मेलम्ची : अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ। मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए।
उनले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए। थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ।
यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ।
गत असार १ र साउन १६ पछि निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ जना घाइते र २० जना बेपत्ता छन्। मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन्।