत र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको जानकारी दिए ।

'उहाँहरुले पार्टीको नीति निर्देशन मान्नु भएन। पार्टीको ह्विप विपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गर्ने, तथा संसदीय दलको निर्देशन विपरीत नवगठित मन्त्रिपरिषदमा सहभागी भएकाले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौं,' ढकालले भने ।

अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने विमला खत्री वली एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन्।

शाहीले आफूलाई स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने विमला खत्री वली कहिले एमाले त कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आएकी छिन्। एमाले सांसदलाई मन्त्रीमा सपथ खुवाएको भन्दै एमालेले प्रदेश प्रमुख अमिक शेरचनको समेत आलोचना गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell