PahiloPost

Jul 3, 2024 | २० असार २०८१

मनोज पण्डितको 'एक' डिजिटल रिलिज हुने, 'कसैले त रिक्स लिएर सुरुवात गर्नुपर्‍यो नि'



पहिलोपोस्ट

मनोज पण्डितको 'एक' डिजिटल रिलिज हुने, 'कसैले त रिक्स लिएर सुरुवात गर्नुपर्‍यो नि'

काठमाडौं : निर्देशक मनोज पण्डितको फिल्म 'एक' डिजिटल प्याल्टफर्ममा रिलिज हुने भएको छ। पण्डित निर्देशित राजनीतिक ड्रामा फिल्म ‘एक’ को मंगलवार 'मोसन पोस्टर' सार्वजनिक भएको थियो। दशैंको घटस्थापना (असोज २१ गते) ओटीटी प्याल्टफर्मममा फिल्म रिलिज हुने पण्डितले जानकारी दिए।

कोरोना महामारीले नेपाली फिल्म क्षेत्र नराम्ररी थला परेको अवस्थामा 'रिक्स' लिएर फिल्म रिलिज गर्न लागेको उनले बताए। विदेशमा डिजिटल प्याल्टफर्मलाई विकल्पको रुपमा लिइरहेको बेला आफूले पनि ओटीटीलाई विकल्पको रुपमा लिएको उनी बताउँछन्।

भने, 'नेपालमा डिजिटल प्याल्टफर्म व्यवस्थित हुन सकेको छैन। तर कसै न कसैले रिक्स लिएर सुरुवात त गर्नुपर्‍यो नि। जसकारण पनि मैले डिजिटल प्याल्टफर्ममै फिल्म रिलिज गर्ने निर्णय गरेको हुँ।'

नेपालमा अहिले पनि फिल्म हलका लागि मात्र बनाइन्छ भन्ने मनोविज्ञान हाबी रहेको उनको तर्क छ।

भन्छन्, 'नेपालमा सबै फिल्ममेकर हल केन्द्रित छन्। सिनेमा भनेको ठुलो पर्दाको प्रस्तुतीकरण मात्र हो ठान्छन्। तर सिनेमा भनेको कथा पस्कने माध्यम हो। प्रदर्शनको माध्यम जुनसुकै भएपनि स्टोरी टेलिङ ठुलो कुरा हो। सिनेमा भनेको पर्दामा देखिने मात्र नभएर पर्दा पछाडिको मनोविज्ञान पनि हो। माध्यम जुनसुकै भएपनि मनोविज्ञान बलियो र सिनेमामुखी हुनुपर्छ भन्ने मेरो मान्यता छ।'

नेपालमा सिनेमालाई मनोरञ्जन दिने माध्यमको रुपमा मात्र लिने गरिएको र त्यसकारण पनि सिनेमामा गम्भीर र राजनीतिक विषयवस्तु उठाउनुहुन्न भन्ने मान्यता हाबी भएको उनको तर्क छ। समाजमा राजनीतिक कारणले नै समस्या हुने हुँदा सम्पुर्ण नेपालीहरुले देशको राजनीतिको विषयमा सचेत र संवेदनशिल हुनुपर्ने बताउँछन् पण्डित।

फिल्म 'एक' को मुख्य भूमिकामा विशाल पोखरेल छन्। जसमा उनले एक गुप्तचरको भूमिका निभाएका छन्। साथै फिल्ममा प्रमोद अग्रहरी, मनोज अधिकारी, ज्योत्सना योगी लगायतका कलाकरहरुको भुमिका रहेको छ।

पण्डित भन्छन् ‘राजनीतिमार्फत देश विरुद्ध लाग्नेहरु विरुद्ध उनले गरेको संघर्षको कथा हो 'एक'। साथै फिल्मले नेपालको सुरक्षा खतरा छ भन्ने समेत देखाउन खोजेको छ।'

कोरोनाले ल्याएको कठिन अवस्थामा नेपाली सिनेमा जगतले कोरोनासँग जुध्ने प्रयास नै नगरेको उनको गुनासो छ।

'कोरोना महामारीबिच पनि संसार निकै अघि बढिसकेको छ। तर नेपाल कति पछाडि छ भन्ने निकै चिन्ताको विषय हो। हामी धेरै कुरामा पछाडि परेका परेका छौँ। तर यो महामारीमा केही गर्न सकेको भए हामी निकै अगाडि बढिसकेको हुन्थ्यौँ। कठिन परिस्थितिमा अवसर खोज्न नसक्नु हाम्रो ठुलो कमजोरी हो।' उनले सुनाए।

राजनीतिक एवं सामाजिक मुद्धालाई फिल्मका विषयबस्तु बनाउने निर्देशक पण्डितले यसअघि ग्रेटर नेपाल, खाग, दासढुंगा, वधशाला जस्ता फिल्महरु बनाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell