रन वेमा अगाडि बढिरहेको अमेरिकी सैनिक विमानमा झुन्मिरहेका मानिसको डरलाग्दो तस्बिर सार्वजनिक भएको भोलिपल्ट विमानको पाङ्ग्रामा मानव अंग भेटिएको अमेरिकी एयर फोर्सले जनाएको छ। अफगानिस्तानबाट बाहिरिन चाहनेहरुको भिडकै बिचमा विमान उडेको थियो भने उडिरहेको विमानबाट मानिसहरु झरेको भयपूर्ण भिडियो सार्वजनिक भएको थियो। विमान ल्यान्ड भइसकेपछि हेर्दा त्यसमा मानिसको अवशेष देखिएको हो।
भिडियोहरुमा देखिएको दृश्य अनुसार मानिसहरु विमानसँगै रनवेमा दौडिरहेका थिए। कतिपय त्यसमै झुन्डिन खोजिरहेका थिए। विमान उडेको केही बेरमा माथिबाट मानिसहरु खसेका दृश्य सबैभन्दा अत्याउनेखालको थियो। युएस एयर फोर्स सी - १७ विमान काबुल विमानस्थलबाट उडेको थियो जुन कतारमा पुगेर अवतरण भयो। कतारमा नै विमानको पाङ्ग्रामा मानव अंग फेला परेको हो। तालिवानीले सत्ता नियन्त्रणमा लिएपछि मानिसहरु ज्यान फ्यालेर भए पनि विमानका पाङ्ग्रा र पखेटामा झुन्डिएका थिए।
युएस एयर फोरु्सले मानव अंश फेला परेको विषयलाई लिएर अनुसन्धान अगाडि बढाएको जानकाएको छ। गत सोमवार त्रासदिपूर्ण अवस्थामा भएको त्यस उडानबारे पनि अनुसन्धान गरिने जनाइएको छ।
एयर फोर्सले जारी गरेको वक्तव्यमा सी - १७ एयरक्राफ्ट काबुल विमानस्थलमा सोमवार उत्रिनासाथ सयौं अफगानी नागरिकहरुले घेरेको उल्लेख छ। अफगानिस्तानको राजधानी तालिवानीले नियन्त्रणमा लिएसँगै विमानस्थलमा अनियन्त्रित रुपमा भिड बढेको थियो।
'बढ्दो असुरक्षाको अवस्था र विमान वरपरको स्थितिलाई ख्याल गर्दै सी - १७ का क्रुहरुले जतिसक्दो छिटो त्यहाँबाट उड्ने निर्णय गरेका हुन्,' वक्तव्यमा भनिएको छ। विमानका कारण ज्यान गुमाएका सर्वसाधारणको विषयमा अनुसन्धान हुने जनाइएको छ। सोसल मिडियामा सार्वजनिक भएका भिडियो र मिडियामा आएका सामग्रीका आधारमा अनुसन्धान अगाडि बढाइने भएको हो।
