काठमाडौं : राजनीतिक दल सम्बन्धि अध्यादेशका लागि मन्त्रिपरिषद बैठकबाट सिफारिस गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति निवास पुगेका छन्। मन्त्रिपरिषद बैठक लगत्तै राष्ट्रपति निवास पुगेकाले धेरैमा आशंका रह्यो - आखिर किन उनी यति छिटो शितल निवास लागे त?
कुरो सामान्य रहेछ। प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहणमा सहभागी हुन शीतल निवास पुगेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
'प्रदेश २ को प्रमुखको शपथग्रहणको लागि जानुभएको हो,' प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने। मन्त्रिपरिषद बैठकको निर्णय लिएर आफैँ देउवा राष्ट्रपतिकहाँ त पुगेका होइनन्? सिंहदरबारभित्र देउवाको शैलीलाई आँकलन गर्दै अनुमान गर्नेहरु पनि थिए।
आज सपथ लिँदै गरेका हरिशंकर मिश्र को हुन् त?
वीपीका समकक्षी रामनारायण मिश्रका छोरा हरिशंकर प्रदेश २ का प्रमुख भएका छन्। ६ दशकदेखि उनी राजनीतिमा सक्रिय छन्। उनका बावु २०१६ सालमा वीपी कोइराला नेतृत्वको क्याबिनेटमा मन्त्री थिए।
