PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

६ वर्षमा मकवानपुरका ८० प्रतिशत भूकम्प पीडितले बनाए घर



निशा गुरुङ

६ वर्षमा मकवानपुरका ८० प्रतिशत भूकम्प पीडितले बनाए घर
फाइल फोटो।

हेटौँडा : भूकम्प गएको ६ वर्ष बितिसक्दा मकवानपुरका भूकम्प पीडितहरुमध्ये करिब ८० प्रतिशतले निजी आवासीय भवन निर्माण गरिसकेका छन्। बाँकीले निर्माण गरिरहेका छन्।

अनुदान सम्झौता भएकाहरुमध्ये ९३ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन्। अनुदान सम्झौता गरेकामध्ये आइतवारसम्म मकवानपुरमा २६ हजार ८ सय ७७ जना अर्थात ८० दशमलव ५ प्रतिशत लाभग्राहीले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख विमल किशोर केपीले बताए।

उनका अनुसार मकवानपुरमा कुल लाभग्राही संख्या ३८ हजार ४ सय ५९ मध्ये ३५ हजार ७ सय ८७ लाभग्राहीले अनुदान सम्झौता गरे। तीमध्ये ३५ हजार ७ सय ७६ जना अर्थात ९८ प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेर पहिलो किस्ता लगेका थिए।

२ हजार ६ सय ७२  लाभग्राहीसँग अहिलेसम्म सम्झौता हुन सकेको छैन। उनीहरुको लाभग्राहीको सूचीबाट लगत कट्टा गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाइसकिएको छ।

प्राधिकरणले सम्झौता गर्न बाँकी रहेका लाभग्राहीहरुलाई अन्तिम पटकको निम्ति आगामी कात्तिक मसान्तसम्म सम्झौता गरेर घर बनाउन समयावधि तोकेको छ। दोस्रो किस्ता ३० हजार ९ सय ६६ जना अर्थात ७३ प्रतिशत लाभग्राहीले लगिसकेका छन्।

तेस्रो किस्ता २८ हजार ९ सय ७२ जना लाभग्राहीले बुझेर लगेका छन्। निजी आवास निर्माण गर्न लगेको रकमले घर पुनर्निर्माण नगरेमा उक्त रकम फिर्ता गर्नु पर्ने र फिर्ता नगरेमा कानुनी दायरामा ल्याएर असुल गर्ने पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

मकवानपुरमा अहिलेसम्म २४ जना लाभग्राहीले रकम फिर्ता गरेका छन्। लाभग्राहीले सम्झौता गर्ने, पहिलो र दोस्रो किस्ता बुझेर लैजाने समय गुज्रिसकेको थियो। पुनर्निर्माण प्राधिकरणले सम्झौता गरेर आवासीय भवन बनाउनका लागि आगामी कात्तिक मसान्तसम्म समय थप गरेको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन)का प्रमुख तुल्सीराम खर्वुजाले बताए।

यसैगरी, मकवानपुरमा प्रवलीकरणका लाभग्राही ९ हजार ५ सय ४१ जना रहेका छन्। तीमध्ये ७ हजार ४ सय ४ जना लाभग्राहीसँगमात्र अनुदान सम्झौता भएको छ। अनुदान सम्झौता भएकामध्ये ७ हजार ३ सय ९७ जना लाभग्राहीले प्रथम किस्ताको रकम लगेका छन्।

दोस्रो किस्ता एक सय ९५ लाभग्राहीले मात्र लगेका छन्। प्रवलीकरणका लाभग्राहीले २ किस्तामा एक लाख रुपैयाँमात्र पाउँछन्। घरको प्रवलीकरण गर्न उक्त रकम अपुग हुने भएकाले लाभग्राहीहरुले प्रवलीकरणको किस्ता बुझेर लैजान रुची नदेखाएको इन्जिनियर रविन पाठकले बताए। प्रवलीकरणबाट पुनर्निर्माणतर्फ ३ हजार ७ सय ५५ जना थपिएका छन भने पुनर्निर्माणबाट प्रवलीकरणतर्फ १९ जना परिवर्तित भएको उनले बताए।

जोखिमयुक्त बस्तिमा परेका २६ लाभग्राहीमध्ये २२ जना अन्यत्र जग्गा खरिद गरी स्थानान्तरण भएको र जिल्लामा जोखिम वर्गमा परेका लाभग्राही ६ सय २७ पहिचान भएको जनाइएको छ। साथै, साबिककै स्थानमा घर निर्माण गर्न स्वीकृत प्राप्त भूमिहीन लाभग्राही ५ हजार १ सय ८७ रहेकोमध्ये ६० जनाले मात्र अन्यत्र जग्गा खरिद गरेको जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिए।

पुनर्निर्माणका कार्यहरु सहज ढंगबाट सञ्चालन गर्न जिल्ला समन्वय समिति, मकवानपुरले उल्लेखनीय भूमिका खेलेको छ। साथै, भूमिहीन भूकम्प पीडितहरुलाई साबिककै स्थानमा आवास निर्माण गर्न र जोखिमयुक्त बस्तिबाट अन्य क्षेत्रमा आवास निर्माण गर्न पाउने निर्णय गराउन महत्वपूर्ण भूमिका रहेको छ।

हालसम्म निजी आवासतर्फ पुनर्निर्माण लाभग्राही ४८ हजार ९ रहेकोमा ४३ हजार १ सय ९९ जनासँग सम्झौता भइसकेको छ। जसमध्ये हालसम्म ४३ हजार १ सय ७३ जनाले पहिलो किस्ता, ३१ हजार १ सय ४६ जनाले दोस्रो किस्ता र २६ हजार ८ सय ७४ जनाले तेस्रो किस्ता लिइसकेका छन्।

त्यसैगरी, सार्वजनिक विद्यालयतर्फ हालसम्म ३ सय ७५ वटा विद्यालयको पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ। निजी आवास पुनर्निर्माणको कार्य सकेसम्म छिटो सम्पन्न गरी पुनर्निर्माण अभियानलाई बिराम दिनुपर्ने आवश्यकता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell