PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एथ्लेटिक्सको विकास गर्ने भन्दै आयो नयाँ संस्था, 'एथ्लेटिक्स संघसँग मिलेर जाने'



पहिलोपोस्ट

एथ्लेटिक्सको विकास गर्ने भन्दै आयो नयाँ संस्था, 'एथ्लेटिक्स संघसँग मिलेर जाने'

काठमाडौं: दुई हप्ता अघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको एथ्लेटिक्स परिवार नेपाल भन्ने संस्थाले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गर्दै अनुमानित ४५ लाखको लगानीमा चारवटा प्रतियोगिता गर्ने योजना सार्वजनिक गरिएको हो।

राजन खत्रीको अध्यक्षतामा रहेको उक्त संस्थाले मंसिर महिनामा युथ एथलेटिक्स, माघमा झिल्टुङ क्रसकन्ट्री, फागुनमा गोल्डन एथलेटिक्स मिट र साउनमा खुल्ला क्रसकन्ट्री दौड आयोजना गर्ने योजना अघि सारेको छ। परिवारमा वर्तमान नेपाल एथ्लेटिक्स संघको नेतृत्वसँग असन्तुष्ट पक्षहरुको बाहुल्यता देखिन्छ।

'यसमा एथलेटिक्स संघ, एथ्लेटिक्ससँग सम्बन्धित क्लब, संघसंस्था, खेलाडी सबै पर्छन्। संघबाट यस कार्यक्रममा सहभागिता गराउनका लागि म आफैले अध्यक्ष ज्यू लगायतलाई निम्ता दिएको थिएँ। तर उहाँहरु उपस्थित हुन सक्नु भएन,' परिवारका अध्यक्ष राजन खत्रीले भने, 'यसमा राजनीति भन्ने रहँदै रहँदैन। हामी सबै मिलेर नेपाली एथ्लेटिक्सको प्रोमोट गर्ने हो।'

बजेटबारे कुरा गर्दै खत्रीले प्रतियोगिता सञ्चालन गरेको लामो अनुभव भएकाले ४५ लाख या आवश्यक परे त्यो भन्दा पनि बढी रकम जुटाउन सक्ने अवस्था रहेको बताए।

अध्यक्ष खत्रीले आफ्नो संस्थाको लक्ष्य खेलाडी उत्पादन गर्ने र एथलेटिक्स संघलाई सहयोग गर्ने रहेको बताए।

'संघ र हामी प्रतिद्वन्दी त हुनै सक्दैनौ। हामी पनि एथ्लेटिक्सकै हौ। यहाँ ३० वर्षभन्दा कम एथलेटिक्समा लागेको त हामी पदाधिकारी नै छैनौँ। हामी पनि कोही भूतपूर्व हुनुहोला, कोही बहालवाला हुनुहोला। उहाँहरु सबै एथलेटिक्स परिवार नै हो' अध्यक्ष खत्रीले भने, 'हामीलाई एथ्लेटिक्स संघको विरोध गर्नु पनि छैन।'

यसमा एथलेटिक्स संघको राय बुझ्न अध्यक्ष राजीवविक्रम शाहसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell