PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

तालिवानको आगमनपछि अफगानिस्तानमा के होला क्रिकेटको भविष्य ? राशिद खानका लागि भिड्दै भारतीय र पाकिस्तानी



पहिलोपोस्ट

तालिवानको आगमनपछि अफगानिस्तानमा के होला क्रिकेटको भविष्य ? राशिद खानका लागि भिड्दै भारतीय र पाकिस्तानी
File Photo: ICC

अफगानिस्तानमा तालिवान फर्किएसँगै त्यहाँ क्रिकेटको भविष्यलाई लिएर खेल क्षेत्रमा चासो उत्पन्न हुन थालेको छ। तालिवान सत्तामा फर्किएसँगै क्रिकेटलगायतका खेलकुदमाथि प्रतिबन्ध लाग्न सक्ने भन्दै चिन्ता देखिएको हो।

तालिवानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गर्दा खेलकुद क्षेत्रलाई सकारात्मक रुपमा लिइएको थिएन। यसपटक पनि खेलकुद क्षेत्र र खासगरी महिला खेलाडीहरु निशानामा पर्ने भय उत्पन्न भएको छ।

यद्यपि, अफगानिस्तान क्रिकेट बोर्डका सिईओ हमिद शिनवारीले तालिवानले क्रिकेटलाई समर्थन गर्ने दाबी गरेका छन्। उनले भारतीय समाचार संस्था पीटीआईसँग कुरा गर्दै तालिवानले सत्ता लिएको सन्दर्भमा खेलाडी र उनीहरुको परिवार सुरक्षित रहेको दाबी गरेका छन्।

'तालिवानले क्रिकेटलाई माया गर्छन्। उनीहरुले हामीलाई सुरुबाटै समर्थन गर्दै आएका छन्। उनीहरुले हाम्रो क्रियाकलापमा हस्तक्षेप गर्ने छैनन्' उनले भनेका छन्।

अफगानिस्तानी स्टार क्रिकेटर राशिद खान, मोहम्मद नाबी र मुजिब जर्डन हाल बेलायतमा 'द हण्ड्रेड लिग' खेलिरहेका छ्न्।

राज्यसत्ताबाट तालिवानको बहिर्गमनसँगै अफगानिस्तानले क्रिकेटमा विकास गर्दै अहिले टेस्ट राष्ट्रका रुपमा स्थापित भइसकेको छ।

'चारदेखि पाँच खेलाडी ओभरसिज खेलिरहेका छन्। र, बाँकी खेलाडी सबै काबुलमै छन्। मैले अघि भनेजस्तै उनीहरु सुरक्षित छन्' उनले भने।

अर्कोतर्फ अफगानिस्तान र पाकिस्तानबिच सेप्टेम्बरमा श्रीलंकामा ओडीआई सिरिज हुँदैछ।

राशिदले पछिल्लो ट्वीटमा लेखेका छन् : शान्ति।

उनी पछिल्लो समय अफगानिस्तानको अवस्थालाई लिएर चिन्तित रहेको बताउँछन् उनीसँगै द हण्ड्रेड खेलिरहेका इङ्ग्ल्याण्डका खेलाडी केभिन पिटरसन्। उनले यसविषयमा चर्चा भएको र खान अफगानिस्तानको अवस्था र खासगरी परिवारको अवस्थालाई लिएर चिन्तित भएको बताए।

त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पनि अफगानिस्तानको क्रिकेटको अवस्थालाई लिएर अफगानी क्रिकेट बोर्डसँग समन्वय गरिरहेको र पछिल्लो सन्दर्भलाई नजिकबाट नियालीरहेको जनाएको छ।

अफगानी क्रिकेटरका बारे भारतीय र पाकिस्तान समर्थकको तानातान

राशिद खान लगायतका स्टार क्रिकेटरको सामाजिक सञ्जालमा अहिले भारतीय र पाकिस्तानी क्रिकेट समर्थकहरु भिडिरहेका छन्। समर्थकहरुदेखि खेल विष्लेशकहरुसम्मले अफगानी खेलाडीलाई आफ्नो देश आएर खेल्न सुझाव दिइरहेका छन्।

क्रिकेट विश्लेषक प्रयाग तिवारी लेख्छन्: राशिद, भारत आउ। अझ समर्थकहरुको त कुरै बेग्लैछ।

त्यसमा पाकिस्तानी क्रिकेट समर्थकहरु पनि कम छैनन्। तालिवानले क्रिकेट प्रतिबन्ध लगाए आफ्नो देशमा आएर खेल्न सुझाव दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell