राज्य संयन्त्रलाई नियन्त्रणमा लिएको दुई दिनपछि तालिवानले अफगानिस्तानको राजधानी काबुलमा पत्रकार सम्मेलन गरेको छ। पहिलो पत्रकार सम्म्लेनमा सम्बोधन गर्दै प्रवक्ता जबुहुल्ला मुजाहिदले स्वतन्त्रता प्रत्येक राष्ट्रको अधिकार भएको भन्दै २० वर्षको दमनपछि आफूहरुले जितेको बताएका छन्। अफगानीहरु स्वतन्त्र भएको भन्दै उनले बधाई व्यक्त गरेका छन्।
तालिवानले काबुल कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उपराष्ट्रपति अम्रुल्लाह सालेहले पनि देश छाडेको भनिएकोमा उनले आफू देशभित्रै रहेको र अहिले कार्यवाहक राष्ट्रपतिका रुपमा नेताहरुसँग छलफलमा रहेको बताएका छन्।
पत्रकार सम्मेलनमा तालिवानले आक्रमणका लागि अफगानिस्तानको भूमि कसैलाई प्रयोग गर्न नदिने जनाएको छ।
‘म अमेरिकाका साथै सबै अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त बनाउनु चाहन्छु, यहाँ सबैजना सुरक्षित हुनेछन्। कोहीमाथि आक्रमण हुँदैन’ मुजाहिदले भने।
उनले आफ्नो भूमि कुनै पनि राष्ट्रलाई अरु राष्ट्रविरुद्ध प्रयोग गर्न नदिइने समेत बताए।
छिट्टै तालिवानले सरकार गठन गर्ने घोषणा समेत उनले गरे। सबै सीमा क्षेत्र आफूहरुको नियन्त्रणमा रहेको दाबी गर्दै उनले सरकार गठनका लागि आफूहरु छलफलमा रहेको बताएका हुन्। सरकार गठनपछि मात्रै देशमा कस्तो कानुन लागू हुन्छ भन्ने स्पष्ट हुने उनले बताए।
मुजाहिदले आफूहरुले कोही पनि देश छाडेर जाओस् भन्ने नचाहेको बताए। साथै देशभर सुरक्षा बढाइएको दाबी समेत गरे। कसैलाई पनि घरघरमा गएर प्रश्न सोध्ने धम्काउने काम नहुने उनले स्पष्ट गरे। मुजाहिदले आफूहरुले कसैसँग बदला नलिने भन्दै सबैलाई आममाफी दिइसकेको बताए।
‘हामीलाई देशभित्र वा देशबाहिर शत्रु चाहिएको छैन’ मुजाहिदले भने।
तालिवानले फेरि अफगानिस्तानको सत्ता सञ्चालन गर्ने भएपछि महिला अधिकार हनन् हुनेबारे धेरै चर्चा भइरहेको छ। तर उनले सबैले अधिकार पाउने बताएको छ। मुजाहिदले इस्लामिक कानुन अन्तर्गत महिलले आफ्नो अधिकार प्रयोग गर्न पाउने बताएका छन्।
‘समाजमा महिलाहरु सक्रिय हुनेछन्। जागिर, स्वास्थ्य क्षेत्र या अन्य क्षेत्रमा उनीहरु काम गर्न स्वतन्त्र छन्। उनीहरु समाजका अंग हुन्। उनीहरु माथि भेदभाव हुने छैन। इस्लामिक कानुन अन्तर्गत उनीहरुले अधिकार प्रयोग गर्न सक्छन्’ उनले भने।
उनले निजी मिडिया ‘स्वतन्त्र’ हुनु पर्नेमा जोड दिँदै समाचार दिँदा राष्ट्रिय हित प्रतिकूल हुनु नहुने बताए।
अमेरिकालगायत अन्य पश्चिमा देशले आफ्ना सैनिकहरु फिर्ता लगेपछि २० वर्षपछि तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेको हो।
