PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

अफगानिस्तान मामिलामा चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन संवाद



पहिलोपोस्ट

अफगानिस्तान मामिलामा चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन संवाद
फोटो: चीनको विदेश मन्त्रालय

अफगानिस्तानको पछिल्लो अवस्थाको विषयमा चीन र अमेरिकाबिच वार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनसँग टेलिफोन संवाद गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ।

संवादका क्रममा ब्लिकनले तालिवानको मामिलामा दोहा बैठकमा चीनको सहभागिताका लागि धन्यवाद दिएको छ। साथै अहिलेको अवस्था गम्भीर बनेको बताएको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। साथै उनले तालिवानले अतिवादलाई स्पष्ट रुपमा त्याग्नुपर्ने र समावेशी सरकार निर्माण गर्नुपर्ने बताएका छन्। यसका लागि चीनले सकरात्मक भूमिका खेल्ने अपेक्षा राखिएको छ।

यीले तालिवानलाई अफगानिस्तान छाड्न चाहनेहरुको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दै अफगानिस्तानको भविष्य अफगानी जनताको निर्णयमा हुनुपर्ने बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

चिनियाँ विदेशमन्त्री यीले फरक संस्कृति, इतिहास र राष्ट्रियता भएको देशमा प्रभाव जमाउन कठिन हुने कुरा अफगान मामिलाले पुष्टि गरेको भन्दै सत्ता त्यहाँका जनताको साथ बिना टिक्न नसक्ने बताएका थिए।

विदेशमन्त्री यीले अफगानिस्तान मामिलामा अमेरिकासँग निरन्तर सञ्चार संवाद गर्ने भन्दै यसले त्यहाँको सम्भावित नयाँ गृहयुद्ध र मानविय विपत् रोक्न सकिने बताएका थिए।

‘आफगानिस्तानलाई आफ्नो राष्ट्रिय अवस्था अनुरुपको खुला तथा सहभागितामुलक समावेशी राजनीतिक ढाँचामा अगाडि बढ्न चीनको सुझाव रहेको छ,’ यीले भनेका छन्, ‘अमेरिकाले अफगानिस्तानमा स्थायित्व र शान्तिपूर्ण पुनर्निर्माणमा सहयोग गर्नुपर्छ। अमेरिकाको हतारमा फिर्ताले अहिलेको अवस्था आएको हो।‘

साथै यीले इस्टर्न टर्किस इस्लामिक मुभमेन्टलाई आतंकारी संगठनको सूचीबाट हटाउने अमेरिकाको पछिल्लो निर्णय गलत भएको भन्दै प्रतिआतंकवादको विषयमा अमेरिकाले द्वदै चरित्र देखाएको आरोप लगाएका थिए। उनले आफगानिस्तान मामिलामा लिएको नीतिमा अमेरिकाले परिवर्तन गर्दै चीन र अमेरिकासँगै अन्तर्राष्ट्रिय साझेदारीमा जोड दिए।

जवाफमा ब्लिकनले प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा साझेदारी गर्दै अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि निरन्तर संवाद हुनुपर्ने बताएका थिए। ‘म सहमत छु की शान्तिपूर्ण सहअस्तित्व अमेरिका र चीनको साझा लक्ष्य हो। यसमा दुबै पक्ष साझेदारी गर्नुपर्छ,’ ब्लिकनको भनाइ उदृत गर्दै चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।   

यसैबिच अमेरिकी विदेशमन्त्री ब्लिकनले रसियाली विदेशमन्त्रीसँग समेत अफगान मामिलामा छलफल गरेका छन्। रसियाली विदेशमन्त्री  सेर्जेइ लाभ्रोभसँग भएको छलफलमा अफगानिस्तानको स्थायित्वको विषयमा छलफल भएको बताइएको छ। 

साथै अफगानिस्तान मामिलामा अमेरिका, रसिया, चीन, पाकिस्तान अन्य अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न दुबै पक्ष सहमत भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell