पोखरा : राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही वर्ष परीक्षण उडान गरिँदै छ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि एक वर्ष समयावधि थपिएको विमानस्थलमा संरचना निर्माण अन्तिम चरणमा पुगेको छ।
विमानस्थलले पूर्णता पाउने समयावधि नजिकिँदै गर्दा परीक्षण उडानको तयारी पनि थालिएको हो। विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अबको ८ महिनाभित्र विमानस्थलमा परीक्षण उडान हुनेछ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी सीएएमसीबीच सन् २०२१ जुलाईभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी २०१४ मा सम्झौता भएको थियो। २२ अर्ब रुपैयाँको लागतमा २०७४ असार मसान्तदेखि विमानस्थलको काम शुरु भएको थियो।
सम्झौताअनुसार ईपीसी (इन्जिनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकायो) मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण भइरहेको छ। निर्माणाधिन आयोजनाको धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन, ह्याङ्गर आदि गरी ८३ प्रतिशत काम सम्पन्न भइसकेको आयोजना प्रमुख मुनकर्मीले बताए।
मुनकर्मीका अनुसार विमानस्थलको संरचना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बाँकी रहेको १८ प्रतिशतमध्ये ८ प्रतिशत सिभिल र १० प्रतिशत सौन्दर्यकरणको काम बाँकी रहेको उनले बताए। यतिबेला विमानस्थल श्रृंगार गर्ने काम चलिरहेको छ।
रङरोगन, फिनिसिङ र गार्डेनिङको काम पनि भइरहेको छ। विमानस्थलमा जहाज उडान तथा अवतरणका लागि बाधक देखिएको रिठेपानी डाडाँ कटानको प्रक्रिया पनि शुरु भएको छ। समयावधि सकिएपछि कोरोनाको कारण देखाउँदै विमानस्थल आयोजनाले एक वर्षको म्याद पाएको छ।
यद्यपि, मुनकर्मी भने थपिएको एक वर्ष अवधि अगावै विमानस्थल निर्माण कार्यले पूर्णता पाउने बताउँछन्। २०७८ भित्र परीक्षण उडान गरेर अर्को वर्षदेखि कमर्सियल उडान सञ्चालन हुने मुनकर्मीको दाबी छ।
त्यस्तै, भैरहवा र पोखरा विमानस्थलको परीक्षण उडानसँगै गर्ने प्रक्रिया रहेको मुनकर्मीले जनाएका छन्। भैरहवामा हुने परीक्षण उडान थाईल्याण्डबाट गर्ने प्रक्रिया छ। पोखराको भने कहाँबाट उडान परीक्षण गर्ने टुंगो छैन। मुनकर्मीले भने थाईल्याण्डबाटै सम्पर्क गर्ने बताएका छन्।
‘पोखरा र भैरहवामा सँगै परीक्षण उडान गर्ने कुरा छ’, मुनकर्मीले भने, ‘पोखराको लागि पनि भैरहवामा जहाँबाट गरिन्छ उतै सम्पर्क गर्नेछौँ।’
प्याराग्लाइडिङ व्यवसायीलाई चिन्ता
पोखरा विमानस्थलको आयोजनाले पूर्णता पाउने समय नजिकिँदै गर्दा यता प्याराग्लाइडिङ क्षेत्र भने विस्थापित हुने डर देखिएको छ। पोखराको पर्यटन क्षेत्रमा टेवा पुर्याएको प्याराग्लाइडिङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्छ। उसो त यो विषय अहिलेमात्र उठेको भने होइन।
विमानस्थल निर्माण कार्य प्रारम्भ भएदेखि नै पोखरामा प्याराग्लाइडिङ व्यवसायको भविष्य अन्योलमा परेको थियो। यस व्यवसायको भविष्य छ कि छैन भनेर चर्चा भइरहन्थ्यो। विमानस्थलको कामले सम्पन्नता पाउन लागेपछि व्यवसायीलाई पनि चिन्ता बढ्न थालेको छ।
यसैबीच, केही समय अगाडि व्यवसायीहरु विमानस्थल अवलोकन गर्न पुगेका थिए। उनीहरु पोखरामा प्याराग्लाइडिङको भविष्य जोगाइ राख्न जुटेका छन्।
पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ। हाल प्याराग्लाइडिङ सञ्चालनमा आइरहेको सराङकोट, तोरीपानी क्षेत्र विमानस्थलको एयरस्पेसभन्दा बाहिर पर्छ। तर, विमानस्थल आयोजना प्रमुख मुनकर्मीले उक्त स्थान उडानका लागि सुरक्षाका हिसाबले उपयुक्त नहुने बताउँछन्।
‘यसमा विज्ञ त म हैन अध्ययन हुन्छ तर कुरा के हुन्छ भने कहिलेकाही जहाज ल्याण्ड गर्न नसकेको अवस्थामा सराङकोटतिर जान सक्छ आन्तरिक उडान त्यता पर्छ’, उनले भने, ‘विविध प्राविधिक कारणले म त्यहाँ मुश्किल नै देख्छु यसको लागि विज्ञबाट आधिकारिक अध्ययन र कुरा आउला।’
हवाई खेलकुद संस्था (ना)का अध्यक्ष कृष्ण भण्डारीले पोखराको साहसी खेलका रुपमा ब्रान्डिङ भएको प्याराग्लाइडिङलाई निरन्तरता दिनुपर्ने बताउँछन्। प्रविधि र व्यवस्थापनलाई मध्यनजर गरेर यसको भविष्य जोगाउनु पर्ने उनको भनाइ छ।
‘व्यवस्थापन गर्न सकियो भने उडान असम्भव छैन तर हामीले प्राविधिक व्यवस्थापनमा जोड दिनुपर्यो’, उनले भने, ‘पोखराको विमानस्थलले हवाई जामपनि त्यति नहोला, हवाई उडान नहुने तालिकामा प्याराग्लाइडिङलाई समय दिन सकिन्छ।’
नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित व्यक्तिले व्यवस्थापनमा जोड दिए पोखरामा प्याराग्लाइडिङको भविष्य रहिरहनेमा उनी विश्वस्त छन्। विमानस्थल नाले ‘अपरेशन प्रोस्युडियर डिजाइन’मा प्याराग्लाइडिङलाई यथास्थानबाट सञ्चालन गर्न सक्ने गरी योजना बनाउन व्यवस्थापन समक्ष माग राखेको छ।
प्याराग्लाइडिङलाई निरन्तरता दिन समस्या रहेपनि नीति नियम बनाएर व्यवस्थापनमा कडाइ गरे यसको भविष्यलाई निरन्तरता दिनुपर्ने व्यवसायहरुको माग छ।
यसअघि प्याराग्लाइडिङको भविष्यको अन्योलता तोड्न २०७६ साल भदौ १६ गते नागरिक उड्डयन मन्त्रालयको निर्णयमा प्याराग्लाइडिङ सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झाको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएको थियो।
उक्त कार्यदलले प्याराग्लाइडिङबारे बुझाएको प्रतिवेदनमा दुई विकल्प उल्लेख गरिएको थियो। पहिलो विकल्पमा साबिकको क्षेत्रबाट सञ्चालन कार्यलाई निरन्तरता दिनका लागि केही सर्त अघि सारेको छ।
जसमा कार्यदलले आधुनिक प्रविधिको प्रयोग गर्दै अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ अपरेशन गरिरहेका स्वीजरल्यान्ड, इटाली, फ्रान्स लगायतका देशले अवलम्बन गरेका नमूनास्वरुप गर्न सकिने विकल्प दिएको थियो।
त्यस्तै, अध्ययन कार्यदलले प्याराग्लाइडिङका लागि दुई घण्टा समय तोक्ने विकल्प दिएको थियो। प्रतिवेदनमा ‘प्याराग्लाइडिङ जोन’को अधिकतम उचाइलाई कडाइका साथ पालन गर्ने एटीसी टावरमा अत्याधुनिक प्रविधिबाट निगरानी गर्ने र कन्ट्रोल गर्न सकिने उल्लेख गरिएको छ।
यस्तै, कार्यदलले देखाएको दोस्रो विकल्पका रुपमा साबिक क्षेत्र छोडेर अन्य क्षेत्रबाट प्याराग्लाइडिङलाई सञ्चालन गर्न सक्ने उल्लेख गरिएको छ। पोखरा आसपासका क्षेत्रहरु जस्तै पञ्चासे, माछापुच्छ्रे गाउँपालिका लगायतका क्षेत्रहरुबाट सञ्चालन गर्न सकिने बताइएको छ।
करिब एक अर्बको लगानी रहेको यस क्षेत्रमा ७० प्याराग्लाइडिङ कम्पनी छन् भने तीन सय ४२ जना नेपाली प्यारापाइलटले व्यावसायिक उडान भरिरहेका छन्। विदेशी प्यारापाइलट करिब १५ जना रहेका नाले जनाएको छ।
साथै, प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीनवटा छ। यसबाहेका पोखरामा अल्ट्रालाइट र हटएयर बेलुन कम्पनी समेत सञ्चालनमा छन्। पोखरामा अल्ट्रालाइट कम्पनी चार र हटएयर बेलुन कम्पनी एकवटा छन्।