काठमाडौं : अमेरिका पठाइदिन्छु भन्दै नगद ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ताप्लेजुङ फुङ्लिङ नगरपालिका-९ घर भएका ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो।
पाँचथर तुम्बेवा गाउँपालिका - ५ हाङ्गुम बस्ने ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारी ठगी गरेको उजुरी परेको थियो। महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा झापा अर्जुनधारा नगरपालिका-५ शान्ति चोकबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्ध नगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ।